close

प्रतिबन्ध लाग्दा समेत भारतीय कर्मचारीलाई टिकटकले दियो साढे ६ लाखसम्म बोनस

टेकपाना टेकपाना

असोज ११, २०७७ ८:२६

प्रतिबन्ध लाग्दा समेत भारतीय कर्मचारीलाई टिकटकले दियो साढे ६ लाखसम्म बोनस

काठमाडौं । भारतमा प्रतिबन्ध लागेको एप टिकटक र हेलोको अभिभावक कम्पनी बाइटड्यान्सले आफ्नो भारतीय कर्मचारीलाई लाखौं रुपैयाँ बोनस उपलब्ध गराएको छ । कम्पनीले सेप्टेम्बरको सुरुवातमै आफ्ना भारतीय कर्मचारीलाई नगद बोनस दिने बताएको थियो ।

बाइट ड्यान्सले जुलाई र अगस्टबीच फुल टाइम काम गर्ने कर्मचारीलाई एक लाख रुपैयाँदेखि साढे ६ लाख रुपैयाँसम्म बोनस दिएको हो । भारतमा बाइटड्यान्सका दुई हजारभन्दा धेरै कर्मचारी रहेका छन् ।

सँगसँगै कम्पनीले मध्यम वर्गीय कर्मचारीलाई ८० हजार रुपैयाँसम्म बोनस दिएको छ । केही दिन अघि ब्लुमबर्गमा प्रकाशित समाचारमा जुलाइ र अगस्टको बीच काम गर्ने कर्मचारीलाई बोनस प्राप्त हुने तथा जुन अगस्ट महिनाको तलवको ५० प्रतिशत हुने बताइएको थियो ।

भारत सरकारले २९ जुनमा पहिलो चरणमा ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । स्रोतको हवाला दिँदै लेखिएको समाचारमा बाइटड्यान्सले हालसम्म कुनै पनि भारतीय कर्मचारीलाई निकालेको छैन ।

न त कसैको तलव नै कटौती भएको छ । बरु एपमाथि प्रतिबन्ध लाग्दैगर्दा कम्पनीले सेल्स टिममा केही भारतीयलाई भर्ती गरेको थियो । हालै बाइटड्यान्सले एउटा ब्लग पोस्टमा टिकटकको नयाँ अमेरिकी कम्पनीमा आफ्नो ८० प्रतिशत स्वामित्व हुने बताएको छ ।

तर राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक ग्लोबलको स्वामित्व बाइटड्यान्सको नियन्त्रणमा रहेसम्म कुनै अनुमति नदिइने बताएका छन् । सँगसँगै ट्रम्प प्रशासनले शुक्रबार मात्रै लोकप्रिय भिडियो शेयरिङ एप टिकटकको डाउनलोडमा प्रतिबन्ध लगाउने योजनाबाट पछि नहट्ने बताएको छ ।

आइतबार अदालतमा यस विषयमा सुनुवाई हुँदैछ । अमेरिकी वाणिज्य विभागले एप्पल र  गुगललाई आफ्नो एप स्टोरबाट विच्याट र टिकटक हटाउन आदेश दिएको छ । तर अमेरिकी जिल्ला न्यायाधिस कार्ल निकोल्सले उक्त आदेशमाथि रोक लगाइदिएको छ ।

एजेन्सीको सहयोगमा ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०