close

थाहा पाइराख्नुहोस्, इन्टरनेटमा प्रयोग हुने डोमेन एक्सटेन्सनको अर्थ र प्रयोग

टेकपाना टेकपाना

मंसिर २, २०७९ १५:५५

थाहा पाइराख्नुहोस्, इन्टरनेटमा प्रयोग हुने डोमेन एक्सटेन्सनको अर्थ र प्रयोग

काठमाडौं । इन्टरनेटमा अभ्यस्त भइरहँदा हामी दिनानुदिन नयाँ-नयाँ शब्दसँग परिचित भइरहेका हुन्छौँ । तीमध्ये हामीलाई कतिपयको अर्थ थाहा हुन्छ भने कतिपय शब्दको अर्थ थाहा नपाएरै प्रयोग गरिरहेका हुन्छौँ । त्यस्तै केही शब्दको अर्थ हामीले जे सोचेका हुन्छौँ, त्यसभन्दा फरक भएको पनि हुनसक्छ ।

आज हामी इन्टरनेटमा सर्वाधिक प्रयोग हुने शर्टकट शब्दको पूरा रूपको जानकारी दिँदैछौँ । आज हामी सर्वाधिक प्रयोग हुने केही डोमेन नेम एक्सटेन्सनको अर्थ खुलाउँदै छौँ ।

डोमेन नेम एक्सेटन्सन भनेको कुनै पनि डोमेन नेमको अन्तमा आउने अक्षरहरूलाई बुझिन्छ । उदाहरणका लागि टेकपाना डटकम (techpana.com) लाई लियौँ । यसमा डट (.) पछाडि भएको कम (com) नै डोमेन एक्सटेन्सन हो ।

इन्टरनेटमा यस्ता डोमेन एक्टेन्सन लाखौँको सङ्ख्यामा रहेका छन् । यस लेखमार्फत हामी सर्वाधिक प्रयोग हुने गरेका डोमेन एक्सटेन्सनका पूरा रूप (फुल फर्म) र त्यसको प्रयोगबारे जानकारी दिँदैछौँ ।

कम (Com)– कमर्श

कम एक्सटेन्सन विशेषगरी व्यवसायीक प्रयोजनका लागि प्रयोग हुने एक्सटेन्सन हो । नाफा कमाउनका लागि कम्पनी सञ्चालन गर्नेहरूले डटकम एक्सटेन्सन बढी प्रयोग गर्छन् ।

नेट(Net)- नेटवर्क

डट नेट इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायकले प्रयोग गर्ने एक्सटेन्सन हो । तर, डटकम सर्वाधिक प्रयोग हुने एक्सटेन्सन भएकाले नेटवर्क अपरेटरले पनि डटकम नै लिएको पाइन्छ ।

यसो त डटनेट नेटवर्क अपरेटरले मात्र प्रयोग गर्नुपर्छ भन्ने हुँदैन । नेटवर्कसँग सम्बन्धित जुनसुकै कम्पनीले पनि यो डोमेन एक्सटेन्सन प्रयोग गर्न सक्छन् ।

ईडीयू (Edu)- एडुकेसन

शैक्षिक प्रयोजनका लागि प्रयोग हुने एक्सटेन्सनमध्ये डट ईडीयू सर्वाधिक प्रयोग हुने एक्सटेन्सन मानिन्छ । विशेषगरी विद्यालय, क्याम्पस, विश्वविद्यालयले यो एक्सटेन्सन प्रयोग गर्छन् । शिक्षा क्षेत्रसँग सम्बन्धित संस्थाले यो डोमेन एक्सटेन्सन प्रयोग गर्न सक्छन् ।

ओआरजी (Org)- अर्गनाइजेसन

विशेषगरी गैरनाफामुखी तथा गैर सरकारी संस्थाहरूले डट ओआरजी डोमेन एक्सटेन्सन प्रयोग गर्न सक्छन् । त्यसबाहेक पनि अन्य विभिन्न परियोजनाले स्थापना भएका संस्थाले डट ओआरजी डोमेन एक्सटेन्सन प्रयोग गरिरहेका हुन्छन् ।

मिल (Mil)- मिलिटरी

सैन्य सेवासँग सम्बन्धित सरकारी निकायले डट मिल एक्सटेन्सन प्रयोग गर्ने गर्छन् । हरेक सरकारी कार्यलयका लागि उक्त देशले कन्ट्री डोमेन उपलब्ध गराएको हुन्छ । त्यसै अन्तर्गत सैन्य सेवामा आवद्ध संस्था वा रक्षा विभाग अन्तर्गतका कार्यलयले डट मिल एक्सटेन्सन प्रयोग गर्न सक्छन् ।

 जीओभी (Gov)- गभर्मेन्ट

डट जीओभी सरकारी कार्यलयका लागि तयार पारिएको डोमेन एक्सटेन्सन हो । जीओभी एक्सटेन्सन विशेषगरी कन्ट्री डोमेनसँगै आउने गर्छ । उदाहरणका लागि (mohp.gov.np) । यसमा एनपी भनेको नेपाल भन्ने बुझिन्छ । डट जीओभी भन्नाले गभरमेन्ट अर्थात सरकार (सरकारी) भन्ने बुझिन्छ ।

एनपी (Np)- नेपाल

एनपी डोमेन एक्सटेन्सनले नेपाललाई जनाउँछ । नेपालका लागि यो एक्सटेन्सन मर्कन्टाइल कम्युनिकेसन प्रालिले उपलब्ध गराउँदै आएको छ । डट एप एक्लै भने उपलब्ध हुँदैन । यसभन्दा अघि अन्य अन्तर्राष्ट्रिय डोमेन एक्सटेन्सन जोडिएर आउनु पर्ने हुन्छ । उदाहरणका लागि register.com.np।

इन्फो (Info)- इन्फरमेसन

जानकारी दिने उद्देश्यले खोलिने वेबसाइटका लागि डोमेन नेममा डट इन्फो एक्सटेन्सन लिन सकिन्छ । उदाहरणका लागि तपाईँले कुनै ठाउँको जानकारी दिने वेबसाइट बनाउन खोज्नुभयो भने (बर्दियाडटइन्फो) यस्तो एक्सटेन्सन लिन सक्नुहुन्छ ।

अर्पा (Arpa)- इन्फ्रास्ट्रक्चर

त्यस्तै इन्टरनेटसँग सम्बन्धित पूर्वाधार कम्पनी छ भने त्यस्तो बेला डटअर्पा डोमेन एक्सटेन्सन लिन सकिन्छ ।

इन्ट (Int)- इन्टरनेसनल

डट इन्ट डोमेन एक्सटेन्सन राष्ट्रिय सरकार वा अन्तर्राष्ट्रिय सन्धिहरूद्वारा स्थापित सङ्गठनका लागि प्रयोग गर्ने गरिन्छ ।

मोबी (Mobi)- मोबाइल

मोबाइलसँग सम्बन्धित कम्पनीले डट मोबी डोमेन एक्सटेन्सन प्रयोग गर्न सक्छन् । डटकम डोमेन सर्वाधिक चर्चित डोमेन एक्सेन्टसन भएकाले सबैजसोले यही प्रयोग गरिरहेका हुन्छन् । नितान्त रूपमा मोबाइलसँग सम्बन्धित सेवामा आवद्ध कम्पनीले यो डोमेन एक्सटेन्सन प्रयोग गर्न सक्छन् ।

ट्राभल (Travel)- ट्राभल

घुमफिर तथा यात्रासम्बन्धी सेवा दिने कम्पनीले डटट्राभल डोमेन एक्सटेन्सन प्रयोग गर्न सक्छन् । मानिसहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणका सेवा उपलब्ध गराउने कम्पनीले डट ट्राभल डोमेन एक्सटेन्सन प्रयोग गरिरहेका हुन्छन् ।

जब्स (Jobs)- जब्स

रोजगारसँग सम्बन्धित कम्पनीका लागि डट जब्स डोमेन एक्सटेन्सन उपलब्ध छ । जागिर उपलब्ध गराउने वा जागिर खोज्ने मान्छे उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएका जब पोर्टलले डट जब्स डोमेन एक्सटेन्सन प्रयोग गर्न सक्छन् ।

सीए (Ca)- क्यानेडा

क्यानेडटमा कुनै पनि कम्पनी वा व्यक्ति दर्ता हुन पर्‍यो भने यो डोमेन एक्सटेन्सन प्रयोग गर्न सक्छन् । यो डोमेन एक्सटेन्सन जोकोहीले पाउन सक्दैन । त्यसका लागि क्यानेडामा नै कम्पनी दर्ता भएको हुनुपर्छ ।

कुप (Coop)- कोअपरेटिभ

डट कुप डोमेन एक्सटेन्सन सहकारी, तिनीहरूको पूर्ण स्वामित्वमा रहेका सहायक सहकारी र सहकारीको प्रवर्द्धन वा समर्थन गर्न अवस्थित अन्य संस्थाले प्रयोग गर्न सक्छन् ।

 सबैभन्दा बढी लोकप्रिय, रुचाइएका तथा जनजिब्रोमा झुण्डिएको डोमेन नेम एक्सटेन्सन सबैले प्रयोग गर्न खोज्छन् ।

तपाईँले कुनै पनि कम्पनी खोल्नुभयो र त्यसका लागि डटकम डोमेन एक्सटेन्सन पाउनु भएन भने अन्य डोमेन एक्सटेन्सन प्रयोग गर्न सक्नुहुन्छ । त्यसैले पनि इन्टरनेटको सञ्जालमा फरक फरक डोमेन एक्सटेन्सनहरू उपलब्ध हुने गर्छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १५:५८