close

कतै नेपाली प्रयोगकर्ताको डेटा बिक्री त भइरहेको छैन ?

रन्जन कोइराला रन्जन कोइराला

असार १६, २०७८ २१:०

कतै नेपाली प्रयोगकर्ताको डेटा बिक्री त भइरहेको छैन  ?

काठमाडौं । आफ्नो व्यक्तिगत जानकारी कतिसम्म महत्वपूर्ण हुन्छ भन्ने कुरा हामीले ख्याल गरिरहेका हुँदैनौ । त्यसैले त हामीले कसैले मोबाइल नम्बर माग्यो, कसैले व्यक्तिगत जानकारी माग्यो भने सहजै उपलब्ध गराउँछाैं ।

त्यसरी उपलब्ध गराइएको जानकारी केका लागि ? यो प्रश्न हामी थोरैले मात्र सोच्ने गरेका छाैं । हामीलाई लाग्छ कि मेरो मोबाइल नम्बर, मेरो नाम, मेरो ईमेल पाएकै भरमा कसैले के नै गर्न सक्छ र ?

होला उसले तपाईंको व्यक्तिगत जीवनमा हानी नपुर्‍याउला । तर, तपाईंले दिएको उक्त डेटामा कसैले व्यापार गरिरहेको हुनसक्छ । किनभने याे डेटाकाे दुनियाँ हाे । जसबाट विश्वलाई नियन्त्रण गर्न सकिने भएकाले डेटाका लागि ठूलाे लडाईं भइरहेकाे छ ।

त्यसैले सोच्नुहाेस् त, नत्र बिहान जुरुक्क उठेर मोबाइल खोल्दा, तपाईं विदेश जान चाहनुहुन्छ ? आउनुहोस् हामी आईईएलटीएस पढाउँछौ, कार किन्न चाहनुहुन्छ ? छुट दिन्छौं भनेर म्यासेज किन आइरहेको छ ?

जसले म्यासेज पठाइरहेको छ, उसले कहाँबाट तपाईंको मोबाइल नम्बर प्राप्त गरिरहेको छ ? हुन सक्छ त्यसमध्ये कतिपय तपाईंले आफ्नो स्वविवेकले नम्बर उपलब्ध गराएका कम्पनीको म्यासेज होलान् । तर, त्यसमध्ये कतिपय तपाईंसँग पूर्णरुपमा असम्बन्धित छन् र पनि तपाईंको मोबाइलमा म्यासेज आइरहको हुन्छ ।

सम्बन्धित कम्पनीबाट आएको म्यासेजले तपाईंलाई त्यति फरक नपार्ला । तर, यदि कुनै कम्पनीसँग तपाईं जोडिनु नै भएको छैन । तपाईंको उक्त कम्पनीसँग कुनै सम्बन्ध नै छैन । तपाईंले त्याे कम्पनीलाई मोबाइल नम्बर दिनुभएको छैन भने उसले कहाँबाट मेराे जानकारी प्राप्त गर्‍याे भन्ने कुरा सोचनीय हुन्छ ।

मोबाइल नम्बर तथा पाँच नम्बरको शर्ट कोडमार्फत आउने यस्ता म्यासेजले धेरै मोबाइल प्रयोगकर्तालाई दिक्कै पार्न थालेको छ ।

हो, सरकारले दिने सार्वजनिक सरोकारका सूचना त्यसरी आउनु स्वभाविक नै मान्न सकिएला । देशका नागरिकलाई दिइने सूचनामा सबैको पहुँच हुनु नै पर्छ ।

त्यस्तो अवस्थामा आउने म्यासेजले केही अर्थ पनि राख्छ । तर, यहाँ त हुन्डाइ कारको फेस्टिभ अफर सुरु भयो , अफरमा ठूलो छुट छ रे । होण्डाको बाइकमा एक्सचेन्ज अफर चलिरहेको छ । लकडाउन खुकुलो भाे, अब हाँमी खुवाउँछौ मिठो खाना रे, यो ‘लभ मन्थ हो’ राम्रो ब्रेकफास्टका साथ भ्यालेन्टाइन मनाउन आउनुहोस् रे ।

यो म्यासेज कुनै जोडीलाई जाँदा त ठीकै होला तर, मायामा धोका पाएर बसेको मान्छेमा पुग्यो भने के हुन्छ ?

तर, यसरी असम्बन्धित म्यासेज कसरी आइरहेको छ ? यसको अर्थ पक्कै पनि तपाईंको जानकारीमा व्यापार भइरहेकाे छ ।

हामीमध्ये धेरैले आफैं होस् या आफन्त साथिभाइको, मोबाइल म्यासेजबाट एसईईको रिजल्ट चेक गरेको हुनुपर्छ । तपाईंले आज एसईईको रिजल्ट मोबाइल एसएमएसबाट चेक गर्नुभयो भने त्यसको केही दिन नबित्दै तपाईंको म्यासेजमा ‘प्लस टु’ कलेजको विज्ञापनयुक्त म्यासेज आउँछ । जसमा कलेजको वातावरण राम्रो छ, राम्रा शिक्षक छन, तपाईंलाई यति प्रतिशत छुट उपलब्ध हुन्छ भनेर पठाइएको हुन्छ ।

तपाईं गाउँमा बस्नुहुन्छ । सहरका कुनै पनि कलेजमा आजसम्म पुग्नु भएको छैन । तर तपाईंलाई कलेजबाट म्यासेज आइरहेको छ ।

यसको अर्थ के हो त ? तपाईंले केही दिनअघि म्यासेजबाट रिजल्ट जाँच गर्नुभएको थियो । जुन सेवाप्रदायकको म्यासेज तपाईंले प्रयोग गर्नुभएको छ, उसले तपाईंको मोबइल नम्बर र नाम संकलन गरी विद्यालयलाई विज्ञापन गर्न डेटा उपलब्ध गराइरहेको छ । डेटा उपलब्ध नगराएको भएता पनि उसले कलेजसँग व्यापार गरेर तपाईंको मोबाइलमा म्यासेज दिइरहेको छ ।

यो त एउटा उदाहरण मात्रै हो । तपाईं बैंकको प्रयोगकर्ता हुनुहुन्छ । तपाईंलाई बैंकसँगको सहकार्यमा भन्दै केक पसलबाट जन्मदिनमा शुभकामना म्यासेज आउँछ ।

सोच्नुहाेस् त अब त्यहाँ त तपाईंको नाम, तपाईको जन्ममिति, तपाईंको मोबाइल नम्बर सबै दुरुपयोग भइरहेको छ । कोभिड-१९ पश्चात धेरैको मोबाइलमा केही अस्पतालले कोभिड–१९ पोस्ट कोभिड प्याकेज उपलब्ध भएको भन्दै जानकारी दिइरहेका थिए ।

यसरी असम्बन्धित ठाउँबाट म्यासेज आउनुले पक्कै पनि नेपालमा नेपाली प्रयोगकर्ताको डेटा बिक्री भइरहेको अर्थ्याउँछ । सूचना प्रविधि क्षेत्रका कानूनीविज्ञ सन्तोष सिग्देल भन्छन, ‘प्रयोगकर्ताको मन्जुरी बिना मोबाइल तथा ईमेलमा विज्ञापन गर्न नपाउने भनी विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐनले सम्बोधन त गरेको छ । तर, अब डेटा प्रोटेक्सनको कुरा आएको छ ।

हामीले कुनै कम्पनीलाई एउटा प्रयोजनका लागि उपलब्ध गराएको जानकारी उसले केमा प्रयोग गरिरहेको छ ? उसले त्यसरी लिएको जानकारी अन्य प्रयोजनका लागि प्रयोग गर्न पाउँछ पाउँदैन भन्ने विषयलाई कानूनीरुपमा सम्बोधन गर्न आवश्यक छ ।

यस्ता घटना नेपालमा बढी प्राइभेट कम्पनीसँग सम्बन्धित देखिएका छन् । त्यसैले सरकारले कुनै प्रयोगकर्ताको जानकारी सम्बन्धित प्रयोजनका लागि भन्दा अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न नपाउने कडा कानून ल्याउन आवश्यक रहेको अर्को कानूनीविज्ञ टंक अर्याल बताउँछन् ।

उनका अनुसार त्यसका लागि डेटा प्रोटेक्सन सम्बन्धित छुट्टै कानून आवश्यक छ । कानूनीरुपमा यसलाई सम्बाेधन गर्न सकेको खण्डमा प्रयोगकर्ताको डेटा सुरक्षित हुनसक्ने अवस्था रहन्छ । नत्र भने यसरी नै सधै प्रयोगकर्ताको डेटामाथि व्यापार नै हो ।

अन्य मुलुकमा डेटा प्राेटेक्सनलाई महत्वपूर्ण विषयकाे रुपमा लिने गरिएकाे छ । अमेरिकाको टेलिफोन उपभोक्ता संरक्षण ऐनले ग्राहकको स्वीकृति बिना यस्ता म्यासेज मोबाइलमा पठाउन नपाउने व्यवस्था गरेको छ । यतिसम्म कि कुनै व्यक्तिले मोबाइल नम्बर उपलब्ध गराएको तथा उसको उक्त व्यवसायसँग सम्बन्ध भएको अवस्थामा समेत यस्ता विज्ञापनयुक्त म्यासेज पठाउन लिखित सम्झौता भएको हुनुपर्छ ।

अन्यथा त्यस्ता म्यासेज पठाउन पाइँदैन । त्यस्तै क्यानडाको एन्टी–स्पाम कानूनअनुसार यदि कसैले म्यासेज मार्केटिङ गर्छ भने उसले तीन वटा प्रावधानको पालना गर्नुपर्ने हुन्छ । जसमा म्यासेज प्राप्त गर्ने व्यक्तिसँग लिखित स्वीकृति लिनुपर्ने हुन्छ । दोस्रो पठाउनेको पहिचान खुल्ने गरी म्यासेज पठाउनुपर्छ । साथै उक्त म्यासेजमा अनसब्स्क्राइब गर्न मिल्ने विकल्पसमेत दिनुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५