close

कानूनी रूपमा कहिले दर्ता होला इनड्राइभ ?

टेकपाना टेकपाना

पुस ६, २०७९ २०:२६

कानूनी रूपमा कहिले दर्ता होला इनड्राइभ ?

काठमाडौं । करिब एक वर्षयता राइड हेलिङ सर्भिसमा चर्चामा आएको नाम हो, इनड्राइभ । काठमाडौं उपत्यकामा सेवा दिइरहेको इनड्राइभमा चालक र यात्रु दुवै थपिने क्रममा छन् । यस एपको विशेष फिचर भनेकाे यात्रुले आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरूबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्छन् । अर्कोतर्फ राइडरले आफ्ना लागि कुन भाडा उपयुक्त छ भनेर छनाेट गरी राइड स्वीकार गर्न सक्छन् ।

यतिमात्रै नभइ राइडरले इनड्राइभलाई कुनै कमिसन बुझाउनुपर्दैन । यिनै केही विशेषताका कारण इनड्राइभ चर्चामा रहेपनि यो कम्पनी नेपालमा कानूनतः दर्ता छैन । इनड्राइभ अवैधानिक रूपमा सञ्चालन भइरहेको भन्दै यो विषय अदालतमा समेत पुग्यो । तैपनि इनड्राइभको सेवा रोकिएको छैन ।

पूर्णरूपमा नेपालको नियम कानून पालना गरी कम्पनी दर्ता गर्ने भने पनि महिनाैंदेखि इनड्राइभ अवैधानिक रूपमै चलिरहेको छ । तर कम्पनीले आफू कानूनी रूपमा चल्न प्रयासरत रहेको जानकारी दिएको छ ।

इनड्राइभकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले एक विज्ञप्ति जारी गर्दै कम्पनी दर्ता प्रक्रियाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको उल्लेख गरिन् ।

''सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम इनड्राइभ नेपालमा कानूनी संस्था दर्ता गराउने प्रक्रियामा छ । हामीले १७.१०.२०२२ मा आवश्यक विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाएका छौँ । यद्यपि संस्था दर्ता प्रक्रियाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको छ,'' उनले भनेकी छन् ।

सरकारी निकायहरूले कम्पनीको दर्ता प्रक्रियालाई सहज र तीव्रता प्रदान गर्ने अपेक्षा पनि उनले राखेकी छन् । उनले कम्पनीको रूपमा इनड्राइभले कुनै आम्दानी र नाफा नकमाएको स्पष्ट पारिन् ।

''हामीले चालकबाट कुनै कमिसन लिँदैनौँ । यसबाहेक, इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको छ,'' विज्ञप्तिमा भनिएको छ । इनड्राइभले यात्रु र चालक दुवैका लागि सेवालाई सुरक्षित बनाउन प्रयास गरेकाे उनकाे दाबी छ ।

''दु:खका साथ भन्दा,  विश्वव्यापी रूपमा नै ट्याक्सी व्यवसाय जोखिमयुक्त र खतरनाक हुनसक्छ, तर राइड हेलिङको आधारभूत विशेषताहरू जस्तै; सवारीहरू ट्र्याक गर्न सकिन्छ र अर्डरहरू सङ्कलन गर्न सकिन्छ भन्ने तथ्यले निश्चित जोखिमहरू कम गर्न सहयोग गर्छ । हाम्रो एपले आफैंमा सुरक्षा प्रवर्द्धन गर्ने सुविधा पनि समावेश गर्छ, जसमा स्थान–साझेदारी सुविधा र स्थानीय पुलिससँग सीधै जोडिनसक्ने गरी आपत्कालीन कल बटन समावेश गरिएको  छ ।''

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ १७:४