close

सञ्चार मन्त्री भन्छन्- राष्ट्रपति-प्रधानमन्त्रीले कानुन मान्नुपर्छ, सामाजिक सञ्जालले मान्नु नपर्ने ?

टेकपाना टेकपाना

बैशाख ३०, २०८२ २२:२३

सञ्चार मन्त्री भन्छन्- राष्ट्रपति-प्रधानमन्त्रीले कानुन मान्नुपर्छ, सामाजिक सञ्जालले मान्नु नपर्ने ?

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूले देशको कानुन अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित ‘सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोह’लाई सम्बोधन गर्दै उनले देशमा सञ्चालित सबै सामाजिक सञ्जालले कानुन पालना गर्नुपर्ने दोहोर्‍याए ।

राष्ट्रपतिदेखि प्रधानमन्त्री र आमनागरिकसम्म सबै कानुनको दायरामा बस्नुपर्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालहरूलाई पनि सोही दायरामा ल्याउनुपर्नेमा जोड दिए । “यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरू छन्,” उनले भने, “त्यसको प्रयोग जसले गरिरहेको छ, त्यसले नेपालको संविधान मान्नुपर्ने कि नपर्ने ? नेपालको कानुन मान्नुपर्ने कि नपर्ने ?”

उनले अगाडि भने, “तपाईंहरू सबैले नेपालको कानुन मान्नुपर्छ । मैले पर्छ, प्रधानमन्त्रीज्यूले पर्छ । राष्ट्रपतिज्युले मान्नुपर्छ ।”

सामाजिक सञ्जालले कानुन मान्नु नपर्ने भन्ने प्रश्न नै नउठ्ने भन्दै मन्त्री गुरुङले थपे, “अनि तिनले (सामाजिक सञ्जाल) कानुन मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा ? त्यसको पक्षमा हामी किन लागिरहेका छौं ? त्यसको नियमन जरुरी छ ।” 

सामाजिक सञ्जालको नियमन आवश्यक रहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोग, सञ्चालन र नियमनसम्बन्धी विधेयक संसदमा पेस भइसकेको र चाँडै पारित गरिने उनले बताए ।

साइबर अपराध नियन्त्रण मन्त्रालयको पहिलो प्राथमिकता भएको पनि मन्त्री गुरुङले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ २२:४३