काठमाडौं । २१ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध र आपराधिक लाभ (एक्सटर्सन) को मुद्दामा मुछिएकी टिकटकर तुलसा अधिकारी (तुल्सी अधिकारी) लाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ललितपुर जिल्ला अदालतले बिहीबार उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
अदालतका प्रवक्ता टीकाध्वज कार्कीका अनुसार न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले अधिकारीलाई थुनामा पठाउने निर्णय गरेको हो । अधिकारीलाई जगन्नाथदेवल कारागार पठाइएको छ ।
कुमार चिमोरियाको जाहेरीले अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो ।
यस प्रकरणमा ‘टिकटकर तुलसा’ का नामले परिचित अधिकारीसहित १० जनालाई प्रतिवादी बनाएर गत जेठ १९ गते जिल्ला अदालत ललितपुरमा अभियोगपत्र दर्ता गरिएको थियो ।
सामाजिक सञ्जाल टिकटकमा ‘तुलसा कलेक्सन’ मार्फत उनी चर्चित थिइन् । सोही प्लेटफर्मबाट उनले महिलाका लुगा, गरगहना तथा शृङ्गारका सामग्रीको प्रचार गर्दै आएकी थिइन् ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ १७:३६
