close

फोनकल मार्फत विश्वभर फिशिङ आक्रमण, कतै तपाईं ठगिनुभयो कि ?

टेकपाना टेकपाना

भदौ १, २०७९ ८:१९

फोनकल मार्फत विश्वभर फिशिङ आक्रमण, कतै तपाईं ठगिनुभयो कि ?

काठमाडौं । पछिल्लो समयमा विभिन्न प्रकारका साइबर आक्रमण भइरहेका छन् । तीमध्ये अहिले फोनकल फिशिङ विश्वभर फैलिएकाे छ ।

जर्जिया, काजिकिस्तान, फ्रान्स लगायतका विदेशी नम्बरबाट मिस्डकल आएको धेरैले अनुभव गर्नुभएकाे हाेला । यस्तो फिशिङमा फोनभन्दा पनि मिस्डकल नै आउने गर्छ र मिस्डकल फर्काउने क्रममा फोनको ब्यालेन्स काटिने लगायतका समस्याहरू हुने गर्छ ।

मेसेजमार्फत पैसा माग्ने, लिंक पठाएर अरूको फेसबुक अकाउन्टमा आफ्नो पहुँच बनाउने सँगै हाल निकै नै चर्चामा आएको फिशिङ फोनकल फिशिङ नै हो ।

एक अध्ययनअनुसार गत वर्षको तुलनामा यो वर्ष फोनकलबाट हुने फिशिङको संख्या ६२५ प्रतिशतले बढेको छ ।

अमेरिकाको एगरी (Agari) नामक एक साइबर सुरक्षा कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२२ को पहिलो छ महिनामा फोनकलबाट हुने फिशिङको संख्या सन् २०२१ को सोही समयको तुलनामा ६२५ प्रतिशतले बढेको छ ।

फोनकलबाट हुने फिशिङलाई भिशिङ अर्थात् भ्वाइस फिशिङ अथवा कलब्याक फिशिङ पनि भनिन्छ । यसमा प्रयोगकर्तालाई फोनमा मिस्डकल आउने अथवा कुनै ईमेल मार्फत फोन गर्न भनेर अनुरोध गरिने गरिन्छ ।

फिशिङ गर्ने व्यक्तिले भने यसको फाइदा लिँदै प्रयोगकर्ताको व्यक्तिगत विवरणहरू लिने काम गर्छन् । यस्तो प्रकारको फिशिङ सबैभन्दा सुरुमा सन् २०२१ को मार्च महिनामा ‘बजारकल’ नामक मालवेयर अभियानबाट सुरु भएको रिपोर्टमा उल्लेख छ । 

जाेखिम के के हुनसक्छ ?

के साँच्चै त्यस्ता नम्बरबाट आएको कल उठाउँदा डर हुन्छ त ? फोन ह्याक हुने वा अन्य जोखिम हुन्छ त ? कसरी हाम्रो फोन नम्बरमा कल आइरहेको छ ? कतै हाम्रो फोन नम्बर लिक भइरहेको त छैन ? यस्ता प्रश्न उठ्नु स्वाभाविक पनि हो ।

वास्तवमा कल उठाउँदा फोन र अकाउन्ट ह्याक हुने वा अन्य डर हुनसक्ने कुरा भ्रममात्रै भएको साइबर सुरक्षा जानकार नरेश लाम्गादे बताउँछन् ।

‘फोनमा आएको कल उठाउँदा फोन ह्याक वा डेटा चोरी हुनु असम्भव जस्तै हो । फोन उठाउँदैमा डेटा चोरी हुँदैन । बरू उनीहरूले भनेको निर्देशन मान्न थालियो भने ह्याक हुनसक्ने सम्भावना धेरै हुन्छ ।’

यदि उनीहरूले दिएको निर्देशन मान्न थालियाे भने चाहिँ फोन ह्याकसम्म हुनसक्ने उनको भनाइ छ ।

‘उनीहरूले विभिन्न प्रलोभन देखाएर आफ्नो एप वा वेबसाइटमा लगइन गर्न आग्रह गर्छन् । उनीहरूको आग्रह मान्न थाल्यो भने चाहिँ तपाईंको डेटा चोरी हुनसक्छ,’ लाम्गादेले भने, ‘उनीहरूले आफ्नो विज्ञापनका लागि अथवा प्रयोगकर्तालाई आफ्नो वेबसाइटमा लगी डेटा चोर्ने उद्देश्यले र्‍यान्डम नम्बरमा कल गर्ने गर्छन् ।’

फोनको ब्यालेन्स सक्काउने उद्देश्यले पनि त्यस्ता कल आउने उनी बताउँछन् ।

‘उनीहरूले तपाईंलाई लगातार कल/मिस्डकल गरी महत्त्वपूर्ण फोन हो भन्ने भ्रम पार्नसक्छन् । उदाहरणका लागि दुई वा तीनपटक कल गरेर पछि मेसेजमा फोन गर्न आग्रह गर्छन् । त्यसपछि उनीहरूलाई विश्वास गरेर कल गर्नुभयो भने तपाईंको सिममा भएको ब्यालेन्स सकिन्छ,’ उनले भने ।

कतिपय घटनामा यस्ता नम्बरबाट कल गरेर चिट्ठा परेको भन्ने झुटो खबर दिइन्छ । यदि विश्वास मानेर उनीहरूको निर्देशन मान्न थालियो भने स्क्याममा पर्ने जोखिम रहन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३