close

शेर्पा भाषा सिक्न सघाउने एप सार्वजनिक हुँदै

टेकपाना टेकपाना

असोज १०, २०७९ १८:१

शेर्पा भाषा सिक्न सघाउने एप सार्वजनिक हुँदै

काठमाडौं । शेर्पा भाषा सिक्न सघाउने एप सार्वजनिक हुने भएको छ । विश्व शेर्पा संघले आउँदो अक्टोबर ८ का दिन विश्व शेर्पा दिवसको अवसर पारी यो एप सार्वजनिक गर्न लागेको हो ।

संघका अनुसार शेर्पा भाषाको संरक्षण एवं विकासका लागि शेर्पा ल्याङ्ग्वेज एप ल्याउन लागिएको हो । नयाँ पुस्ताले सरल र सहज रुपमा आफ्नो फोन, कम्प्युटर वा ल्यापटपबाट शेर्पा भाषा सिक्न सकुन् भन्ने उद्देश्यले यो एप तयार गरिएको संघका अध्यक्ष आङ दोर्जे लामाले बताए ।

“अहिलेको नयाँ पुस्ता विशेषगरी सहर र विदेशमा हुर्केका बच्चामा आफ्नो भाषाको ज्ञान हुँदैन । उनीहरूलाई लक्षित गरेर यो एप ल्याउन लागिएको हो,” उनले टेकपानासँग भने, “यसबाहेक शेर्पा भाषा सिक्न चाहने अन्य व्यक्तिका लागि पनि यो एप उपयोगी हुनेछ ।”

उनका अनुसार यो एप नेपाली, सम्भोटा, अंग्रेजी र रोमन नेपालीमा पढ्न सकिनेछ । यसमा शब्दहरूलाई शेर्पा भाषामा कसरी लेखिन्छ र उच्चारण गरिन्छ भनेर सिकाउन शब्द र आवाज दुवैको प्रयोग गरिएको छ ।

“शेर्पा भाषामा एउटै शब्दको पनि धेरै अर्थ हुन्छ । शब्द एउटै भएपनि यसको उच्चारण फरक पर्ने हुँदा हामीले एपमा सुनेर भाषा सिक्ने फिचर समावेश गरेका हौं । यसले प्रयोगकर्ताले कुन शब्दलाई कसरी लेख्ने अनि कसरी उच्चारण गर्ने भनेर सहजै सिक्न सक्नेछन्,” उनले भने ।

यसका साथै एपमा फिडब्याक फिचर पनि उपलब्ध छ । भाषाहरू स्थान अनुसार फरक पर्ने हुँदा कुनै शब्दको उच्चारण वा अर्थ फरक पर्न जाँदा एपबाट नै प्रतिक्रिया दिन सकिने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १८:१८