close

फुटबल विश्वकप लाइभका लागि ५६५ रुपैयाँ तिर्नेले पनि रक्सीको विज्ञापन हेर्न बाध्य हुनुपर्ने

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १९:६

फुटबल विश्वकप लाइभका लागि ५६५ रुपैयाँ तिर्नेले पनि रक्सीको विज्ञापन हेर्न बाध्य हुनुपर्ने

काठमाडौं । नेपालमा यस पटकको विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार मिडिया हबले प्राप्त गरेको छ । कम्पनीले ग्राहकबाट ५६५ रुपैयाँ (भ्याट सहित) शुल्क उठाएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको छ । 

फुटबल प्रत्यक्ष प्रसारण हेर्नका लागि ग्राहकले अहिलेसम्मकै चर्को शुल्क तिर्नुपर्ने भए पनि विज्ञापन सामग्री समेत व्यहोर्नुपर्ने भएको हो । त्यसमा मदिरा उत्पादक कम्पनी समेत रहेका छन् । 

मिडिया हबले विज्ञापनका लागि मदिरा उत्पादक कम्पनी रुस्लानलाई टाइटल स्पोन्सर बनाएको छ भने अर्को मदिरा उत्पादक गोल्डेन ओक एसोसियट स्पोन्सरमा रहेको छ । यति मात्र होइन एसियन पेन्ट्स, प्रो स्टाइल र ईसेवाका विज्ञापन हेर्न समेत दर्शक बाध्य हुने छन् । 

विश्वकप फुटबलका उद्घाटन, सेमी फाइनल र फाइनल गरी चार खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीमा निःशुल्क हेर्न सकिनेछ । तर त्यस बाहेकका ६० खेल हेर्न चाहने दर्शकले भने हिमालय प्रिमियम च्यानलको सब्सक्रिप्सन लिनु पर्ने व्यवस्था गरिएको छ । 

मिडिया हबले फुटबलको लाइभ प्रसारणका लागि भायाटिभी, क्लियर टिभी, डिशहोम, सिम टिभी र डिशहोम आईटिभीसँग सम्झौता गरेको छ ।  त्यस्तै स्काई टिभी, डोइन टिभी, युनिक टिभी, ब्रोडटिभी, म्याक्सनेटटिभी, मेरो टिभी, स्काई कम र एनटीटिभीले समेत हिमालय प्रिमियम च्यानलमार्फत फुटबलको प्रसारण गर्ने छन् ।


 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १९:८