close

स्वास्थ्य र आईटीको मिश्रित कोर्ष 'मास्टर ईन हेल्थ इन्फरम्याटिक्स', कसले पाउँछन् पढ्न ?

सञ्जीवन राई सञ्जीवन राई

कात्तिक २३, २०७९ १७:१३

स्वास्थ्य र आईटीको मिश्रित कोर्ष 'मास्टर ईन हेल्थ इन्फरम्याटिक्स', कसले पाउँछन् पढ्न ?

काठमाडाैं । काठमाडाैं विश्वविद्यालयले स्नातकाेत्तर तहका लागि नेपालमै पहिलाे पटक ‘हेल्थ इन्फरम्याटिक्स’ कार्यक्रम सुरू गरेकाे छ । विश्वविद्यालय अन्तर्गतकाे स्कुल अफ मेडिकल साइन्ससँगकाे समन्वयमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ डिपार्टमेन्टले याे शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे । 

काेर्ष परिचय

स्वास्थ्य विज्ञान र सूचना प्रविधिका विषयहरुकाे सम्मीश्रण भएकाे काेर्ष हाे, हेल्थ इन्फरम्याटिक्स । याे दुई वर्षे (चार सेमेस्टर) काेर्षकाे मुख्य उद्देश्य स्वास्थ्य क्षेत्रका डेटा तथा विभिन्न तथ्याङ्कलाई कम्प्युटर प्रविधिकाे प्रयाेगबाट प्रशाेधन गर्ने, स्वास्थ्य प्रणालीहरुकाे विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा नवीन खाेज एवं अन्वेषण गर्ने रहेकाे छ ।

काेर्ष महत्त्व

यस काेर्ष अध्ययनपछि नेपालमा नयाँ खालका जनशक्ति उत्पादन हुने 'हेल्थ इन्फरम्याटिक्स' कार्यक्रमका संयोजक उपप्राध्यापक सन्तोष खनाल बताउँछन् ।

“हाल स्वास्थ्य विषय अध्ययन गरेकाले सूचना प्रविधि नबुझ्ने र सूचना प्रविधि पढेकाले स्वास्थ्यका विषयहरु नबुझ्ने अवस्था छ । तर याे काेर्षकाे अध्ययनपछि स्वास्थ्यलाई प्रविधिमैत्री बनाउन सहयाेग गर्ने जनशक्ति उत्पादन हुन्छन्,” उनले भने ।

यस काेर्षले प्रविधि बुझ्ने स्वास्थ्यकर्मी र स्वास्थ्य बुझेकाे प्रविधिकर्मी उत्पादन गर्ने उनकाे भनाइ छ ।

पछिल्लाे केही वर्षयता नेपालमा ‘डिजिटल हेल्थ’ले फड्काे मारिरहेकाे छ । तर सूचना प्रविधिकाे प्रयाेग गरेर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्तिकाे अभाव छ । यस विषयमा औपचारिक पढाइ नभइरहेकाे अवस्थामा केयूले ‘हेल्थ इन्फरम्याटिक्स’ काेर्ष सञ्चालन गर्न लागेकाे हेल्थ इन्फरम्याटिक्स विषय समितिका अध्यक्ष सहप्राध्यापक डा. रविन्द्र विष्ट बताउँछन् ।

उनी भन्छन्, “देशका स्वास्थ्य समस्या यस्ता छन्, तिनलाई प्रविधिकाे प्रयाेग गरेर यसरी समाधान गर्न सकिन्छ भन्ने जस्ता विषयमा पढाइ भयाे भने हाल भएका स्वास्थ्य समस्यालाई कमी गर्न सकिन्छ ।”

स्वास्थ्य क्षेत्रलाई प्रविधि उन्मुख बनाउन यस काेर्षले प्रमुख भूमिका खेल्नसक्ने उनकाे भनाइ छ । देशमा स्वास्थ्य क्षेत्रका बारेमा नीति नियम बनाउने निकायहरु र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका जनशक्तिहरुकाे बीचमा प्रविधिलाई राखेर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न याे विषय सहयाेगी हुने उनले सुनाए ।

हाल स्वास्थ्य क्षेत्रका डेटामा काम गर्नका लागि तथ्याङ्क शास्त्र वा पब्लिक हेल्थ पढेर गएका जनशक्ति धेरै रहेका छन् । तर उनीहरुले पनि आफ्नाे ज्ञान तथा सीपलाई बढाउन याे काेर्ष उपयुक्त हुने सह प्राध्यापक डा. विष्टले बताए ।

“विश्वभर हेल्थ इन्फरमेटिक्समा प्राय: जसाे काम गर्ने नर्सिङ पढेकाहरु छन्,” उनी भन्छन्, “यदि यस्ता विषयहरु पढेका व्यक्तिहरु आउनुभयाे भने स्वास्थ्य क्षेत्रका विभिन्न परियाेजना र तिनमा आवश्यक पर्ने आईटीका पूर्वाधारहरु थाहा हुन्छ । त्यसबाट बन्ने आईटी पूर्वाधारहरुलाई विभिन्न अस्पताल, स्वास्थ्य चाैकी लगायत विभिन्न ठाउँहरुमा लागू गर्न मद्दत पुग्नेछ ।”

पाठ्यक्रम

काेर्षमा मुख्य गरेर स्वास्थ्य विज्ञान र सूचना प्रविधिका विषयहरुलाई प्राथमिकता दिइएकाे यस कार्यक्रमका संयोजक उप-प्रा. सन्तोष खनालले बताए । तर यी दुवै विषयहरु एक-अर्कामा हाबी नहुन् भन्ने कुरालाई ध्यानमा राखेर पाठ्यक्रम तयार गरेकाे उनले थपे ।

साथै यस काेर्षमा स्वास्थ्य विज्ञान र सूचना प्रविधिका विषयहरुकाे अध्ययन गरेर आएका विद्यार्थीहरुका लागि आधारभूत कुरालाई पनि समावेश गरेकाे उनले सुनाए । 

यस काेर्षकाे पहिलाे सेमेस्टरमा १२ क्रेडिट आवर बराबरकाे तीन अनिवार्य विषयहरु र इलेक्टिभ विषयहरु रहेका छन् ।  त्यस्तै दाेस्राे सेमेस्टरमा १५ क्रेडिट आवर बराबरकाे तीन ओटा अनिवार्य र दुई ओटा इलेक्टिभ विषय रहेका छन् ।

तेस्राे सेमेस्टरमा १२ क्रेडिट आवर बराबरकाे दुई ओटा अनिवार्य, इलेक्टिभ र एउटा प्राेजेक्ट रहेकाे छ । अन्तिम अथवा चाैंथाे सेमेस्टरमा भने ९ क्रेडिटकाे थेसिस रहेकाे छ ।

समग्रमा पहिलाे सेमेस्टरमा हेल्थ इन्फाेर्मेटिक्सका आधारभूत विषय र स्वास्थ्यलाई कसरी डिजिटलाइज गर्न सकिन्छ भन्नेजस्ता विषय छन् । दाेस्राे सेमेस्टरमा स्वास्थ्य क्षेत्रमा कस्ता टुल प्रयाेग गरेर विश्लेषण गर्न सकिन्छ भन्ने कुराकाे पढाइ हुन्छ ।

यस सेमेस्टरमा डेटा एनलाइसिस, टेलिकेयर, मेडिकल सिंग्नल, इमेजिङ जस्ता विषय रहेका छन् । 

तेस्राे सेमेस्टरमा नीति निर्माण र कानूनी कुराहरुकाे विषय पढाइ हुन्छ । यही सेमेस्टरमा एउटा प्राेजेक्ट रहेकाे छ । अन्तिम सेमेस्टरमा भने स्वास्थ्य क्षेत्रमा भएका डेटासँग सूचना प्रविधि कसरी एकीकृत गर्ने विषयमा शाेधकार्य गर्नुपर्छ ।

यस्ताे छ पाठ्यक्रम

 

Year I Semester I (12-Credit)

1. Foundations of Health Information Systems

a.Foundations of Health Care 

b.Foundations of Programming

2. Spectrums of Digital Health 

3. Digital Health Platform

4. Elective 1

Year I Semester II (15-Credit)

1. Healthcare Data Analytics

2. Tele-care, Medical Signal, and Imaging

3. Population Informatics and GIS

4. Elective 2 

5. Elective 3

Year II Semester III (12-Credit)

1. Artificial Intelligence in Healthcare

2. Principles of Health Data Standardization 

3. Elective 4 

4. Project Work in Health Information

(Year II Semester IV (9- Credit)

Thesis

करियर

यस काेर्षकाे अध्ययनपछि विद्यार्थीले स्वास्थ्य सूचना प्रणाली र स्वास्थ्य क्षेत्रमा डिजिटलाइजेसनको ठोस ज्ञान प्राप्त गर्छन् । जसले गर्दा उनीहरु विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा इन्फर्मेसन अफिसर, डेटा एनालिस्ट, स्ट्राटेजी प्लानर, पाेलिसी मेकर भएर काम गर्न याेग्य हुन्छन् ।

याेसँगै स्वास्थ्य सूचना प्रणालीका लागि आवश्यक पर्ने सिस्टम आर्किटेक्ट र एप्लिकेसन डेभलपर भएर काम गर्न सक्छन् । 

भर्ना मापदण्ड

याे काेर्ष स्वास्थ्य विज्ञान, डेटा विज्ञान, सूचना तथा सञ्चार प्रविधिका विषयहरु अध्ययन गरेका विद्यार्थीले पढ्न सक्छन् । यस काेर्षकाे अध्ययनका लागि स्नातक तहमा सूचना प्रविधिका विषयहरु (सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सीएसआईटी आदि) पढेका र स्वास्थ्यका विषयहरु (एमबीबीएस, ब्याचलर ईन नर्सिङ, ब्याचलर ईन फार्मेसी) पढेकाले भर्ना गर्न सक्छन् ।

यसबाहेक स्नातक तहमा विज्ञान, गणित विषय अध्ययन गरेकाहरुले पनि पढ्न पाउँछन् । तर उच्च मावि तहमा विज्ञान विषय भने अध्ययन गरेकाे हुनुपर्छ ।  साथै स्नातक तहकाे अन्तिम नतिजामा ५० प्रतिशत प्राप्ताङ्क प्राप्त गरेकाे हुनुपर्छ । 

 युरोपेली युनियनकाे सहयाेग

विश्वविद्यालयले याे काेर्ष सञ्चालनका लागि युरोपेली युनियनको 'इरासमस प्लस' कार्यक्रम अन्तर्गत ‘नेप्लिज एजुकेसन ईन ई-हेल्थ’ (निम) परियोजना मार्फत ओस्लो युनिभर्सिटी, नर्वे र युनिभर्सिटी इन्स्टिच्युट अफ लिसवन, पोर्चुगलसँग सहकार्य गर्नेछ ।

त्यस्तै यस काेर्ष सञ्चालनका लागि सोही परियोजना अन्तर्गत एसिया ई-हेल्थ इन्फर्मेसन नेटवर्क र हेल्थ इन्फर्मेशन सोसाइटी अफ श्रीलंकाको पनि सहयोग रहेकाे छ । 

निम परियाेजना अन्तर्गत केयूले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदानस्वरूप एक लाख ९० हजार यूराे प्राप्त गर्ने सह प्राडा. विष्टले जानकारी दिए । विष्ट याे परियाेजनाका प्रिन्सिपल इन्भेस्टिगेटर (पीआई) समेत हुन् । यसबाट केयूले यस काेर्षकाे पढाइका लागि सहकार्य तथा सहयाेग प्राप्त गरेकाे विभिन्न विश्वविद्यालयका प्राेफेसरहरु अध्यापनका लागि नेपाल आउनेछन् ।

त्यस्तै यस काेर्ष सञ्चालन गर्दा आवश्यक पर्ने इन्टरअपेरेबिलिटी ल्याब निर्माण गरिनेछ । याेसँगै यस काेर्षमा भर्ना भएका एक जना महिला विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने छ । यसबाहेक केयूका विभिन्न विभागहरुमा कार्यरत चार जना कर्मचारीहरुका लागि विद्यावारिधि खर्च पनि साेही परियाेजनाबाट प्राप्त भएकाे आर्थिक सहयाेग प्रयाेग हुने उप-प्रा. खनालले बताए । 

शुल्क, काेटा र कक्षा सञ्चालन

याे काेर्ष अध्ययनका लागि कुल शुल्क चार लाख ३२ हजार रुपैयाँ लाग्छ । त्यस्तै एक शैक्षिक वर्षमा १० जना विद्यार्थीले मात्र भर्ना हुन पाउँछन् । आउँदो महिनादेखि याे काेर्षकाे कक्षा सञ्चालन हुनेगरी तयारी थालिएकाे केयूले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १४:४