close

मधेस प्रदेश लोकसेवा आयोगको वेबसाइट ह्याक, क्रिप्टोको प्रचार गरिँदै

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ १२:४९

मधेस प्रदेश लोकसेवा आयोगको वेबसाइट ह्याक, क्रिप्टोको प्रचार गरिँदै

काठमाडौं । मधेस प्रदेशको लोकसेवा आयोगको वेबसाइट ह्याक भएको छ । ह्याकरले वेबसाइटमा क्रिप्टोकरेन्सीको प्रचार सामग्री राखेका छन् ।

वेबसाइट खोलिसकेपछि त्यहाँ राखिएको सूचना स्किप गर्न (हटाउन) खोज्दा साइट रिडाइरेक्ट भएर क्रिप्टोकरेन्सीको प्रचार सामग्री रहेको पेजमा पुग्छ ।

त्यस्तै अन्य विभिन्न क्याटेगोरीमा ट्याप गर्दा पनि उक्त पेज रिडाइरकेट भएर क्रिप्टोका साथै विभिन्न विज्ञापन युक्त साइटमा जाने गरेको छ ।

 

टेकपानासँग कुरा गर्दै साइबर सुरक्षा विज्ञ विजय लिम्बुले यो वेबसाइट ह्याक भएको निश्चित गरे ।

"कुनै पनि वेबसाइटको लिङ्क रिडाइरेक्ट भएर असान्दर्भिक साइटमा पुग्छ भने ह्याक भएको बुझ्नु पर्ने हुन्छ," उनी भन्छन्, "ह्याकरले उक्त वेबसाइटमा कुन माध्यमबाट ट्राफिक बढी आउँछ भन्ने कुरा मूल्याङ्कन गरी त्यही माध्यमबाट साइट रिडाइरेक्ट गर्ने गर्छन् ।"

 

यसरी साइट ह्याक हुँदा प्रयोगकर्ता र लोक सेवाको डेटा जोखिममा पर्ने लिम्बु बताउँछन् । उनी भन्छन्, "ह्याकरले डेटा लिक गर्नका लागि र त्यसलाई आपराधिक गतिविधिमा प्रयोग गर्न सरकारी साइट ह्याक गर्ने प्रवृत्ति छ ।"

उक्त साइटको डेटा मात्र नभइ सो लिङ्क खोल्ने सामान्य प्रयोगकर्ताका अन्य संवेदनशील डेटा पनि ह्याकरको हातमा पुग्नसक्ने भन्दै यसबाट सतर्क रहन उनले सुझाव दिए ।

''यस्तो अवस्थामा ह्याकरले आधिकारिक वेबसाइट ह्याक गरी स्पाम वा फिशिङ लिङ्कमा रिडाइरेक्ट गर्ने गर्छन्, जसले गर्दा प्रयोगकर्ताको अन्य डेटा पनि जोखिममा पर्छ,'' उनले भने ।

यो वेबसाइट ह्याक भइसकेकाले कुनै माध्यमबाट पनि साइट नखोल्न लिम्बुको सुझाव छ । यो निकै संवेदनशील विषय भएकाले तत्कालै अनुसन्धान हुनुपर्नेमा पनि उनले जोड दिए । 

वेबसाइट ह्याकका विषयमा आयोगका अधिकारीसँग टेकपानाले सम्पर्क गर्दा उनले यसबारे अनविज्ञता प्रकट गर्दै अनुसन्धान गर्ने जानकारी दिए । 

नेपालमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लागेपछि युट्युब च्यानल तथा वेबसाइट ह्याक गरी त्यसको प्रचारप्रसार गर्ने प्रचलन दिनानुदिन बढ्दो छ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ १०:१५