close

अब टिकटकमा लाइभ शपिङ गर्न सकिने

टेकपाना टेकपाना

असोज १६, २०७९ १७:२१

अब टिकटकमा लाइभ शपिङ गर्न सकिने

काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्तालाई लाइभ रुपमा सामान खरिद तथा बिक्रि गर्न सकिने सुविधा दिने भएको छ । त्यसका लागि कम्पनीले अमेरिकाको ‘टकशपलाइभ’ नामक लाइभ सपिङ प्लेटफर्मसँग सहकार्य गर्ने तयारी गरेको छ । जसको सुरुवात उत्तर अमेरिकाबाट हुने अनुमान गरिएको छ । 

हुन त टिकटकले लाइभ सपिङ फिचर उपलब्ध गराउने विषय निकै समय देखि चर्चामा छ । कम्पनीले यसअघि नै अमेरिकामा यो फिचर उपलब्ध गराउने तयारी गरेको थियो । तर, त्यसबेला अमेरिका सरकारले टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने हल्ला चलेसँगै पछि हटेको कम्पनीले अब भने यसलाई अघि बढाउने तयारीमा देखिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार टिकटकले लाइभ शपिङका लागि ‘टकशपलाइभ’ नामक कम्पनीसँग सहकार्य गर्ने तयारी गरेको छ । अमेरिकाको लस एन्जल्समा कार्यलय रहेको यो कम्पनीले वालमार्ट, माइक्रोसफ्ट जस्ता कम्पनीलाई लाइभस्ट्रिमिङ शपिङको सुविधा उपलब्ध गराउँदै आएको छ ।

यो कम्पनीसँगको सहकार्य सँगै टिकटकले आफ्ना क्रियटरलाई लाइभ शपिङ सेसन होस्ट गर्ने अवसर प्रदान गर्नेछ । साथै ब्राण्डलाई आफ्नो वेबसाइटको लाईभस्ट्रिमिङको समेत सुविधा उपलब्ध हुनेछ । 

हुन त हालसम्म यो फिचरका लागि दुई कम्पनीबीच कुनै पनि सम्झौता भइसकेको छैन । सम्झौताका लागि छलफलमै रहेकाले आगामी महिनाबाट यो फिचर टिकटकमा उपलब्ध हुन सक्ने आँकलन गरिएको छ ।


 

पछिल्लो अध्यावधिक: असोज १६, २०७९ १७:२१