close

डिजिटल प्रणालीले मन्त्रालयको कागज र पेनको बजेट ४० प्रतिशत घट्योः सञ्चार सचिव

टेकपाना टेकपाना

मंसिर १७, २०७९ ९:२८

डिजिटल प्रणालीले मन्त्रालयको कागज र पेनको बजेट ४० प्रतिशत घट्योः सञ्चार सचिव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अर्थसचिव वैकुण्ठ अर्यालले डिजिटल प्रणालीले मन्त्रालयको कागज र पेनको बजेट ४० प्रतिशत घटेको बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव अर्यालले मन्त्रालयका ९५ प्रतिशत काम डिजिटल प्रणालीबाट भइरहेको जानकारी दिए ।

''प्रविधि प्रयोगमा हामी अग्रसर छौं,'' उनले भने, ''मैले ९० प्रतिशत फाइलमा हस्ताक्षर गर्दिनँ ।'' त्यस्तै उनले आईटी बिल संसोधनका लागि खुला गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै उनले अन्य साझेदारहरुसँग सहकार्यमा यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै निजी क्षेत्रलाई पनि डेटा सेन्टर बनाउन नीति निर्माणको प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।  

सो अवसरमा बोल्दै नेपाल सरकारका मुख्यसचिव डा. शंकरदास वैरागीले देशको विकासका लागि उद्योग क्षेत्रको विकास नभएसम्म देशको विकास हुँदैन भन्नेमा सरकार सजग रहेको बताए । पूँजीगत खर्चको अंश अपेक्षाकृत रुपमा हुन नसकिरहेको भन्दै उनले पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन आग्रह गरे ।

“नीतिगत सुधार गर्न कहाँ हस्तक्षेप गर्नुपर्छ, त्यहाँ निजी क्षेत्रबाट सुझावको अपेक्षा गरेका छौं” उनले भने, “सरकारले लिएका योजना तथा कार्यक्रम सुधार सहि दिशामा छ की छैन, ठिक मार्गमा छ की छैन भन्नेमा इमादारिताका साथ हेर्नुपर्छ ।” 

पछिल्लो अध्यावधिक: मंसिर २०, २०७९ १४:४९