close

विद्युत प्राधिकरणले सरकारी निर्णय विपरीत डिमान्ड चार्ज लिएको भन्दै सुन्दर यातायातका ईभी बन्द

टेकपाना टेकपाना

माघ २२, २०७९ १७:४८

विद्युत प्राधिकरणले सरकारी निर्णय विपरीत डिमान्ड चार्ज लिएको भन्दै सुन्दर यातायातका ईभी बन्द

काठमाडौँ । डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायात प्रालिले आफ्ना विद्युतीय चार्जिङ स्टेसन र विद्युतीय बस बन्द गर्ने भएको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारले डिमान्ड चार्ज नहटाएको कारण देखाउँदै सोमबारदेखि चार्जिङ स्टेसन र बिजुली बस सञ्चालनमा नल्याउने घोषणा गरेको हो ।

सुन्दर यातायातले नेपाल सरकारका विद्युत् नियमन आयोग र विद्युत् प्राधिकरण समक्ष पटकपटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको डिमान्ड शुल्क हटाउनुपर्ने माग गर्दै आएको थियो ।

सुन्दर यातायातका अनुसार डिमान्ड शुल्क हटाउने निर्णय भएको एक वर्ष भइसकेको छ । तर, पनि विद्युत प्रधिकरणले भने अतिरिक्त डिमान्ड चार्ज लिने काम जारी राखेको छ ।

उसले विद्युत् खपत बढाउँ भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैँ कार्यान्वयन नगरी जनताका विद्युतीय सवारी साधन सञ्चालनमा रोक लगाउन चाहेको आरोप लगाएको छ ।  “सरकारले विद्युतीय सवारी साधन बन्द गर्ने नयाँ योजना ल्याएकोमा सरकारलाई बधाई दिँन्छौ,” विज्ञप्तिमा लेखिएको छ, “सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको चार्जिङ मसिन र विद्युतीय बस भोलिबाट बन्द गर्ने घोषणा गरेका छौँ ।"

सरकारको असहयोगका कारण यस्तो निर्णय लिनुपर्ने अवस्था आएको सुन्दर यातायातको स्पष्टोक्ती छ । सरकारले लिने डिमान्ड चार्जकै कारण कम्पनीले चार्जिङ स्टेसन तथा विद्युतीय बस सञ्चालन गर्न नसकेको कम्पनीको तर्क छ । डिमान्ड चार्ज कार्यन्वयन गर्न नसक्ने सरकारको योजनालाई बधाई दिँदै कम्पनीले अनिश्चित कालका लागि आफ्नो सेवा बन्द गरेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २३, २०७९ १२:५४