close

ई-पासपोर्ट वितरणलाइ सहज बनाउन अब दैनिक १५०० अग्रिम आवेदन लिइने

टेकपाना टेकपाना

माघ १५, २०७९ २१:२१

ई-पासपोर्ट वितरणलाइ सहज बनाउन अब दैनिक १५०० अग्रिम आवेदन लिइने

काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरणलाई सहज बनाउनको लागि राहदानी विभागले तीन बुँदे योजना भोली अर्थात् माघ १६ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ ।  

विभागको नयाँ नियम अनुसार माघ १६ गतेदेखि एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन (Pre-enrollment) फाराम खुल्नेछ । साथै प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फाराम क्रमशः खुल्दै जाने विभागले जनाएको छ । 

अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने विभागले बताएको हो । यसरी अग्रिम अनलाइन फाराम खोल्दा सेवाग्राहीले समयमा नै आफ्नो योजना बनाइ राहदानी सेवा लिनसक्ने विभागले विश्वास व्यक्त गरेको छ ।  

यसैगरी सोही नियम सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा पनि लागू हुने विभागले जनाएको छ । 

हाल विभागले ७७ वटा जिल्ला प्रशासन कार्यालयहरू, १७ वटा इलाका प्रशासन कार्यालयहरू र ३८ वटा विदेशस्थित नेपाली नियोगहरूबाट विद्युतीय राहदानी जारी गरिरहेको छ । 

विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट छिटो राहदानी पाउने व्यवस्थाका लागि विभागमा विवरण प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० दिनदेखि १२ दिनभित्र, तराइका जिल्लाहरूमा १२ दिनदेखि १५ दिनभित्र, पहाडका सुगम जिल्लाहरूमा १५ देखि २० दिनभित्र, हिमाली जिल्लाहरूमा २० देखि ३० दिनभित्र र विदेशस्थित नेपाली नियोगहरूमा २० देखि ३५ दिनभित्र राहदानी प्राप्त गर्न सक्नेछन् । 

यद्यपि तत्काल चाहेको खण्ड अत्यावश्यक आवेदन दिइ तीनदिन भित्र राहदानी निकाल्न सकिने विभागले बताएको छ । 

यस्तै विभागले राहदानी वितरणलाई सहज बनाउनको लागि आम नागरिकको पनि भूमिका रहेको बताउँदै सेवाग्राहीलाई पनि आफ्नो विदेश भ्रमणको योजना अनुरुप समयमा नै योजना तय गरी नियमित सेवामा आफ्नै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दनि आग्रह गरेको छ । 

यसैगरी एमआरपी लिएका सेवाग्राहीले एक वर्षभन्दा कम अवधि रहेको राहदानी नवीकरण गर्न मिल्ने भएकाले सो मिति ख्याल गरी समयमा नै योजना बनाउने पनि आग्रह गरेको छ । 

ई-पासपोर्ट वितरणलाई सहज बनाउन विभागले सेवाग्राहीलाई गरेको १४ बुँदे आग्रह यहाँ हेर्न सकिन्छ:

 

 

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ २१:२८