close

कम्प्युटरमा स्क्रिन रेकर्ड गर्नुपर्‍यो ? यसाे गर्नुहाेस्

टेकपाना टेकपाना

भदौ २०, २०७९ १६:४०

कम्प्युटरमा स्क्रिन रेकर्ड गर्नुपर्‍यो ? यसाे गर्नुहाेस्

काठमाडौं । आफूले कम्प्युटरमा गरेको काम पछिसम्मका लागि रेकर्ड गरेर राख्न वा कसैसँग भएको कुराकानी रेकर्ड गर्नका लागि स्क्रिन रेकर्डरले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

कम्प्युटरमा गरेको स्क्रिन रेकर्डिङ कुनै विषयसँग सम्बन्धित भिडिओ बनाउन वा कसैलाई कुनै कुराको प्रक्रियागत ज्ञान दिनका लागि उपयुक्त हुन्छ । त्यसबाहेक पनि स्क्रिन रेकर्डिङको फरक-फरक क्षेत्रमा भिन्नाभिन्नै महत्त्व छ ।

अहिलेका स्मार्टफोनमा स्क्रिन रेकर्डर ईन-बिल्ट रूपमा अर्थात् पहिले नै उपलब्ध हुन्छ, जसले गर्दा हामी फोनमा सजिलै आफूले चाहेको कुरा स्क्रिन रेकर्डरमार्फत रेकर्ड गर्न सक्छौँ ।

यदि तपाईँको फोनमा स्क्रिन रेकर्डरको विकल्प छैन भने थर्ड पार्टी एप्लिकेसनको प्रयोग गर्न सक्नुहुन्छ ।

त्यस्तै विन्डोजमा पनि पहिले नै ईन -बिल्ट रूपमा स्क्रिन रेकर्डरको विकल्प रहेको हुन्छ ।

आज हामी कम्प्युटरमा कुन-कुन प्रक्रियाबाट कम्प्युटरमा स्क्रिन रेकर्ड गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।

शर्टकट की

कम्प्युटरमा शर्टकट कीका माध्यमबाट पनि स्क्रिन रेकर्ड गर्न सकिन्छ । कुनै एप डाउनलोड गर्न जोखिम हुन्छ भन्ने लाग्यो वा विरलै स्क्रिन रेकर्ड गर्नुहुन्छ भने कम्प्यटरको शर्टकट कीबाट स्क्रिन रेकर्ड गर्न सक्नुहुन्छ ।

कम्प्युटरमा शर्टकट कीका माध्यमबाट स्क्रिन रेकर्ड गर्नका लागि विन्डोज की, अल्ट की र आर (Windows key+Alt+R) सँगै दबाउनुहोस् । यसरी तीन ओटै की एकै पटक दबाउनु भयो भने कम्प्युटरमा स्क्रिन रेकर्डिङ हुन सुरु हुन्छ ।

त्यसमा डिफल्ट रूपमा तपाईंले बोलेको वा उताबाट बोलेको आवाज रेकर्ड हुँदैन । त्यसका लागि रेकर्डिङ बक्सको छेउमा रहेको माइक्रफोनको आइकनमा ट्याप गर्नुपर्ने हुन्छ ।

स्क्रिन रेकर्डको काम सकिएको खण्डमा रातो डट र माइक्रोफोनको आइकनको बीचमा रहेको पज (Pause) को आइकनमा क्लिक गर्नु पर्ने हुन्छ । यसरी रेकर्ड गरिएको फाइल कम्प्युटरमा ‘माई पीसी’भित्र रहेको भिडिओजको फोल्डरमा बसेको हुन्छ ।

यसबाट रेकर्ड गरिएको भिडिओको गुणस्तर त्यति राम्रो नहुने भएकाले तपाईँले अन्य एपको सहयोग लिन सक्नुहुन्छ । हामीले यहाँ उल्लेख गरेका एपमा उच्च रिजोलुसन, उपयुक्त फर्म्याट जस्ता फिचरहरू रहेका छन् ।

ओबीएस स्टुडियो

यदि तपाईँ गेम रेकर्डिङ गर्न सकिने सफ्टवेयर खोजिरहनु भएको छ भने ‘ओबीएस स्टुडियो’ उपयुक्त हुनसक्छ । यो सफ्टवेयर निःशुल्क उपलब्ध हुने भएकाले स्क्रिन रेकर्ड गर्न उपयाेगी छ ।

यसमा रेकर्ड गर्दा राम्रो गुणस्तरको भिडिओ आउने भएकाले गेमिङ रेकर्ड गर्नका लागि ओबीएस स्टुडियो तपाईँका लागि उपयुक्त हुन्छ ।

त्यसबाहेक पनि ओबीएस स्टुडियो लाइभस्ट्रिमिङ गर्नका लागि समेत प्रयोग गर्न सकिन्छ । ओबीएस स्टुडियो डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३