close

पाटन दरबार क्षेत्रमा अनुमतिबिना टिकटक बनाउन रोक

टेकपाना टेकपाना

पुस १७, २०७९ १८:२६

पाटन दरबार क्षेत्रमा अनुमतिबिना टिकटक बनाउन रोक

काठमाडौं । ललितपुर महानगरले शनिबारबाट पाटन दरबार क्षेत्रमा अनुमतिबिना भिडिओ बनाउन रोक लगाएको छ । विश्व सम्पदा क्षेत्रमा सूचिकृत पाटन दरबार क्षेत्रमा उच्छृङ्खल तरिकाले टिकटक भिडिओ बनाउन थालेपछि महानगरले उक्त कार्यमा लोक लगाएको हो ।​

टेकपानासँग कुरा गर्दै ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन भने, "टिकटक तथा अन्य भिडिओ बनाउनेले उच्छृङ्खल क्रियाकलाप गरेको भन्दै पाटन क्षेत्रका स्थानीयले गुनासो गरेपछि उक्त कार्य नियन्त्रण गर्न खोजेका हौं ।"

दरबार परिसरभित्र उच्छृङ्खल तरिकाले टिकटक भिडिओ बनाउने, अनुमति बिना फिल्म सुटिङ, विवाहको फोटो सुटिङ गर्ने, धार्मिक महत्वका आकृति तथा चिन्हहरूमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरू गर्ने गरिएकाले उक्त नियम लागू गरिएको उनले बताए ।

"सभ्य तरिकाले कसैलाई असर नपर्नेगरी भिडिओ बनाउनेलाई हामीले केही भनेका छैनौं," उनले थपे । यसअघि पनि टिकटक आतङ्क बढेपछि थुप्रै धार्मिक स्थलमा टिकटक भिडिओ बनाउन प्रतिबन्ध नै लगाइएको थियो । लुम्बिनी, पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तूपा, जनकपुरको जानकी मन्दिर, बाराको गढिमाई मन्दिर लगायत विभिन्न धार्मिक स्थलमा टिकटक भिडिओ बनाउन रोक लगाइएको थियो

पछिल्लो अध्यावधिक: पुस १७, २०७९ २०:८