close

भोलिदेखि काठमाडौंमा ह्याकरहरुको सम्मेलन, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ २७, २०७९ १४:३

भोलिदेखि काठमाडौंमा ह्याकरहरुको सम्मेलन, यसरी हुनुहोस् सहभागी

काठमाडौं । ह्याकरहरुको सम्मेलन ‘थ्रेटकन’ भोलिदेखि सुरु हुने भएको छ । ठमेलस्थित एलफ्ट काठमाडौं होटलमा आयोजना हुने याे सम्मेलन तीन दिनसम्म चल्नेछ ।

त्यसमध्ये पहिलो दुई दिन अर्थात् मंगलबार र बुधबार ह्याकिङसँग सम्बन्धित विभिन्न विषयमा वर्कशप र बिहीबार कन्फ्रेन्स (सम्मेलन) आयोजन हुने नेपालको साइबर सुरक्षा फर्म तथा कार्यक्रमको आयोजक थ्रेटनिक्सले जनाएको छ ।

नेपालमा साइबर सुरक्षाको ‘इकोसिस्टम’ तयार पार्न तथा सेक्युरिटी कम्युनिटीलाई विकास र विस्तार गर्न हरेक वर्ष थ्रेटकनको आयोजना हुँदै आएको छ ।

विज्ञ, ह्याकर तथा अनुसन्धानकर्ता, सरकारी क्षेत्र, उद्योग क्षेत्र लगायतका सबै सरोकारवालाहरूको सम्मेलनमा सहभागिता रहने गरेको छ, जसमा साइबर सुरक्षाको क्षेत्रको अन्तर्राष्ट्रिय अभ्यास र नेपालले गर्नुपर्ने कामका विषयमा चर्चा हुने गर्दछ ।

यो वर्ष कार्यक्रममा नाै देशका २० जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसमध्ये १९ जना विदेशी र एक नेपाली साइबर अनुसन्धानकर्मी रहने जनाइएको छ ।

कार्यक्रममा ताइवानको साइबर सेक्युरिटी कम्पनी टीएक्सवान नेटवर्कका सेक्युरिटी रिसर्चर ह्याङ्क चेन मुख्य वक्ताको रुपमा उपस्थित रहनेछन् ।

कार्यक्रममा साइबर सेक्युरिटी कम्पनी, आईटी कम्पनी, बैंक तथा सरकारी निकायबाट सहभागी हुने बताइएकाे छ ।

त्यस्तै विद्यार्थीले पनि कार्यक्रममा सहभागिता जनाउनसक्ने छन् । सन् २०१८ बाट थ्रेटनिक्सले यो कार्यक्रम निरन्तर रुपमा गर्दै आएको छ ।

सुरुका दुई वर्ष भौतिक रुपमा भएको कार्यक्रम कोभिडका कारण अघिल्लो एक वर्ष स्थगित भएको थियो भने, गत वर्ष भर्चुअल रुपमा गरिएको थियो ।

यो वर्षको कार्यक्रममा ३०० जना सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुन चाहनेहरूले अनलाइनबाटै रजिष्ट्रेसन गराउनसक्ने छन् ।

त्यसका लागि थ्रेटकनको आधिकारिक वेबसाइट अथवा यहाँ क्लिक गरी टिकेट खरिद गर्न सकिने छ ।

विद्यार्थी, स्ट्यान्डर्ड, कर्पोरेट गरी तीन विभिन्न प्याकेजमा टिकेट उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४