close

७३९ स्थानीय तहमा फोरजी पुगेको भनियो, तर काठमाडौँ रिङरोडभित्रै ‘ई’ देखाउँछ

टेकपाना टेकपाना

माघ २२, २०७९ १८:४९

७३९ स्थानीय तहमा फोरजी पुगेको भनियो, तर काठमाडौँ रिङरोडभित्रै ‘ई’ देखाउँछ

सूचना प्रविधि क्षेत्र जुन हिसाबले विकास भइरहेको छ, त्यस अनुरुप आम उपभोक्तालाई सन्तुष्ट पार्नेगरी सेवा प्रवाह गर्नु प्रदायकहरूका लागि चुनौतीको रूपमा रहेको छ । विशेषतः सेवा महँगो भयो, गुणस्तरहीन भयो, आम उपलब्धता छैन, जस्ता आम जनगुनासाहरू आइरहेका हुन्छन् । 

उपभोक्ताको चाहना अनुरूप गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाह गर्न सेवा प्रदायकलाई मेरो आग्रह छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को हकमा सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने कार्यका साथै सरकारले महत्त्व दिएर अगाडि बढाएको डिजिटल नेपालको अवधारणा पूरा गर्ने चुनौती पनि थपिएको छ । 

सूचना प्रविधि महामार्ग विस्तार गरी डिजिटल नेपालको परिकल्पना साकार पार्न ग्रामीण दुरसञ्चार विकास कोषको प्रयोग गरी नेपाल सरकारले प्रदेश एक, मधेस प्रदेश र बाग्मति प्रदेशका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन नेटवर्क) निर्माण गर्ने जिम्मा दिएको छ । तर कम्पनीले त्यसमा आफ्नो पूरा ध्यान दिने कुरामा चुकेको जस्तो लाग्छ । परियोजना निर्माणमा भइरहेको ढिलाइले यो कुराको पुष्टि गर्छ । 

यस कुरालाई गम्भीर ध्यान दिएर समयमा नै परियोजना सम्पन्न गर्न समेत नेपाल टेलिकमलाई अनुरोध गर्छु । नेपाल टेलिकमले यो परियोजनालाई तीन ओटा प्याकेजमा विभाजन गरेको छ । जस अन्तर्गत बागमती प्रदेशको काम अहिलेसम्म सुरु हुनै सकेको छैन । किन हुन सकेन ? दुई वर्षसम्ममा काम हुन सक्दैन ? ठेकेदारहरूलाई कारबाही गर्न किन सकिएन ? प्राधिकरणले म्याद  थप गर्दिनँ भनेर लेखेर पठाएको छ । म्याद थप गर्नुपर्ने कारण के हो ? त्यसको जवाफ दिन टेलिकमले उचित ठानेको छैन । यसको जवाफ दिनु पर्छ कि पर्दैन ? के हामी दुई वर्षसम्म डिजिटल नेपालको अवधारणाको काम पूरा नगराइकन ठेकेदारलाई पैसा दिने हो ?

 

यसमा टेलिकमका कर्मचारीहरू गम्भीर हुन आवश्यक छ ।  सुदूरपश्चिमको परियोजना दिएका छौँ । प्रत्येक जिल्ला सदरमुकाममा फाइबरको सञ्जाल विस्तार गर्नुपर्ने छ ।  यतातर्फ कम्पनीको व्यवस्थापनलाई गम्भीर हुन आग्रह गर्छु ।

फोरजी नेटवर्क विस्तारको कार्ययोजना अनुसार नेपाल टेलिकमले ७३९ स्थानीय तहमा फोरजी सेवा पुगेको जनाएको छ । तर काठमाडौँको रिङ रोड भित्रका सबै ठाउँमा के फोरजी सेवा छ भनेर कम्पनीले भनिदिन सक्छ ? त्यहाँ केही वरपर मात्र गयो भने पनि फोरजीको साटो ‘ई’ (टुजी) देखाउँछ । हामी गुणस्तरीय सेवामा कता चुकिरहेका छौँ ? कम्पनीले वैज्ञानिक तरिकाले अध्ययन गर्नुपर्ने भएको छ । ‘यो क्षेत्रमा फोरजी भएन भन्ने गुनासो आयो भने यति दिन भित्र सुधार गर्छौँ’ भनेर कम्पनीले गर्वका साथ दाबी प्रस्तुत गरोस् । यो कार्य प्रमुख सहरमा गर्नुपर्ने हुन्छ, जुन अपरिहार्य पनि छ । 

 

फाइभजीका लागि नेपाल सरकारले निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराएको छ । त्यस्तै प्राधिकरणले पटक पटक सोधेको पनि छ । आज टेलिकमको वार्षिकोत्सवको अवसरमा फाइभजी उद्घाटन हुन्छ भन्ने आशामा थिएँ । आज भएको भए प्रयोगकर्ताले समेत फाइभजीको अनुभव गर्न पाउँथे । तर विभिन्न मिडिया हाउसहरूले परीक्षण मात्र हुने उल्लेख गरेका छन् । फाइभजी टेलिकमको प्राविधिक परीक्षणको विषय मात्र हो र  ? फाइभजीका लागि उद्याेग तयार छ वा छैन ? हामी उपभोक्ताहरूले फाइभजी अनुभव कसरी गर्छौँ ? यता तिर गम्भीर हुन आवश्यक छ ।

 

पछिल्लो समय टेलिकमको नेटवर्कमा पटकपटक समस्या आइरहेको छ । यस संस्थाको प्रतिको आम जनविश्वासमा ह्रास आइरहेको छ । नियामक निकायको प्रमुखको रुपमा मैले पनि यो कुरा महसुस गरेको छु । विशेषत: भेन्डरसँग गरिने सम्झौताको प्रावधानहरू हेरेँ । जब टेलिकमको सेवा अवरुद्ध हुन्छ, टेलिकमको टिमसँग बसेर हेरेँ । ती सम्झौताका प्रावधानहरू टेलिकमले हेरेको छ ?  नेपालमा टेलिकमको सेवा कति समय/दिन अवरुद्ध हुन पाउँछ ? त्यस्ता प्रावधानहरूमा तत्काल कम्पनीको ध्यानाकर्षण गराउन चाहन्छु ।

 

पछिल्लो पटकको सेवामा त अझ सेवा पूर्ण क्षमतामा सञ्चालन हुन कयौँ घण्टाको समय दिइएको छ । त्यस्ता कम्पनीलाई  जिम्मेवार बनाउनु पर्ने होइन ? जसले सेवा दियो, उसलाई जरिवाना र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्छ कि पर्दैन ? त्यतातिर पनि कम्पनी चुकेको महसुस मैले गरेको छु ।

 

तसर्थ, उपभोक्ताको यो विश्वसनीयता, नियामक निकायले गरेको भरोसा, सरकारले टेलिकमलाई गरेको विश्वास कायम गर्न सके मात्र आगामी दिनमा संस्थाको भविष्य उज्ज्वल हुनेछ । नाफा वृद्धि गर्न सकिने पर्याप्त सम्भावना छन् । निर्वाध रुपमा यस्ता विषयमा व्यवस्थापनले ध्यान दिनुपर्ने जरुरी देखेको छु । 

 

पूर्वाधार सम्बन्धी कानून बमोजिम पूर्वाधारको सहप्रयोग गर्ने कार्यमा नेपाल दूरसञ्चार कम्पनीले ध्यान दिएको देखिँदैन । कम्पनीको आम्दानी भने घटिरहेको छ । नेटवर्क विस्तारको काम भइरहेको छ । ग्राहकहरू बढिरहेका छन् । डेटा प्रयोगकर्ता बढेकै छन् । खर्च गर्ने क्षमता पनि बढिरहेकै छ  । प्रविधिमा हाम्रो निर्भर्ता बढेकै छ ।  तर आम्दानी भने घटिरहेको छ । यो खोजीको विषय हो । आम्दानीका अन्य स्रोत केके हुन सक्छन् ? खोज्न आवश्यक छ ।

 

सरकारले ब्याकबोन नेटवर्क टेलिकमलाई जिम्मा लगाएको छ । नेटवर्क बनाएर शेयर नगर्ने गरी जिम्मा लगाएको होइन । त्यो नेटवर्क शेयर गरेर आम्दानी बढाउन सकिन्छ । त्यस्तै सहरमा भएका अव्यवस्थित रुपमा रहेका तारहरू व्यवस्थित गरेर आम्दानीका नयाँ स्रोत सिर्जना गर्न सक्छ । 

विकसित दूरसञ्चार प्रविधिको प्रयोग तथा आफ्नो साधान स्रोत तथा जनशक्तिको अधिकतम प्रयोगबाट भोलिका दिनमा अन्य प्रतिस्पर्धी सेवा प्रदायकहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता नेपाल टेलिकमलाई छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो छवीलाई अझ उच्च राख्न नेपाल टेलिकमलाई प्रेरणा मिलोस् । नियामक निकाय टेलिकमको साथमा छ, त्यो पूर्वाधार विकासमा प्रयोग होस् । स्पेक्ट्रमका लागि होस् । किनकि टेलिकम अन्य प्रतिस्पर्धी भन्दा पूर्वाधारमा अगाडि छ । स्रोत साधन बढी छ । स्पेक्ट्रम बढी छ । तर आम्दानी मात्र घटी छ । टेलिकमले यी कुरामा ध्यान दिन आवश्यक छ । 


 

(नेपाल टेलिकमको १९ औं वार्षिक उत्सवको अवसरमा नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष  पुरुषोत्तम खनालले दिएको मन्तव्यको अनुवादित अंश )

पछिल्लो अध्यावधिक: माघ २५, २०७९ १३:३२