close

भिडिओ कलका लागि गुगल मिट वा स्काइप, कुन उपयुक्त ?

टेकपाना टेकपाना

भदौ ७, २०७९ १३:५

भिडिओ कलका लागि गुगल मिट वा स्काइप, कुन उपयुक्त ?

काठमाडौं । अहिले भिडिओ कलको प्रचलन बढिरहेको छ । व्यक्तिगत सञ्चारदेखि कार्यालय, शिक्षण संस्थाका काममा यसकाे प्रयाेग सामान्य भइसकेकाे छ ।

व्यक्तिगत प्रयाेजनका लागि फेसबुक मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमाे लगायतका प्लेटफर्मकाे प्रयाेग बढी हुने गरेकाे छ । व्यावसायिक प्रयाेजनमा भने केही स्तरीय एप र वेबसाइट उपलब्ध छन् ।

यसै सन्दर्भमा आज हामी भिडिओ कलका लागि गुगल मिट वा स्काइप, कुन उपयुक्त भन्ने विषयमा चर्चा गर्दै छौँ  ।

प्रयोग गर्न कुन सहज ?

प्रयोगको आधारमा गुगल मिट र स्काइप दुवै सहज छन् । तपाईँले पाएको लिङ्कमा क्लिक गरेपछि दुवैमा सजिलै भिडिओ कलमा सहभागी हुन सकिन्छ ।

प्रयोग गर्न सहज हुने कुरालाई आधार मान्ने हो भने केही कुरामा गुगल मिट अघि छ । कुनै पनि कलमा जाेडिन गुगल मिटमा अकाउन्ट बनाउन पर्दैन ।

यसर्थ गुगल मिटमा अकाउन्ट नभए पनि अरूको भिडिओ कलमा सहभागी हुन सकिन्छ । आफैँले मिटिङ गर्नु परेको खण्डमा भने गुगल मिटमा अकाउन्ट आवश्यक हुन्छ ।

तर, स्काइपमा होस्टबाट प्राप्त लिङ्कमा क्लिक गरी मिटिङमा सहभागी हुनका पनि अकाउन्ट आवश्यक पर्छ ।

विशेषता

स्काइपको फ्री भर्सन (निःशुल्क उपलब्ध हुने फिचर) मार्फत कुनै पनि भिडिओ कलमा लगातार २४ घण्टासम्म रहन सकिन्छ । तर गुगल मिटको फ्री भर्सनमा यो सेवा उपलब्ध छैन ।

फ्री भर्सनमा एक पटकमा ६० मिनेट र प्रिमियम भर्सनमा २४ घण्टा भिडिओ कल सुविधा गुगल मिटमा उपलब्ध रहेको छ ।

एक घण्टाभन्दा कम समयका लागि कुनै पनि मिटिङ गर्नुपर्‍यो भने गुगल मिटको फ्री भर्सन प्रयोग गर्दा उपयुक्त नै हुन्छ । तर, लामो समयका लागि हो भने स्काइप उपयुक्त हुन्छ ।

अधिकतम सहभागी सङ्ख्या

स्काइपमा एउटा मिटिङका लागि एक पटकमा १०० जना सहभागी हुन सकिन्छ । यदि तपाईं कुनै मिटिङ आयोजना गर्दै हुनुहुन्छ भने तपाईंले थप ९९ जनालाई आमन्त्रण गर्न सक्नुहुन्छ ।

गुगल मिटमा पनि स्काइपमा जस्तै एक पटकमा सय जना सहभागी हुन सकिन्छ । तर, यसको प्रिमियम भर्सन प्रयोग गर्दा तपाईंले थप मानिसहरूलाई सहभागी गराउन सक्नुहुन्छ । 

यदि मिटिङमा एकै पटकमा सयभन्दा बढी सहभागी गराउनु पर्नेछ भने गुगल मिट उपयुक्त हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय मिटिङका लागि कुन सहज ?

गुगल मिटका माध्यमबाट विश्वभर जोसँग पनि फ्री भिडिओ कल गर्न सकिन्छ ।

यदि तपाईंले अन्तर्राष्ट्रिय नम्बरमा कल गर्नुपर्‍यो भने गुगल वर्कस्पेसबाट विभिन्न प्लान खरिद गरि फोन गर्न सक्नहुन्छ । त्यसका लागि गुगल मिट ग्लोबल डायलिङ सेवा खरिद गर्न सकिन्छ ।

त्यस्तै स्काइपबाट पनि विश्वभर निःशुल्क विभिन्न कलमा सहभागी हुन सकिन्छ । इन्टरनेटबाट यसरी अन्तर्राष्ट्रिय कल गर्नका लागि स्काइपलाई उत्कृष्ठ एप मानिन्छ ।

त्यस्तै भ्वाइस मेल, एसएमएस वा फोन कलका लागि भने स्काइपमा केही शुल्क तिर्नुपर्ने हुन्छ ।

भिज्युअल इफेक्ट

गुगल मिटमा केही फिल्टर तथा भिडिओ इफेक्टहरू पहिले नै उपलब्ध छन् । मिटिङमा सहभागी हुनुअघि क्यामेरा र माइक्रोफोनको अप्सनपछि त्यहाँ भिज्युअल इफेक्टको विकल्प पनि रहेको हुन्छ ।

त्यसमा क्लिक गरेर आफूलाई उपयुक्त हुने इफेक्ट प्रयोग गर्न सकिन्छ ।

त्यस्तै स्काइपमा पनि ब्याकग्राउण्ड परीवर्तन गर्ने, विभिन्न फिल्टर प्रयोग गर्ने विकल्प रहेका छन् । त्यस्तै स्काइपमा एउटा ‘टुगेदर मोड’ रहेको छ, जसले गर्दा दुई फरक सहभागी एउटै ब्याकग्राउन्डमा रहेर मिटिङ गर्न सक्छन् ।

यसैगरी स्काइपबाट मिटिङ गरिरहँदा एक अर्कासँग अन्तर्क्रिया गर्ने थुप्रै विकल्प छन् । मिटिङमा इमोजी पठाउन सकिन्छ ।

कुन-कुन डिभाइसमा उपयुक्त हुन्छन् ?

गुगल मिट तल उल्लेखितअपरेटिङ सिस्टमका लागि उपयुक्त हुन्छ ।

  • एप्पलको म्याकओएस, माइक्रोसफ्ट विन्डोज, क्रोम ओएस, उबुन्टु र अन्य लिनक्स अपरेटिङ डिभाइस
  • एन्ड्रोइड भर्सन ५.० भन्दा माथिका डिभाइस र आईओएस १३ भर्सन माथिका डिभाइस
  • विभिन्न वेब ब्राउजर जस्तै; क्रोम, फायरफक्स, एज र सफारी

स्काइप तल उल्लेखित अपरेटिङ सिस्टम र डिभाइसमा उपयुक्त हुन्छ ।

  • विन्डोज ७ र त्यसभन्दा माथिका अपरेटिङ सिस्टम
  • म्याक ओएस १०.११ र त्यसभन्दा माथिका डिभाइस
  • एन्ड्रोइड ओइस भर्सन ४.०४ ४ त्यसभन्दा माथिका स्मार्टफोन तथा ट्याबलेट
  • आईओएस १२.२ भन्दा माथिका एप्पल डिभाइस
  • क्रोम ओएस भर्सन एम५३ र त्यसभन्दा माथिका अपरेटिङ सिस्टम
  • विभिन्न ब्राउजर जस्तै; एज, क्रोम, सफारी र फायरफक्स

त्यसो भए कुन उपयुक्त त ?

स्काइपको प्रिमियम भर्जन प्रयोग गरेर भ्वाइस मेल, एसएमएस टेक्स्ट पठाउन वा ल्यान्डलाइनमा कल गर्न सकिन्छ ।

त्यस्तै गुगल मिटको प्रिमियम भर्सनमा २४ घण्टासम्म मिटिङमा सहभागी गर्न, सय जनाभन्दा बढी सहभागी हुन सकिने जस्ता विविध फिचर छन् ।

त्यो हुँदा तपाईंको आवश्यकता र डिभाइस मागअनुसार यी दुईमध्ये जुन उपयुक्त हुन्छ त्यही एप्लिकेसन प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४