close

साझा बस कहाँ आइपुग्यो ? मोबाइलबाटै यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

फागुन ५, २०७९ १४:२८

साझा बस कहाँ आइपुग्यो ? मोबाइलबाटै यसरी थाहा पाउनुहोस्

काठमाडौं । साझा यातायात नेपालले आफ्नो मोबाइल एपलाई अपग्रेड गर्दै नयाँ फिचर ल्याएकाे छ । कम्पनीले स्ल्यास प्लस प्रालिसँग सहकार्य गरी 'साझा प्लस' नाम दिएर आफ्नो मोबाइल एपलाई थप फिचरसहित अपग्रेड गरेको हो ।

हाललाई यो एप एन्ड्रोइड डिभाइसका लागि मात्र उपलब्ध छ । 'साझा प्लस' प्रयोग गरेर यात्रुले आफ्नो साझा बसको यात्रालाई सहज बनाउनसक्ने कम्पनीको भनाइ छ ।

एप प्रयोग गरेर यात्रुले आफू जानुपर्ने रुटको विषयमा रियल टाइम डेटा थाहा पाउन सक्नेछन् । उक्त रुटमा बस कुन स्टेसनमा पुग्यो, आफ्नो स्टेसनमा कतिबेला आइपुग्छ, कुन स्टेसनदेखि आफ्नो गन्तव्यको दूरी कति लगायतका जानकारी प्राप्त गर्न सक्छन् ।

साझा प्लसको प्राथमिक लक्ष्य भनेको सार्वजनिक यातायातको आवागमनलाई थप व्यवस्थित बनाउनु र स्टेसनमा जाने र पर्खने दृष्टिकोणले समयको बचत गर्नु रहेको कम्पनीले जनाएको छ । एपको होमपेजमा साझाको रुटको सूची, सर्चबक्स र प्रयोगकर्ताको प्रोफाइल देख्न सकिन्छ ।

रुटको सूचीमा गएर प्रयोगकर्ताले आफ्नो रुट छनोट गरेर जानकारी लिन सक्नेछन् । अथवा सोझै सर्च बक्समा गएर आफ्नो गन्तव्यको नाम राखेर पनि रुट पत्ता लगाउन सकिनेछ ।

एपमा उपलब्ध रुट कार्डले सक्रिय सञ्चालन बसहरूको संख्या, बाटोमा बस बिसौनीको संख्या, गन्तव्यको दूरी लगायतका विवरण हेर्न सकिन्छ ।

एक विशेष रुट कार्ड चयन गर्नाले नक्सा पृष्ठ खोल्छ, जसले प्रयोगकर्ताहरूको हालको स्थान र नजिकका बसहरूको स्थान देखाउँछ । नक्सामा रातो सर्कलहरूमा ट्याप स्टेसनको नाम देखाउँछ र बस आइकनहरूमा ट्याप गर्दा बस नम्बर देखाउँछ । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १८:२८