close

महिला मात्रै रहेको स्टार्टअप कम्पनी

गोपाल साउद गोपाल साउद

फागुन २५, २०७६

महिला मात्रै रहेको स्टार्टअप कम्पनी

काठमाडौं इन्जिनियरिङ कलेजमा २०६९ ब्याचकी विद्यार्थी हुन् आस्था शर्मा । जहाँ ४५ जनाको कक्षामा छात्रा केवल पाँच जना मात्रै थिए । संख्यामा थोरै भए पनि उनीहरु छात्रहरुको तुलनामा अलि बढी नै शक्रीय हुन्थे ।

आफ्नै अग्रसरतामा विभिन्न इभेण्टहरु आयोजना गर्थे । अरु कक्षाका छात्राहरुलाई जम्मा पारेर केही नयाँ गर्ने प्रयासमा जुटिरहन्थे । यस्तैमा उनले इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ विषयको पढाई पुरा गरेर केही महिना अघिदेखि मात्र कोड रस नामक स्टार्टअप कम्पनी सुरु गरेकी छिन् ।

‘बिहान ६ बजेदेखि कक्षा सुरु हुन्थ्यो, ३–४ बजे तिर मात्रै सकिन्थ्यो । कलेजको पढाई सकिएर काम गर्न थाल्दा मात्रै थाहा भयो, प्रायः अरु त सबै फस्ट इयरदेखि नै काम गरिरहेका हुँदा रहेछन् । त्यतिखेर त यस्तो लाग्यो हामीले त बाहिरी संसार देखेकै रहेन छौँ,’ आस्था आफ्नो अनुभव सुनाउँछिन् ।

गर्ल्स ईन टेक्नोलोजी नामक स्थानीय एक कम्युनिटी छ । त्यसमा हामी सन् २०१५ देखि नै आवद्ध भइन् । त्यसमा सहभागी हुँदा थाहा पाइन्, आफ्नो मात्रै नभएर सबैतिरका महिलाको समस्या उस्तै रहेछ ।

एक त सूचना प्रविधिको क्षेत्रमा निकै थोरै संख्यामा मात्र महिलाहरु छन् । भएका पनि बिचमै हराउने अवस्था छ । ‘यो फिल्ड आफ्ना लागि होइन कि भन्ने लाग्दो रहेछ,’ उनी भन्छिन्, ‘सचेतनामुलक कार्यक्रममा सहभागी भएर मात्रै नहुँदोरहेछ भन्ने लाग्यो, हुन्थ्यो । कार्यक्रमबाट फर्किसकेपछि जहिल्यै अब के भन्ने प्रश्न मनमा अनुत्तरित भएर बसिरहन्थ्यो ।’ प्रविधि विषय अध्ययन गर्ने महिलाहरुका लागि जगिरका लागि अप्लाई गर्ने कुरा नै ठूलो भइदिन्छ । स्किलकै कुरा गर्ने हो भने पनि केटा र केटीबीच निकै फरक हुने आस्थाको बुझाई छ ।

‘किन भने हामी छोरी मान्छेलाई सानै देखि भिन्नै तरिकाबाट हुर्काइएको हुन्छ । जसले गर्दा केटाहरुलाई ‘म सक्छु’ भन्ने आत्मविश्वास भीत्रैदेखि आउँदो रहेछ । उनीहरुलाई थोरै मात्र थाहा छ भने पनि सक्छु भन्न हिच्किचाउँदैनन् । तर केटी मान्छे भने अलि पर्फेक्टनिस्ट हुन खोज्छन् । उनीहरु शतप्रतिशत नजान्दासम्म ‘सक्छु’ भन्नै सक्दैनन्,’ प्रविधि क्षेत्रका सयौं महिलाका अनुभवका आधारमा उनी भन्छिन्, ‘केटा मान्छे अगाडि बढेको देख्दा उनीहरुलाई सुरु देखि नै आउँदो रहेछ भन्ने भान केटीहरुलाई परिरहेको हुन्छ ।’

यस किसिमको कमजोर मानसिकताबाट महिलाहरुलाई माथि उठाउन र आत्मविश्वास भर्न आस्थाले आफ्नो समय खर्च गरिरहेकी छन् । तालिम दिए पनि पर्याप्त हुँदैन । जागिरका लागि इन्टरभ्यू नै फेस गर्न नसक्ने, आफ्नो स्किल सेटहरु भन्नै नसक्ने समस्या धेरैमा रहेको आस्था बताउँछिन् ।

महिलाहरुमा आवश्यक स्किलसेटहरु विकास गरेर उनीहरुलाई बाटो देखाइदिन सकियो भने अगाडि बढ्न सक्छन् भन्ने उनले बुझेकी छन् । ‘हामीले त्यसैका लागि नै कोड रस कम्पनी सुरु गरेका हौँ,’ उनी भन्छिन् ।

कोड रसले भर्खरै स्पेनको एउटा कम्पनीसँग मिलेर ह्याकाथन कार्यक्रम सम्पन्न गरेको छ । जसबाट एक जना विजेताले स्पेनको सुविधासम्पन्न विश्वविद्यालयमा पढ्ने अवसर पाएकी छन् । तर, नेपालका प्रायः कलेजमा शैद्धान्तिक पढाई मात्रै जोड दिने गरिन्छ । स्किल सिकाउने कुरामा पर्याप्त मात्रामा ध्यान दिइएको हुँदैन ।

रियल लाईफमा कसरी कोडिङ गर्ने भन्ने पनि थाहा हुँदैन । कलेजमा प्रोजेक्टहरु गर्दा पनि सिनियरहरुले गरेकै आधारमा पुरा गर्ने परिपाटी विकास भएको छ । कलेजहरुले स्किल सेट विकासमा सहयोग नगर्नुमै महिलाहरु प्रविधि क्षेत्रमा अगाडि आउन नसक्नुको एउटा महत्वपुर्ण कारण भएको आस्थाको बुझाई छ ।

त्यसैले उनको कोड रसले त्यही अभाव पूर्ति गर्न बिहानदेखि बेलुकासम्म कार्यालयमा स्किल सिकाउने कार्यको थालनी गरेको छ । केटी मान्छेको लागि घर बसेर पढ्ने कुरा त्यति सम्भव हुँदैन । चाहेर वा नचाहेर घरायसी काम काजमा अल्झिनुपर्ने आम नेपाली चेलीहरुको विवशता नै हो । घरमा काम नगर्ने हो भने छोरी मान्छेलाई हेर्ने घरपरिवारको नजर नै फरक पर्छ ।

शिलस्वभावका हिसावले अलि नराम्रो रुपमा हेर्न थालिन्छ । ‘त्यसैले पनि हामीले बिहानदेखि बेलुकासम्म यहिँ राखेर सिकाउनुपर्ने आवश्यकता देखेका छौँ,’ आस्था भन्छिन् । ट्रेनिङले मात्रै हुँदैन भन्ने कुरा उनले राम्रैसँग बुझेकी छन् । त्यसैले तालिम अवधिमा कुनै एउटा प्रडक्टमा काम गर्न लगाउने र यसै आधारमा इन्टर्नको रुपमा विभिन्न कम्पनीमा पठाउने योजना उनको कम्पनीले बनाएको छ ।

सँगै पढेका धेरै जसो साथीहरु विदेश गइसके । नेपाली विद्यार्थीहरुमा ‘सुरुमा गए पनि बाहिरै जाने हो, पढाई पुरा गरेर गए पनि बाहिरै हो’ भन्ने किसिमको संस्कार बसिसकेको छ । ‘सँगैका साथीहरु सबै बाहिर हुँदा मैले प्रायः सुन्नुपर्ने प्रश्न तिमी चाहिँ किन बाहिर नगएको ? भन्ने नै हो,’ आस्था आफ्नो अनुभव सुनाउँछिन् ।

गर्ल्स ईन टेक्नोलोजीकै कार्यक्रमहरु सहभागी हुने क्रममा रोजिना बज्राचार्य उनको भेटघाट र चिनजान भयोे । तिनै रोजिनासँग मिलेर उनले कोड रस सुरु गरेकी हुन् । कम्पनी खोलेको चार महिना मात्रै भयो ।

कलेज सकाएर केही समय डिजिटल मार्केटिङ सम्बन्धि स्टार्टअप कम्पनीमा काम गरेकी आस्थाले त्यहाँ छँदा कम्पनीको सबै गतिविधिमा संलग्न रहनुपर्यो । त्यसैले नै छोटो समयमा स्टार्टअप सुरु गर्ने महत्वाकांक्षा उनमा सवार भयो ।

हुन त सबै स्टार्टअपहरुले व्यहोर्ने समस्या कोड रसले पनि भोगिरहेकै छ । गर्ल्स ईन टेकमा समेत काम गरिरहेकी उनले महिलाहरुलाई मात्र काममा संलग्न गराउने हिसावले सुरु गरेको कम्पनीको नेतृत्व गरिरहेकी छन् । कार्यक्रमहरुमा सहभागी हुँदै गर्दा प्रविधि क्षेत्रका महिलाले भोग्नु परेका अप्ठ्याराले आस्थालाई निकै छुने गर्दथ्यो ।

त्यसैको प्रभाव स्वरुप हुनुपर्छ उनमा महिलाहरुलाई प्रविधि क्षेत्रमा क्रियाशिल र स्थापित हुन महिलाहरु मात्र रहने कम्पनी सुरु गर्न हौस्यायो । थुप्रै इभेन्टहरु भइरहेका हुन्छन् । तर ती इभेन्टहरुमा महिलाको सहभागिता एकदमै न्यून, अझ भनौँ केहीमा त शून्य प्रायः हुने गर्छ । तर, गर्ल्स ईन टेकका कार्यक्रमहरुमा भने अनेकतिरबाट प्रविधि क्षेत्रका विद्यार्थी देखि प्रोफेशनल महिलाहरु सहभागी हुन आइपुग्छन् ।

‘महिला मात्र हुँदा सुरक्षित र सहज महसुस हुने भएरै त्यस्ता कार्यक्रममा महिलाहरुको सहभागिता बढी हुने गरेको हो,’ उनी भन्छिन्, ‘त्यसैले नै महिला मात्र भएको कम्पनी हुँदा यसक्षेत्रमा महिलाहरुलाई आउन सहज हुने हाम्रो विश्वास हो ।’

प्रविधि विषय अध्ययन गरेका महिलाहरुलाई एप्लिकेसनको सम्म ज्ञान हुँदैन । यस्तो अवस्थामा उनीहरुलाई काममा राख्न कुनै कम्पनी तयार नहुनु स्वभाविक नै हो । यो शिक्षा प्रणालीले नै निम्त्याएको समस्या भएको उनको भनाई छ । ‘कलेजमा सिकाइँदैन भनेर दोषारोपण गरेर मात्रै भएन । त्यसैले स्किलसेटको विकास गर्ने अभियानको रुपमा हामीले कम्पनी सुरु गरेका हौँ,’ उनी भन्छिन्, ।

अहिले कम्पनीमा दुई जना सहसंस्थापक सहित पाँच जनाको टिम छ । कम्पनीले ‘टेल टेल लेडी’ नामक ब्लग सुरु गरेको छ । जसमा विश्वभर प्रविधि क्षेत्रमा लागेका महिलाका कथाहरु समेट्ने लक्ष छ । सफ्टवेयर कम्पनी भए पनि अहिले बजारमा कुनै उत्पादन पुगिसकेको भने छैन ।

१२ जनालाई फेलोशिपमा कोडिङको तालिम दिने तयारीमा कम्पनी लागिरहेको छ । उनीहरुकै सहयोगमा प्रडक्ट बनाएर बजारमा लैजाने योजना रहेको आस्था बताउँछिन् । वेब, मोबाइल एप्लिकेसन, डिजिटल मार्केटिङ, लगायतका सबै किसिमका आईटी सोलुसन सेवाहरु दिने कम्पनीको योजना छ ।

फेलोशीपमा आउनेहरुलाई कम्पनीमै जागिर पाउनेछन् । आस्था भन्छिन्, ‘यहिँ काम गर्नुपर्छ भन्ने छैन । सक्षम भइसकेपछि इच्छाएको कम्पनीमा जान उहाँहरु स्वतन्त्र हुनुहुन्छ । तर हामी सुरुमै प्रडक्ट बनाएर जाने भन्दा पनि तालिम दिएर प्रडक्ट बनाउने योजनाका साथ अगाडि बढिरहेका छौँ ।’

तलब बढाउने, भन्न चाहेर पनि कतिपय कुरा हरु भन्न नसक्ने अवस्थामा महिलाहरु गुज्रिरहेका हुन्छन् । त्यस्ता स्किलहरु पनि सिकाइने उनको भनाई छ । आईटी कम्पनीहरु महिलामैत्री नभएका कारण उनीहरुको सहभागीता न्युन भएको भन्ने पनि होइन ।

तर, महिलाहरुको हुर्काई र सिकाईले खुम्चिएर बस्ने स्वभाव विकास भएको आस्थाको बुझाई छ । विहे पछि त झन् कति महिलाहरुलाई घरबाटै बाहिर निस्किन नपाउने सम्मको अवस्था हुन्छ ।

‘खुलेर नबोल्नु, नचिच्याउनु, भन्ने हिसावले हामीलाई सिकाइएको हुन्छ,’ उनी भन्छिन्, ‘कति जना केटीहरुलाई घरबाट निस्किने कुरा पनि निकै ठूलो विषय बनिरहेको हुन्छ । घरबाट निस्किएपछि कतिखेर फर्किने भन्ने पारिवारिकको प्रश्नले लखेटिरहन्छ । यो एउटा बन्धनको अवस्था नै हो ।’

केटा मान्छे जस्तो केटी मान्छे एक्लै हिँड्न नहुने, हिँड्नै परे साथीसँगै जानुपर्ने परिवेश कायम छ । यस किसिमको अवस्थामा एकै पटक परिवर्तन गर्न नसकिए पनि, कोड रस त्यसका लागि एउटा सानो प्रयास हुनसक्छ । समाज अनि बजारले पनि महिलाको तुलनामा पुरुषलाई नै बढी स्थान दिइरहेको हुन्छ । यस किसिमको मानसिकतामा परिवर्तन आवश्यक रहेको आस्थाको भनाई छ ।