close

क्लिन फिडसहित आईपीएलको लाइभ प्रसारण गर्दै मेरो टिभी

टेकपाना टेकपाना

कात्तिक १२, २०७७ १२:१४

क्लिन फिडसहित आईपीएलको लाइभ प्रसारण गर्दै मेरो टिभी

काठमाडौं । क्लिन फिड लागु भएसँगै अवरुद्ध इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरुको प्रसारण पुनः सुचारु हुने भएको छ । डिभाइन स्ट्रिम नेटवर्क प्रालीले स्टार स्पोर्ट्ससँगको सहकार्यमा मेरो टिभी (स्काई टिभी) मार्फत आईपीएलको लाइभ प्रसारण  गर्ने भएको हो । 

मेरो टिभीका प्रबन्ध निर्देशक प्रकाश घिमिरेका अनुसार स्टार स्पोर्ट्स इन्डियाले नै क्लिन फिड (विज्ञापन रहीत रुपमा) सहित स्टार स्पोर्ट्स वानको प्रसारण उपलब्ध गराएको छ । जसका लागि लोकल सर्भर र विशेष किसिमको सफ्टवेयर प्रयोग गरिएको घिमिरेले जानकारी दिए ।

‘दुई दिनसम्मको समय लगाएर कन्फिगर गरी क्लिन फिड सहित आईपीएल प्रसारण गर्न सक्ने अवस्थामा पुगेका छौं,’ उनले भने । 

यससँगै बुधबार दिउँसोदेखि मेरो टिभीमा स्टार स्पोर्ट्स वानको प्रसारण पुनः सुचारु भएको हो । यस अघि क्लिन फिड प्राप्त नहुँदा गत शनिबारदेखि नेपालमा आईपीएलको प्रसारण रोकिएको थियो ।   

नेपालकै प्रमुख केवल टेलिभिजन वितरकको रुपमा रहेको मेरो टिभीका हाल देशभर चार लाख ८० हजार ग्राहक रहेका छन् । मेरो टिभीमा च्यानल नम्बर ६०४ मा स्टार स्पोर्ट्स च्यानल आउनेछ । 

अरु सेवाप्रदायकले स्टार इन्डियासँग सहमति लिएको खण्डमा आफ्नै फिड दिन तयार रहेको घिमिरेले बताए । अब आईपीएलको लाइभ प्रसारण गर्ने स्टार स्पोर्ट्स च्यानलमा विज्ञापनको ठाउँमा प्रोमो बज्नेछ ।

हाललाई स्टार नेटवर्कको एउटा च्यानल मात्रै क्लिन फिडमा उपलब्ध रहेको भन्दै प्रबन्ध निर्देशक घिमिरेले अन्य च्यानलका लागि पनि संवाद चलिरहेको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०