close

साढे १३ करोड खर्चेर बनाइएको थियो 'क्याडबरी डेरी मिल्क'को नयाँ लोगो

टेकपाना टेकपाना

मंसिर १३, २०७९ २०:३०

साढे १३ करोड खर्चेर बनाइएको थियो 'क्याडबरी डेरी मिल्क'को नयाँ लोगो

काठमाडौं । कतिपय साधारण कामका लागि पनि ठूला कम्पनीले लाखौँ रकम खर्च गरिरहेका हुन्छन् । बेलायती चकलेट निर्माता कम्पनी क्याडबरीले सन् २०२० मा नयाँ लोगो सार्वजनिक गरेपछि इन्टरनेटमा ट्रोलको विषय बनेको थियो ।

त्यस अघिसम्म कम्पनीले सन् १९७९ मा तयार पारिएको लोगो प्रयोग गर्दै आएको थियो । ५० वर्षपछि परिमार्जन गरिएको कम्पनीको लोगो हेर्दा उस्तै देखिन्छ ।

कम्पनीका जनसम्पर्क विज्ञ मार्क बोर्कोस्कीले द सनलाई बताए अनुसार  नयाँ लोगोका लागि १० लाख युरो (१३ करोड ६१ लाख रुपैयाँभन्दा बढी) खर्च गरिएको थियो । कम्पनीले बुलेटप्रुफ नामक एजेन्सीमार्फत यो लोगो बनाएको  थियो । 

बोर्नभिलमा (क्याडबरीले उत्पादन गर्ने गाढा कालो चकलेटको ब्रान्ड) आधारित क्याडबरीको नयाँ लोगोको डिजाइनले मानवतालाई पुनर्स्थापना गर्ने कम्पनीको विश्वास छ । क्याडबरीले आफ्ना विभिन्न उत्पादनलाई एउटै कम्पनीमा समेट्न थालेको रिब्राण्डिङका लागि उक्त लोगो परिमार्जन गरेको हो ।

आफ्ना बफादार उपभोक्ता टाढिने जोखिम कम गर्न कम्पनीले नयाँ लोगोलाई पुरानो लोगो जस्तै बनाउने निधो गरेको थियो । त्यसबेला कम्पनीले विज्ञप्ति जारी गर्दै ब्राण्ड विस्तार गर्न लोगोमा सुक्ष्म परिवर्तन गरेको जनाइएको छ ।

कम्पनीले पुरानो लोगोको गाढापन घटाएको छ । साथै पहिले छड्के देखिने लोगोलाई तेर्सो गरी राखिएको छ । अहिले पनि कतिपय उत्पादनमा कम्पनीको पुरानै लोगो देखिन्छ । कतिपय ठाउँमा भने नयाँ लोगो देखिन थालेको छ ।

सुरुवाती समयमा बेलायत, अमेरिकामा मात्र नयाँ लोगोसहितका उत्पादन उपलब्ध गराइएको थियो । अहिले भने अन्य देशमा समेत नयाँ लोगो प्रयोग गरिएका उत्पादन बजारमा आउन थालेका छन् । 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ २०:५०