काठमाडौँ । गुगल म्याप हाम्रो दैनिकीको अभिन्न अंग बनिसकेको छ । आजभोली कुनै नयाँ ठाउँमा जानुपर्यो भने हामी सहजै गुगल म्याप प्रयोग गरेर आफ्नो गन्तव्यको लोकेसन पत्ता लगाएर जानसक्छौँ ।
सामान्यतया गुगल म्याप प्रयोग गर्नको लागि हामी इन्टरनेट प्रयोग गर्ने गर्छौँ । तर कतिपय यस्ता स्थानहरू पनि हुन्छन्, जहाँ इन्टरनेटको पहुँच राम्रोसँग नपुगेको पनि हुनसक्छ । यस्तो अवस्थामा भने गुगल म्याप कसरी प्रयोग गर्ने त ।
यदि तपाईँ इन्टरनेट सेवा नभएको ठाउँमा यात्राको योजना गर्दै हुनुहुन्छ भने, तपाईँले गुगल नक्सामा अफलाइन नक्सा डाउनलोड गर्न सक्नुहुन्छ ।
गुगल नक्सा अफलाइन कसरी डाउनलोड गर्ने ?
आफ्नो कुनै यात्रामा जानु अघि यसरी म्याप डाउनलोड गर्दा पछि अफलाइन हुँदा पनि डिरेक्सन सहित प्रयोग गर्न सकिन्छ । यसको लागि तपाईँले गुगल म्यापलाई पूर्ण रूपमा डाउनलोड गर्न आवश्यक हुँदैन । तपाईँको यात्रा अघि, आफू जाने स्थानको म्याप छनौट गरी डाउनलोड गर्न सक्नुहुन्छ ।
अफलाइनमा प्रयोग गर्नको लागि गुगल म्याप डाउनलोड गर्न आफ्नो आईओएस वा एन्ड्रोइडमा गुगल नक्सा एप खोल्नुहोस् । यसपछि स्क्रिनको सबैभन्दा माथि दायाँपट्टि रहेको आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस् । यसपछि अफलाइन म्याप लेखिएको अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो नक्सा चयन गर्नुहोस् ।
तपाईंले डाउनलोड गर्न चाहनुभएको नक्सालाई आयताकारको सीमाभित्र राख्न आफ्नो औंलाहरू प्रयोग गरेर राख्नुहोस् । नक्सामा आफ्नो लोकेसन सार्नको लागि एउटा मात्र औँला प्रयोग पनि जुम इन र जुम आउट गर्न सकिन्छ ।
यसरी आफ्नो लोकेसन छनोट गरी डाउनलोडमा ट्याप गर्नुहोस् । यसपछि तपाईँ म्यापको मुख्य पेजमा पुग्नुहुनेछ ।
पछि आफ्नो यात्राको क्रममा म्याप खोल्ने बित्तिकै तपाईँले आफ्नो लोकेसन पाउन सक्नुहुन्छ ।