close

अधिकांश अनलाइन ठगीमा अर्काकै सिमकार्ड दुरुपयोग, कमजोरी कसको ?

टेकपाना टेकपाना

पुस ३, २०७९ १७:६

अधिकांश अनलाइन ठगीमा अर्काकै सिमकार्ड दुरुपयोग, कमजोरी कसको ?

काठमाडौं । अधिकांश अनलाइन ठगीमा अर्काको सिमकार्ड दुरुपयोग हुने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भएका अधिकांश उजुरीबाट यस्तो तथ्य बाहिर आएको हो ।

साइबर अपराधमा पक्राउ पर्ने अधिकांशबाट बरामद गरिएका सिमकार्ड अरुकै नामबाट भएको प्रहरीको निष्कर्ष छ । "हामीले पक्राउ गरेका अधिकांश पीडकहरूले अन्य कसैको सिमकार्ड प्रयोग गरिरहेको देखिन्छ," कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला भन्छन् ।

यसअघि मंसिर २८ गते अनलाइन बेटिङ साइटबाट सट्टेबाजी गराउन सक्रिय रहेका एक एजेन्ट पक्राउ परेका थिए । प्रहरीले ती व्यक्तिबाट ९४ ओटा एनसेल तथा स्मार्टसेलका सिमकार्ड बरामद गरेको थियो ।

त्यस्तै अनुसन्धानबाट उनले सिमकार्ड प्रयोग गरी ४८५ डिजिटल वालेट खोलेको समेत देखियो । प्रहरी उपरीक्षक कोइरालाले अर्काको नाममा सिमकार्ड झिकेर दुरुपयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न मोबाइल सेवा प्रदायकले सिम वितरण गर्दा फिङ्गरप्रिन्ट राख्नु पर्ने आवश्यकता औंल्याए ।

“तर, कम्पनीहरूले त्यतिका सिमकार्ड आधिकारिक व्यक्तिको उपस्थिति बिना कसरी वितरण गरिरहेका छन् ?‍ यस विषयमा नियामक निकाय दूरसञ्चार प्राधिकरणले पनि  सक्रिय रूपमा ध्यान दिन आवश्यक छ,” उनले भने ।

आधिकारिक व्यक्तिको उपस्थिति बिना सिमकार्ड वितरण गर्ने वितरकलाई कारबाही गर्नुपर्नेमा समेत डीएसपी कोइरालाले जोड दिए । "स्रोत नखुलेका सिमकार्ड कुन वितरकले वितरण गरिरहेको छ भन्ने कुरा मात्र दूरसञ्चार प्राधिकरणले ख्याल गर्ने हो भने अनलाइनबाट हुने ठगी न्यूनीकरण गर्न सकिन्छ," उनले अगाडि थपे ।

त्यस्तै अनलाइबाट ठगी हुनुका पछाडि डिजिटल वालेटको समेत भूमिका रहेको कोइरालाको विश्लेषण छ । "कुनै पनि ग्राहकको केवाईसी भेरिफाई गर्दा नागरिकता र फोटो मात्र हेरिन्छ," उनले भने, "यसमा त पीडकले पहिले नै सबै कुरा जम्मा गरिसकेको हुन्छ । त्यसैले उनीहरूले भिडिओ केवाईसी सेवा सञ्चालन गर्नुपर्छ । त्यसमा पनि विविध तरिका अपनाएर भेरिफाई गर्नुपर्छ ।"

यस विषयमा डिजिटल वालेटहरू कम्पनीहरूलाई बारम्बार भनिरहँदा पनि नमानेको उनको गुनासो छ । "हामीले डिजिटल वालेट कम्पनीलाई भिडिओ केवाईसी सेवा ल्याउन कति अनुरोध गर्‍यौँ । ग्राहक घट्ने लोभले उहाँहरू मान्नु हुन्छ," उनी भन्छन्, "यता डिजिटल वालेटले कसरी काम गरिरहेका छन् भन्ने कुरामा राष्ट्र बैंकले पनि नियमन गर्नुपर्ने हो ।"

त्यसो त पीडकहरू ठगी गर्ने माध्यम मात्र हुन्छन् । यस्ता ठगी कार्यमा सबैभन्दा बढी जिम्मेवार सम्बन्धित पीडित व्यक्ति नै हुने प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।

सार्वजनिक प्लेटफर्ममा व्यक्तिगत विवरणहरू राख्दा अनलाइन ठगी गर्नेहरूले त्यसको फाइदा उठाउँछन् । तसर्थ इन्टरनेटमा कुनै पनि विवरण राख्दा सचेत रहन उनको अनुरोध छ ।

"अनलाइनमा कसैले माया प्रेम गर्छु भन्ने बित्तिकै आँखा चिम्लेर विश्वास गर्ने बानी छ । झन् विदेशी नामबाट प्रस्ताव आउँदा त मानिहरू केही नसोची प्रस्ताव स्वीकार्छन् । अनलाइन ठगीका लागि आउने उजुरी यस्तै घटनासँग सम्बन्धित हुन्छन्," उनले भने ।

"जबसम्म मानिसहरू आफैँ यस्ता घटनाबाट सचेत हुँदैनन्, तबसम्म न प्रहरीको केही लाग्छ न अन्य कसैको ।" बढ्दो अनलाइन ठगीका पछाडि विभिन्न कमजोरीहरू रहेका छन् । जसले गर्दा न प्रहरी उनीहरूलाई कानूनको दायरामा ल्याउन सक्छ न त पक्राउ गर्न नै ।

"अनलाइन ठगी भयो भनेर उजुरी परेमा हामी सबैभन्दा पहिले पीडकले प्रयोग गरेको सिमकार्डको नम्बर तलासी गर्छौँ," कोइराला भन्छन्, "अनुसन्धान गर्दा एउटै व्यक्तिले अन्य सयौं मानिसको नामबाट सिम निकालेको पाइन्छ ।"

यसरी अनलाइनबाट हुने ठगी न्यूनीकरण गर्नका लागि प्रहरी मात्र नभइ नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्र बैङ्क सक्रिय हुनुपर्नेमा प्रहरी उपरीक्षक कोइरालाको जोड छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०७९ २१:५९