close

ई–सिम ल्याउँदै नेपाल टेलिकम, एक वर्षमा कूल ८० लाख सिम भित्र्याउने तयारी

रन्जन कोइराला रन्जन कोइराला

असार २९, २०७८ १३:२६

ई–सिम ल्याउँदै नेपाल टेलिकम, एक वर्षमा कूल ८० लाख सिम भित्र्याउने तयारी

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने भएको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेको चिप जडित सानो कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने  ई–सिम उपलब्ध गराउने भएको हो ।

यसका लागि नेपाल टेलिकमले आफ्नो आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई–सिमको प्लेटफर्म’ राखेर योजना कार्यान्वयनमा ल्याउनेछ । जसअनुरुप आगामी आर्थिक वर्षभित्र ई-सिम सहित कूल ८० लाख सिम भित्र्याउने कम्पनीको तयारी छ । 

जसमध्ये ७५ लाख सिम कार्डको लागि टेन्डर भइसकेको कम्पनीकी निर्देशक मिनु प्रधानले जानकारी दिइन् । ‘बाँकी ई-सिम ल्याउने विषय भने हाम्रो नयाँ योजना हो,’ उनले भनिन्, ‘जसमा एक देखि डेढ लाखसम्म ई-सिम ल्याउने कुरा छ ।’

ई-सिमका लागि आफ्नै प्लेटफर्म बनाउने अथवा बाहिरबाट खरिद गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको टेलिकमले जनाएको छ ।टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भने, ‘अबको प्रविधि नै ई–सीमको हो । त्यसैले नै कम्पनीले आउँदो आर्थिक वर्षमा ई–सीम सुरु गर्ने तयारी गरेको हो ।’

त्यसो त विश्वका कतिपय देशका मोबाइल सेवाप्रदायकले ई–सिम सपोर्ट गर्ने सिस्टम बनाइसकेका छन् । भारतमै पनि एयरटेल र जियो जस्ता कम्पनीले समेत यस्तो सपोर्ट उपलब्ध गराउन थालिसकेका छन् ।

हाल एप्पलको आईप्याड प्रो, एप्पल वाच सिरिज थ्री, वाच सिरिज फोर, सिरिज फाइभ, आईफोन एक्स र एक्स एस म्याक्स, आईफोन एक्स आरका साथै आईफोन इलाभेन र ट्वेल्भ सिरिजका डिभाइसले ई–सिम सपोर्ट गर्दछन् । त्यस्तै गुगलको पिक्सेल टु, गुगल पिक्सेल थ्री, पिक्सेल थ्री एक्सएल तथा पिक्सेल फोर, पिक्सेल फोर एक्सएल, पिक्सेल फोर एमा पनि ई–सिम सपोर्ट रहेको छ ।

यसका साथै सामसङ ग्यालेक्सी एस ट्वान्टी, एस ट्वान्टी प्लस, एस ट्वान्टी अल्ट्राले पनि ई–सिम सपोर्ट गर्दछन् । त्यस्तै सामसङकै फोल्डेबल फोन जेड सिरिज, माइक्रोसफ्ट विन्डोज १०, माइक्रोसफ्ट सर्फेस डुओ, ह्वावे पी ४० लगायतका डिभाइसमा समेत ई–सिम सपोर्ट छ ।

ई–सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई–सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । यसको अर्थ तपाईं सिमकार्ड नझिकेर नै अर्को मोबाइल सेवा प्रदायकको नेटवर्कमा जोडिन सक्नुहुन्छ । यसको अर्को फाइदा भनेको सिम कार्ड राख्नका लागि मोबाइल डिभाइसमा छुट्टै स्थान नै आवश्यक पर्दैन । 

यस्तो अवस्थामा स्मार्ट वाच तथा फिटनेस डिभाइसलाई समेत मोबाइल नेटवर्कमा जोड्न सकिन्छ । यसरी डिभाइसमा इम्बेड भएर आउने ई–सिमले भविष्यमा फिजिकल (भौतिक) सिम कार्डलाई पूर्ण रुपमा प्रतिस्थापन गर्नसक्ने अनुमान समेत हुन थालेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३