close

जिल्लाबाटै सहज रुपमा राहदानी पाउने व्यवस्था ल्याउँछौंः लामिछाने

टेकपाना टेकपाना

पुस १४, २०७९ ८:२६

जिल्लाबाटै सहज रुपमा राहदानी पाउने व्यवस्था ल्याउँछौंः लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई जिल्लाबाटै सहज रुपमा राहदानी वितरण गरिने बताएका छन् । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर सेवाग्राही र विभागका अधिकारीसँग कुरा गरेपछि उनले अनलाइनबाट राहदानी आवेदन प्रक्रिया सहज बनाउन निर्देशन दिए ।

उनले एकैपटक धेरैले राहदानीका लागि आवेदन दिँदा समस्या आएकाले हतार भएका सेवाग्राहीले मात्र राहदानी विभागमार्फत राहदानी लिन आग्रह गरेका छन् । अनलाइन प्रणालीलाई चुस्त बनाएर १५ दिनभित्र जिल्लामै राहदानी उपलब्ध गराउन उनले निर्देशन दिए ।

''राहदानी विभागमा क्षमताभन्दा बढी क्राउड देखिएको छ,'' उनले भने, ''अस्पतालमा पनि इमर्जेन्सी कक्ष हुन्छ । सबै बिरामी इमर्जेन्जीमै गए भने अस्पतालको क्षमताले भ्याउँछ र ? त्यसैगरी राहदानी विभागमा राहदानीका लागि हतार भएका सेवाग्राहीहरू मात्र आउनुहोस् । यहाँ सेवाग्राहीको भीड लाग्दा सेवा प्रवाहमा समस्या आएको हो । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हाम्रो टिम लाग्छ, तपाईँहरु केही दिन धैर्य गर्नुहोस् ।''

हाल अनलाइन सेवा सुरु भए पनि कोटा प्रणालीका कारण राहदानी लिने सेवाग्राहीले फारम भर्ने नाममा अनेक झन्झट र अनावश्यक पैसा तिर्नु परेको गुनासो आउने गरेको छ  । अनलाइन फारम भरे पनि राहदानी लिने पालो महिनौँपछि मात्र आउने, तर विचौलियामार्फत एकै दिनमा राहदानी पाउने गरेका गुनासो सेवाग्राहीले गर्दै आएका छन्  । 

पछिल्लो अध्यावधिक: पुस १४, २०७९ १०:२८