close

पठाओ अब चितवनमा पनि

टेकपाना टेकपाना

असोज ४, २०७९ ८:१६

पठाओ अब चितवनमा पनि

काठमाडौं । राइड हेलिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब चार वर्षदेखि काठमाडौं उपत्यकामा मात्र सञ्चालित सेवा चितवनमा पनि विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफर्ममा युवाको आकर्षण बढी रहेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाल बताउँछिन् ।

‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पूरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने उनले जानकारी दिइन् ।

के छ त पठाओमा सुविधा ?

कम्पनीका अनुसार पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू, चाैबिसै घण्टा कल-सेन्टर र कस्टमर सपोर्ट सेवा, एपभित्रै आपतकालीन प्रहरी सम्पर्कको विकल्प र हरेक राइड सिस्टममा ट्रयाक हुनुका साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा शेयर गर्ने सुविधा छन् ।

बीमा अन्तर्गत हरेक यात्रामा एक लाखसम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध छ । 

पठाओमा कागजात प्रमाणीकरण र तालिमपश्चात् मात्रै राइडहरूले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो  रहेको हमालकाे भनाइ छ ।

पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे चौबिसै घण्टा कल–सेन्टरमा सम्पर्क गरी गुनासो तथा उजुरी गर्न सकिन्छ । 

यस्तै, पठाओ प्रयोग गर्दा आपतकालीन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ ।

पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ, जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पूर्ण विवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा शेयर गरेर आफू पुगिरहेको गन्तव्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ ।

एपमार्फत बुक नगरी अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुविधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षित र सुनिश्चित नहुने हमालको भनाइ छ ।

सन् २०१८ सेप्टेम्बरमा बाइकमा राइड हेलिङमार्फत सेवा दिइरहेको पठाओले २०१९ अगस्टमा कार लाइट अर्थात् ट्याक्सी सेवा जोडेको हो । त्यस्तै दुई वर्षपछि सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै काठमाडौमा ‘पठाओ फुड’ समेत सुरू गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ ८:१७