close

नास्ट उपकुलपतिमा सुनिलबाबुको कार्यकाल पूरा, भन्छन्- सम्भावनाका धेरै ढोका खोलेँ

टेकपाना टेकपाना

पुस २९, २०७९ १७:१९

नास्ट उपकुलपतिमा सुनिलबाबुको कार्यकाल पूरा, भन्छन्- सम्भावनाका धेरै ढोका खोलेँ

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको चार वर्षे कार्यकाल सकिएको छ । २०७५ माघमा उपकुलपति पदमा नियुक्त भएका डा. श्रेष्ठले आफ्नो कार्यकालमा नेपालको विज्ञान प्रविधि क्षेत्रमा धेरै सम्भावनाको ढोका खुलेको बताए ।

शुक्रबार नास्टले गरेको बिदाइ कार्यक्रममा बोल्दै उनले 'समाजका लागि विज्ञान, सम्बृद्धिका लागि नवप्रवर्तन' नारालाई केन्द्रमा राखी नास्टमा थुप्रै नवीन कार्यको सुरुवात भएको बताए । आफ्नो कार्यकालमा नेपाललाई अन्तरिक्ष युगमा पुर्‍याउने पहिलो प्रयासदेखि प्रदेशस्तरमा विशिष्टिृकत अनुसन्धान केन्द्र खोल्नेसम्मका काम भएको उनले उल्लेख गरे ।

''मेरो चार वर्षे कार्यकालमा थुप्रै सम्भावनाका ढोका खुलेका छन् । नास्टलाई स्पष्ट योजनाका साथ विज्ञान प्रविधिको खोज तथा आविष्कारको क्षेत्रमा लैजान धेरै कार्यक्रम सुरु गरिएको छ,'' उनले भने ।

डा. श्रेष्ठले कोभिडको विश्वव्यापी महामारीको अवस्थाको बावजुद उपलब्ध सीमित स्रोत र साधनमार्फत चार वर्षमा महत्त्वपूर्ण काम भएको जिकिर गरे । आफ्नो कार्यकालमा नवप्रवर्तन केन्द्रित क्रियाकलापहरू बढी भएको उनको भनाइ छ । 

देशभित्र र बाहिर रहेका विज्ञान प्रविधिसँग आबद्ध भई विद्याविरिधिको डिग्री हासिल गरेका ८७६ जना प्रतिभाशालाी वैज्ञानिक तथा प्राविधिकहरूको अभिलेख तयार पारी २०७७ सालमा 'हु इज हु इन एसटीआई' प्रकाशित गरिएको र यस वर्ष २०७९ मा विद्यावारिधि र स्नातकोत्तर तह गरेका विज्ञहरूको डिजिटल डेटाबेस बनाउने कार्यको थालनी भएको उनले जानकारी दिए ।

नास्ट र जापानको क्युटेकको संयुक्त प्रयासमा २०७६ सालमा नेपाली स्याट-१ सफलता साथ अन्तरिक्षमा प्रक्षेपण हुनुलाई पनि उनले आफ्नो कार्यकालको उल्लेखनीय कार्यकालको रुपमा लिए । ''उपग्रहसँग सम्पर्क स्थापित गर्न नास्टमै ग्राउन्ड स्टेसन पनि स्थापना गरिएको छ,'' उनले भने ।

साथै यस अवधिमा विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नास्टको उद्देश्यसँग मिल्ने तीन दर्जन बढी संस्थाहरूसँग सहकार्य गरिएको, नास्ट अन्तर्गतका प्रयोगशालाहरूबाट दिइँदै आइरहेको वैज्ञानिक परीक्षण सेवालाई एउटै छातामुनी ल्याउने उद्देश्यले नास्ट विश्लेषण सेवा केन्द्र स्थापना गरिएको, स्मार्ट नास्ट कार्यक्रम अभियान थालिएको, नास्ट परिसरलाई योजनाबद्ध विकास र व्यवस्थित पार्न मास्टर प्लान तयार पारी कार्य अघि बढाइएको र सातदोबाटोदेखि गोदावरी वनस्पति उद्यानसम्मको क्षेत्रलाई 'विज्ञान सह'र घोषणा गरी काम अघि बढाइएको उनले जानकारी दिए । 

नास्टको आगामी नेतृत्वले आफूले अघि सारेका दीर्घकालीन योजनालाई निरन्तरता दिने विश्वास गर्दै उनले भने, ''नयाँ नेतृत्वले कर्मचारीको वृत्ति विकासदेखि नास्टका प्रयोगशालालाई सुविधासम्पन्न बनाउन र विज्ञान, प्रविधि तगा नवप्रवर्तनको क्षेत्रमा अघि सारिएका दीर्घकालीन योजनालाई कार्यान्व्यन गरोस् भन्ने चाहना छ ।''  

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ १७:२८