close

अन्य सामाजिक सञ्जालको लिङ्क शेयर गर्ने ट्वीटर अकाउन्टमाथि प्रतिबन्ध !

टेकपाना टेकपाना

पुस ५, २०७९ ९:५१

अन्य सामाजिक सञ्जालको लिङ्क शेयर गर्ने ट्वीटर अकाउन्टमाथि प्रतिबन्ध !

काठमाडौं । ट्वीटरले फेसबुक, इन्स्टाग्राम, मास्टडन, ट्रुथ सोसल, ट्राइबल लगायतका आफ्ना प्रतिद्वन्द्वी सामाजिक सञ्जाल प्लेटफर्महरू प्रवर्द्धन गर्ने अकाउन्टहरूमा प्रतिबन्ध लगाउन सुरु गरेको छ । आफ्नो बाहेक अन्य सामाजिक सञ्जालको लिङ्क शेयर गर्ने प्रयोगकर्ताको अकाउन्टमा ट्वीटरले प्रतिबन्ध लगाउने भन्दै आफ्नै अकाउन्टमा पोस्ट गरेको थियो । योसँगै कम्पनी पुन: एकपटक विवादमा तानिएको छ ।

तर विवादमा तानिएपछि ट्वीटरले त्यस्ता अकाउन्टमा प्रतिबन्ध लगाउने भनिएको पोस्ट नै डिलिट गरेको छ । पोस्ट डिलिट गरेपछि कम्पनीले अर्को ट्वीट राख्दै बाह्य लिङ्क शेयर गर्ने त्यस्ता अकाउन्टमाथि प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने भोटिङ पोल राखेको छ । यस्तो निर्णय लिएपछि कम्पनीको आलोचना हुन थालेको थियो ।

एक ट्वीटर प्रयोगकर्ताको ट्वीटमा रिप्लाई गर्दै मस्कले लेखेका छन्, "ट्वीटरमा अन्य प्लेटफर्मको विज्ञापन गर्ने अकाउन्टमा प्रतिबन्ध लगाउने योजना बनाएका हौं ।"

ट्वीटरले वाह्य लिङ्क शेयर गर्नेहरूको अकाउन्ट प्रतिबन्ध लगाउँदाको प्रारम्भिक घटनाक्रम:

मानिसहरू फिफाविश्वकपको माहोलमा व्यस्त भइरहेको अवस्थामा ट्वीटरले एकाएक अन्य लिङ्क शेयर गर्ने अकाउन्टमाथि प्रतिबन्ध लगाउन थालेको थियो । विशेषगरी फेसबुक, इन्स्टाग्राम, मास्टडन, ट्रुथ सोसल, ट्राइबल, नोस्ट्र र पोष्ट लगायतका सामाजिक सञ्जालको अकाउन्ट शेयर गर्ने ट्वीटर ह्याण्डलमाथि प्रतिबन्ध लगाएको थियो ।

"हामीलाई थाहा छ हाम्रा धेरै प्रयोगकर्ताहरू अन्य सामाजिक सञ्जालका प्लेटफर्महरूमा सक्रिय हुन सक्छन् । तर ट्विटरले अब आफ्नो प्लेटफर्ममा अन्य सामाजिक सञ्जालका प्लेटफर्महरूको नि: शुल्क प्रचार गर्न अनुमति दिने छैन, " ट्वीटरले आफ्नो पोलिसी पेजमा उल्लेख गरेको थियो ।

अहिले कम्पनीले भोटिङ पोलबाट प्राप्त नतिजालाई आधार मान्दै उक्त सेवा पुनः ल्याउने वा नल्याउने भन्ने निर्णय गर्ने बताएको छ । 

पछिल्लो अध्यावधिक: पुस ५, २०७९ १०:५१