close

एआई च्याटबटमा खोजेको नतिजा आइरहेको छैन ? यी ठाउँबाट सिक्नुहोस् प्रम्प्ट इन्जिनियरिङ

टेकपाना टेकपाना

फागुन ५, २०८० १५:०

एआई च्याटबटमा खोजेको नतिजा आइरहेको छैन ? यी ठाउँबाट सिक्नुहोस् प्रम्प्ट इन्जिनियरिङ

काठमाडौं । जेनेरेटिभ एआईको चर्चा चुलिएसँगै चलनमा आएको शब्दावली हो, प्रम्प्ट इन्जिनियरिङ । कतिपयले यसलाई एआई युगको नयाँ काम भन्ने गरेका छन् त, कतिपयले आधारभूत सीप । 

विभिन्न एआई मोडेलमा टेक्स्ट लेख्न, भाषा अनुवाद गर्न, विभिन्न लेख लेख्न तथा प्रयोगकर्ताको प्रश्नहरूको जवाफ दिन प्रम्प्टले सहयोग गर्छ । प्रयोगकर्ताले एआईबाट चाहेको प्रतिक्रिया अथवा उत्तर प्राप्त गर्न कुनै इन्पुट वा जिज्ञासा प्रयोग गर्छन्, जसलाई नै प्रम्प्ट भन्ने गरिन्छ । त्यस्तै त्यस्ता एआई मोडेलबाट पाइने प्रतिक्रिया सटीक बनाउन प्रम्प्टको डिजाइन तथा सुधार गर्ने प्रक्रिया प्रम्प्ट इन्जिनियरिङ हो ।

तपाईंसँग जति प्रम्प्ट इन्जिनियरिङको सीप तथा क्षमता छ, त्यति नै राम्रो नतिजा एआई मोडेलबाट पाउनुहुन्छ । तर बुझ्नु पर्ने कुरा, प्रम्प्टले नेपाली भाषा खासै सपोर्ट गर्दैन । यसकारण प्रम्प्ट इन्जिनियरिङमा अब्बल हुन र यसको अभ्यास गर्न तपाईंसँग अङ्ग्रेजी भाषाको आधारभूत ज्ञान भने हुन आवश्यक छ । आज हामी त्यही सीप सिकाउने विभिन्न प्लेटफर्मबारे जानकारी दिने छौं:

१. ओपनएआई (OpenAI)

ड्याल-ई, च्याटजीपीटी जस्ता जेनेरेटिभ एआई मोडेल सार्वजनिक गरेको ओपनएआईले तिनसँग कसरी अन्तर्क्रिया गर्ने भनेर समेत सिकाएको छ । ओपनएआईले बनाएको उक्त टुट्योरियल आधारभूत र सतही छ ।

प्रम्प्टबारे केही थाहा नभएकाहरूलाई यो निकै उपयोगी हुन सक्छ । ट्युटोरियलमा अब्बल प्रम्प्ट बनाउने सम्बन्धी विभिन्न तरिकाहरू सिकाइएको छ । उदाहरण सहित दिइएकाले प्रम्प्ट इन्जिनियरिङबारे बुझ्न सजिलो छ । कोर्समा जान यहाँ क्लिक गर्नुहोस् ।

२. म्याक्सिमियन भोगल (Maximilian Vogel)

मिडियममा लेख्ने भोगलले तयार पारेको प्रम्प्ट सम्बन्धी ट्युटोरियल पनि उपयोगी छ । यसमा उनले एआई मोडेललाई कसरी स्पष्ट निर्देशन दिने, डेटामा कसरी काम गर्ने, प्रम्प्टको टेम्प्लेट कसरी तयार गर्ने जस्ता कुरा सिकाएका छन् ।

यसका लागि उनले विभिन्न उदाहरण र तालिका/ग्राफिक्स समेत राखेका छन् । जसले लेखलाई बुझ्न थप सहयोग गरेको छ । लेख पढ्न यहाँ क्लिक गर्नुहोस् ।


३. लर्न प्रम्प्टिङ (Learn Prompting)

एआई, प्रम्प्ट सम्बन्धी सबै कुरा सिकाउने गरी स्थापना भएको यो वेबसाइट प्रम्प्ट इन्जिनियरिङबारे जान्न खोजिरहेकालाई निकै महत्त्वपूर्ण हुन्छ । यसमा प्रम्प्ट तथा एआईको आधारभूत कुरादेखि यसका विभिन्न प्रकारका समेत चर्चा गरिएको छ ।

अन्य बाँकीलाई छाडेर तपाईंले यसमा भएका सबै स्रोत राम्ररी अध्ययन गर्नु भए पनि तपाईंसँग प्रम्प्टसम्बन्धी निकै कुरा थाहा पाउनु हुनेछ । नवप्रवेशीदेखि विज्ञसम्म प्रम्प्टको इन्जिनियरिङ बुझ्न वेबसाइटमा स्रोत/सन्दर्भ सामग्रीहरू दिइएको छ । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।


४. भ्यानडरबिल्ट विश्वविद्यालय (Vanderbilt University)

कम्प्युटर वैज्ञानिक तथा भ्यानडरबिल्ट विश्वविद्यालयका प्राध्यापक जुलेस ह्वाइटले पढाउने तीन हप्ता अवधिको कोर्स प्रम्प्ट इन्जिनियरिङबारे बुझ्न अर्को राम्रो खुराक हो । यसमा उनले प्रम्प्टको अवधारणा, प्रम्प्ट प्याटर्न, प्रम्प्टका प्रकार लगायतका धेरै विषय समेटेका छन् ।

यी विषयलाई बुझाउन उनले विभिन्न अनुसन्धान पत्र, उदाहरण दिएका छन् । अनलाइन लर्निङ प्लेटफर्म कोर्सेरामा नि:शुल्क पाइए पनि परीक्षा र प्रमाणपत्रका लागि भने तपाईंले शुल्क तिर्नुपर्ने हुन्छ । कोर्समा जान यहाँ क्लिक गर्नुहोस् ।

५. प्रम्प्ट इन्जिनियरिङ गाइड (Prompt Engineering Guide)

लामो लेखमार्फत बुझाउन प्रयास गरिएको यस गाइड प्रम्प्ट इन्जिनियरिङबारे सिक्ने अर्को राम्रो विकल्प हो । यसमा प्रम्प्ट इन्जिनियरिङ मात्र नभएर लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलमएम), एआई मोडेल लगायतका विषयवस्तुहरू पनि अटाएका छन् ।

सामान्य परिभाषादेखि प्रम्प्ट इन्जिनियजरिङका व्यवहरिक प्रयोग र अनुसन्धानसम्मका कुरा समेटिएकाले यो गाइड निकै खँदिलो बनेको छ । लेखमा जान यहाँ क्लिक गर्नुहोस् ।

६. डिप लर्निङ एआई (Deep Learning AI)  

हुन त यो कोर्स डेभलपर/कोडरका लागि बनाइएको हो । तर पनि तपाईंलाई प्रम्प्टको प्राविधिक पक्षबारे जान्न मन छ भने यो कोर्स अध्ययन गर्न सक्नुहुन्छ ।

ओपनएआईका डेभलपरहरूले तयार पारेका भिडिओमा आधारित कोर्समा नौ ओटा विषय समेटिएको छ । जसमा प्रम्प्ट इन्जिनियरिङको प्राविधिक पक्षबारे बुझाइएको छ ।

यदि तपाईंसँग पाइथन प्रोग्रामिङको ज्ञान छ भने कोर्स बुझ्न अझ सजिलो हुन्छ । किनकी यसमा कोडिङका उदाहरणहरू प्रशस्तै छन् । कोर्समा जान यहाँ क्लिक गर्नुहोस् ।

७. एडएक्स (edX)  

अनलाइन लर्निङ प्लेटफर्म एडएक्समा उपलब्ध कोर्स अमेरिकी प्रविधि कम्पनी आईबीएमले तयार पारेको हो । तीन हप्ता अवधिको यो कोर्समा तपाईंले प्रम्प्ट इन्जिनियरिङ सम्बन्धी व्यवहारिक विधि र तरिकाहरू थाहा पाउनु हुनेछ ।

त्यस्तै केही प्रम्प्ट इन्जिनियरिङ टुलबारे समेत सिक्नु हुनेछ । पढाउने माध्यम भिडिओ हुने भएकाले तपाईंलाई थप बुझ्न समेत सजिलो हुनेछ । तर यसमा पनि प्रमाणपत्रका लागि शुल्क लाग्छ । कोर्समा जान यहाँ क्लिक गर्नुहोस् । यदि तपाईंको एडएक्समा यसको प्रत्यक्ष कक्षा छुटे आर्काइभमा भेटाउन सक्नुहुन्छ ।


यी माथिका प्लेटफर्म अथवा स्रोतबाहेक पनि प्रम्प्ट इन्जिनियरिङ सिक्ने विकल्प धेरै छन् । युट्युबमा यस सम्बन्धी थुप्रै भिडिओ, विभिन्न ई-लर्निङ प्लेटफर्म र अनलाइनमा थुप्रै ब्लग पोस्ट भेटिन्छन् । 

सम्बन्धित समाचार:

आर्टिफिसियल इन्टेलिजेन्ससँगै उदाएको प्रम्प्ट इन्जिनियरिङ के हो, कस्तो छ करियर ?

पछिल्लो अध्यावधिक: फागुन ५, २०८० १५:४०