काठमाडौं । नेकपा एमालेको आधिकारिक वेबसाइट र भ्रातृ संस्थाको वेबसाइटमा साइबर आक्रमण भएको छ । एमालेको मुख्य वेबसाइट cpnuml.org र एमाले निकटको नेपाल बुद्धिजीवी परिषद्को वेबसाइट nic.cpnuml.org ह्याक भएको हो ।
अज्ञात ह्याकरको समूहले वेबसाइटको कन्ट्रोल आफ्नो हातमा लिएर मुख्य पेजमा राजनीतिक र चेतावनीपूर्ण सन्देश राखेका छन् । वेबसाइट खोल्नेबित्तिकै रातो अक्षरमा ‘HACKED FOR JUSTICE’ लेखिएको छ ।
ह्याकरले वेबसाइटमा एक ग्राफिक्स पोस्टमा ‘Official Site Warning’,’Parliamentary Integrity Directive - Immediate Effect’ लेखेका छन् ।
त्यति मात्र नभई, ह्याकरले श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको नाम उल्लेख गर्दै ‘Final Notice - Do Not Interfer’' (अन्तिम सूचना - हस्तक्षेप नगर्नू) भन्दै चेतावनी दिएका छन् । तर कुन खास उद्देश्यका लागि वेबसाइट ह्याक गरिएको भन्ने खुलाइएको छैन ।
यस सम्बन्धमा साइबर सुरक्षा अनुसन्धानकर्मी विजय लिम्बुले एमालेको वेबसाइट डिफेस भएको पुष्टि गरे । उनका अनुसार ह्याकरले वेबसाइटको सी-प्यानलमा कुनै कमजोरी भेट्टाएर अनधिकृत पहुँच जमाएको देखिन्छ ।
“अहिले वेबसाइटको बाहिरी स्वरूप मात्र परिवर्तन गरिएको देखिए पनि भित्र रहेका डेटा सुरक्षित छन् वा छैनन् भन्ने यकिन गर्न सकिन्न । यदि वेबसाइटमा सदस्यहरूको विवरण वा अन्य संवेदनशील डेटा थियो भने त्यो पनि चोरी हुन सक्छ,” उनले भने ।
वेबसाइट ह्याक भएपछि मोबाइल प्रयोगकर्ताहरूलाई ‘साइबर अलर्ट’ समेत पठाइएको छ । उक्त अलर्टमा ह्याक भएका वेबसाइटहरूले मालवेयर फैलाउन सक्ने वा भ्रमपूर्ण सामग्री पस्कन सक्ने भएकाले सतर्क रहन र ती वेबसाइट नखोल्न आग्रह गरिएको छ ।
पार्टीको आधिकारिक वेबसाइटमा अनधिकृत पहुँच पुगेपनि यो सामग्री तयार पार्दासम्म एमालेले यस विषयमा औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १४:५६
