close

माघ १८ गते हुँदै सामसङ अनप्याक्ड इभेन्ट, एस २३ सहित सार्वजनिक हुदैँछन् यी डिभाइस

टेकपाना टेकपाना

माघ १२, २०७९

माघ १८ गते हुँदै सामसङ अनप्याक्ड इभेन्ट, एस २३ सहित सार्वजनिक हुदैँछन् यी डिभाइस

काठमाडौँ । आगामी बुधबार सामसङले बहुप्रतिक्षित सामसङ एस २३ फोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले ग्यालेक्सी अनप्याक्ड इभेन्ट आयोजना गर्दै विभिन्न उत्पादनहरू लन्च गर्ने भएको हो ।

सामसङ एस २३ सिरिजसँगै कम्पनीले टिभी, मोनिटर, जेट फोल्ड, भीआर हेडसेट, स्मार्टवाच सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । मार्केट शेयरका हिसाबले सामसङ विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी हो । स्मार्टफोनसँगै सामसङले बजारमा वेरएबल डिभाइस पनि ल्याउन थालेको छ । आज हामी सामसङले माघ १८ गते सार्वजनिक गर्नसक्ने विभिन्न डिभाइसको बारेमा जानकारी दिँदैछौँ ।

ग्यालेक्सी एस २३

सामसङले बनाएका विभिन्न स्मार्टफोनमध्ये एस २३ लाइनअपलाई अहिलेसम्मकै उत्कृष्ट फोनमा रूपमा प्रस्तुत गरिएको छ । तीन फरक मोडेल जस्तै बेस, प्लस र अल्ट्रामा यो फोन उपलब्ध हुने बाहिरिएका विवरणले उल्लेख गरेका छन् ।

एस २३ को बेस तथा प्लस मोडेलमा सामान्य रिफ्रेशरेट हुनेछ भने अल्ट्रामा स्तरीय रिफ्रेश रेट हुने अपेक्षा छ । साथै यी मोडेलमा नयाँ प्रोसेसर, केही अपडेट गरिएको डिजाइन र सुधारिएको क्यामेरा समावेश हुने बताइएको छ ।

सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको अल्ट्रामा कम्पनीले नै तयार पारेको आइसोसेल एडएचपी २ सेन्सर प्रयोग हुनेछ । जो २०० मेगापिक्सेलको हुने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड ५

कम्पनीले सार्वजनिक गर्न लागेको अर्को स्मार्टफोन हो ग्यालेक्सी जेट फोल्ड फाइभ । 'एस पेन' समावेश भएको यस फोनलाई फोन र ट्याब्लेटको हाइब्रिड भनेर चर्चा गरिएको छ ।

अधिकतम विशेषता ग्यालेक्सी जेट फोल्ड फोरसँग मिले तापनि सेन्सर, क्यामेरा, प्रोसेसरमा भने यो डिभाइस अब्बल रहने बताइएको छ । यससँगै कम्पनीले फोल्डेबल ग्यालेक्सी डिभाइस सार्वजनिक गर्ने विभिन्न लिकमा उल्लेख छ ।

यस डिभाइसका बारेमा कम्पनीले कुनै विवरण बाहिर ल्याएको छैन । यस डिभाइसलाई फ्लेक्स हाइब्रिड नाम दिइने अपेक्षा छ ।

ग्यालेक्सी जेड फ्लिप फाइभ

पकेटमा अटाउन सक्ने फोल्डेबल ग्यालेक्सी जेट फ्लिप फाइभ कम्पनीले सार्वजनिक गर्न लागेको अर्को फोन हो । ग्यालेक्सी जेट फ्लिक फोरकै डिजाइनमा उपलब्ध हुने यो फोनमा नयाँ प्रोसेसर, उच्च गुणस्तरको क्यामेरा, ठूलो कभर स्क्रिन हुने अपेक्षा छ । बाहिरिएका केही विवरणमा ग्यालेक्सी जेट फ्लिप फाइभको मूल्य भने फोर जत्तिकै रहने बताइएको छ ।

ग्यालेक्सी भीआर हेडसेट

पछिल्लो समय प्रविधि कम्पनीहरू भीआर हेडसेटमा आफूलाई अब्बल बनाउन लागिपरेका छन् । आउँदो महिना एप्पलले प्लेस्टेसन भीआर २, एचटीसी भाइभ एक्सआर, र भीआर हेडसेट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

तर, सामसङ भने भीआर हेडसेटको सन्दर्भमा त्यति सक्रिय थिएन । यस पटक भने कम्पनीले भीआर हेडसेट पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

ग्यालेक्सी वाच सिक्स

सामसङले हालसम्म सार्वजनिक गर्न लागिएको स्मार्टवाचबारे धेरै जानकारी दिएको छैन । यसबारे विवरण पनि बाहिरिएका छैनन् ।

कम्पनीले यसअघि सार्वजनिक गरेको ग्यालेक्सी वाच फाइभ र फाइभ प्रोलाई हेर्ने हो भने नयाँ स्मार्टवाचमा स्तरीय सेन्सर समावेश हुने अपेक्षा छ ।

 

 

 

 

पछिल्लो अध्यावधिक: माघ १२, २०७९