काठमाडौं । यस अघिका फिफा विश्वकप फुटबलको लाइभ टेलिभिजन माध्यममा सहजै प्रसारण हुन्थ्यो । स्मार्टफोन र ओटीटी एपहरू माथिको निर्भरता पनि यति बिघ्न भइसकेको थिएन ।
अहिले प्रविधिको विकाससँगै रेडियो, टेलिभिजन, समाचार माध्यम, फिल्म हल आदिको स्थान तीव्र रुपमा स्मार्टफोन लिइरहेको छ । यस्तोमा भिडिओको सामग्रीका लागि टेलिभिजन एक मात्र विकल्प रहेन ।
तर कतारमा आयोजना भइरहेको जारी फिफा विश्वकपका लागि मिडिया हब नामक प्रोडक्सन कम्पनीले नेपालका लागि प्रसारणको एकाधिकार लियो । त्यसो त यस अघिका विश्वकपमा पनि कुनै न कुनै कम्पनीले प्रसारण अधिकार लिएरै फुटबलको लाइभ देखाइएको थियो ।
बरु उनीहरूले खरिद गरेको प्रसारण अधिकारको लागत विज्ञापन शुल्कबाट उठाउँथे । तर यस पटक भने ठूलो रकम खर्चेर प्रसारण अधिकार खरिद गरेको भन्दै मिडिया हबले विज्ञापनबाट मात्र उक्त लागत नउठ्ने जिकिर गर्यो ।
कम्पनीले सर्वोच्च अदालतमा पेश गरेको दलीलमा आफूले १५ लाख अमेरिकी डलर (झण्डै २५ करोड रुपैयाँ) खर्च गरेर नेपालभर विश्वकप फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने एकाधिकार खरिद गरेको दाबी गरेको छ ।
त्यसपछि कम्पनी प्रत्येक ग्राहकबाट समेत भ्याट बाहेक ५०० रुपैयाँ उठाउने तयारीमा जुट्यो । मिडिया हबले यसरी विश्वकप प्रसारण हेर्न दर्शकले अनिवार्य रूपमा शुल्क तिर्नुपर्ने बाध्यता सिर्जना गराएको भन्दै त्यस विरुद्ध सर्वोच्चमा मुद्दा समेत पर्यो । सुरुमा त्यस किसिमको गतिविधिमाथि रोक लगाएको अदालतले केही दिनमै मिडिया हबको पक्षमा फैसला सुनायो ।
यससँगै मिडिया हबका लागि फुटबल हेर्ने ग्राहकबाट शुल्क उठाउने बाटो खुल्यो । तर पैसा तिरेर फुटबल हेर्ने ग्राहकले विज्ञापन समेत हेर्नुपर्ने बाध्यता सिर्जना गरेको विषय धेरै दर्शकलाई पचेको छैन ।
भदौ ३१ गते काठमाडौंको एउटा होटलमा कार्यक्रम आयोजना गर्दै मिडिया हबले आफूले फिफा विश्वकप लाइभको प्रसारण अधिकार पाएको विषय सार्वजनिक गरेको थियो । त्यस क्रममा कम्पनीका सञ्चालक सोम धितालले
भू-सतही, स्याटलाइट, डीटीएच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतीय प्रसारणको एकाधिकार आफ्नो कम्पनीले प्राप्त गरेको सगर्व घोषणा गरे ।
“नेपालमा विश्वकप फुटबल २०२२ को लोगो तथा मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रालिमा मात्रै सीमित हुनेछ,” उनले भनेका थिए ।
अब धितालकै भनाईलाई आधार बनाउने हो भने पनि दर्शकले शुल्क तिरेर टिभीसँगै मोबाइल, कम्प्युटर लगायतका डिभाइसमा हेर्न सक्ने सहजै अनुमान गरिएको थियो । तर जब विश्वकप सुरु हुने दिन आयो, तब अचानक ओटीटी एप तथा प्लेटफर्ममा विश्वकप फुटबलको लाइभ हेर्न नसकिने बताइयो ।
त्यसपछि फुटबल विश्वकप हेर्न चाहने दर्शकले पैसा तिरेर मात्रै नपुग्ने भयो, साथमा अनिवार्य रुपमा टेलिभिजन सेट र केवल तथा आईपीटिभीको ग्राहक समेत बन्नुपर्ने बाध्यता सिर्जना भयो ।
यस्तो बाध्यता अधिकांश दर्शकलाई स्वीकार्य भएन । अनि ‘पाइरेसी’ गरेर फुटबल विश्वकपको लाइभ प्रसारण गर्ने वेबसाइट तथा एपको खोजी सुरु भयो । माल्वेर, भाइरस, एड्वेयर, विज्ञापन, डेटा चोरी जस्ता जोखिम प्रति आँखा चिम्लिएर भए पनि दर्शक त्यस्ता माध्यम प्रयोग गर्न थाले ।
यो मिडिया हबलाई मान्य हुने कुरा थिएन । यसरी ‘पाइरेसी’का माध्यम बढ्न थालेपछि कम्पनी तथा इन्टरनेट सेवाप्रदायक त्यसलाई रोक्नेतर्फ जुटेका छन् ।
सेवाप्रदायकहरूले मनोमानी किसिमले फुटबलको लाइभ प्रसारण गर्ने साइट तथा एप ब्लक गर्न थालेपछि अधिकारकर्मीहरूले सामाजिक सञ्जालबाटै त्यो गलत अभ्यास भएको तर्क दिन थाले ।
शुल्क तिरेर विश्वकप फुटबलको लाइभ प्रसारण हेर्न सक्ने विकल्प (ओटीटी तथा वेबसाइटमा हेर्ने) दिन नसकेको मिडिया हब अहिले अन्य वैकल्पिक माध्यममा समेत रोक लगाउन अगाडि बढेको छ ।
यसैबीच मिडिया हब नियामक नेपाल दूरसञ्चार प्राधिरणबाट विश्वकप फुटबल लाइभ स्ट्रिमिङको पाइरेसी गर्ने साइट तथा एपमाथि प्रतिबन्ध लगाउने अनुमति माग्न पुग्यो ।
त्यसै अनुरूप शुक्रबार इन्टरनेट सेवाप्रदायकलाई नियामकले अनधिकृत रुपमा विश्वकपको लाइभ देखाउने एप तथा वेबसाइटमाथि रोक लगाउन सक्ने अनुमति दिएको छ । पक्कै पनि विकल्प बिना प्रतिबन्ध मात्र समाधानको सही बाटो भने होइन । र त्यो पूर्णतः सम्भव पनि छैन ।
प्रयोगकर्तालाई डीएनएस परिवर्तन वा भीपीएन प्रयोग गरेर भए पनि मोबाइल वा कम्प्युटरमा फुटबल विश्वकपको लाइभ हेर्न बाट न त प्राधिकरणले न मिडिया हब वा इन्टरनेट सेवा प्रदायकले नै रोक्न सक्ने देखिन्छ ।
यद्यपि आफूहरूले अहिलेसम्म ३५/४० ओटा पाइरेटेड वेबसाइटहरू हटाइसकेको र बाँकी पहिचान भएका ७०/७२ ओटा वेबसाइटमा समेत रोक लाग्ने धितालले बताए ।
के अब टिभी नहुनेले विश्वकप लाइभ हेर्नै नपाउने ? यही प्रश्न टेकपानाले कम्पनीका सञ्चालक सोम धिताललाई सोधेको छ । यो सरोकार जायज रहेको भन्दै उनले त्यसका लागि मोबाइल एपमा समेत विश्वकप फुटबलको लाइभ हेर्न सकिने व्यवस्था मिलाउन लागिएको बताए ।
“सम्भवतः हामीले यो काम सोमबार वा मङ्गलबारसम्ममा गरिसक्छौँ,” उनले भने, “हाम्रो पहिले देखिकै योजना भए पनि अदालतमा मुद्दा परेपछिको अन्यौलताले आवश्यक तयारी गर्न पाएनौँ ।”
मोबाइलेमा हेर्न सकिने सुविधा भए पनि त्यसका लागि शुल्क भने तिर्नुपर्ने छ । यद्यपि समूह चरणको पहिलो राउण्डका खेल सम्पन्न भइसक्दा ग्राहकले ५०० रुपैयाँ नै तिर्नुपर्ने हुन्छ अथवा केही छुट हुन्छ भन्ने विषय स्पष्ट भइसकेको छैन ।
आफूहरू नेटटिभीको ओटीटी एपमार्फत विश्वकप फुटबलको लाइभ हेर्न सकिने गरी काम गरिरहेको धितालले बताए । “यद्यपि डिशहोम र अन्य कम्पनीका ओटीटीको विषयमा समेत छलफल चलिरहेको छ । दर्शकले समूह चरणको खेल सम्पन्न भइसकेपछिका खेलहरू सहज किसिमले मोबाइल एपमा हेर्न पाउँछन्,” उनले अगाडि सुनाए ।
साथमा टिभी नभएका दर्शकलाई फुटबल विश्वकप हेर्न नपाउने अवस्था अन्यायपूर्ण हो । त्यसो हुन नदिनतर्फ आफूहरूको भरमग्दुर प्रयास जारी रहेको उनको भनाई छ । “हाम्रा फुटबल प्रेमी दर्शकहरूलाई अप्ठ्यारो बनाउने हाम्रो आशय होइन,” धितालले अगाडि भने, “तर जता पायो त्यता, जसले पायो त्यसले लाइभ गर्न पाउने, हेर्न पाउने भन्ने कुरा चाहिँ हुँदैन ।”
यस अघि आफूहरू समेत ओटीटी तथा वेबसाइटका लागि प्राविधिक रुपमा तयार भइनसकेको अवस्थामा पाइरेटेड लाइभ स्ट्रिमिङ हुँदा समेत चुप बसेको तर्क उनले गरे । “अब हाम्रो विकल्प एक हिसाबले तयार भएको छ । त्यसैले पाइरेटेड माध्यमलाई ब्लक गर्ने दिशामा अगाडि बढेका हौँ,” उनले भने ।