close

१४ सय ५६ विद्यालयमा यसै वर्ष ई-लाइब्रेरी स्थापना गरिने

सञ्जीवन राई सञ्जीवन राई

फागुन १४, २०७९ १७:३०

१४ सय ५६ विद्यालयमा यसै वर्ष ई-लाइब्रेरी स्थापना गरिने

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७९/८० मा १४ सय बढी सामुदायिक विद्यालयमा ई-लाइब्रेरी सञ्चालन गरिने भएको छ । ​याे आर्थिक वर्षमा आईसीटी ल्याब स्थापनाकाे अनुमति पाएका विद्यालयमध्ये १४ सय ५६ विद्यालयमा ई-लाइब्रेरी सञ्चालन हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएकाे छ ।

गत भदौ २९ गते बसेको मन्त्रीस्तरीय बैठकले चालू आर्थिक वर्षमा छनोट भएका विद्यालयहरूको सूची सार्वजनिक गरेको थियो । छनौट भएका विद्यालयहरू रहेको पालिकामा वित्तीय हस्तान्तरण भइसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोखरेलले जानकारी दिए ।

निर्देशक पोखरेलका अनुसार छनाेट भएका प्रत्येक विद्यालयले आईसीटी ल्याब स्थापनाका लागि छ लाख ५० हजार रुपैयाँ पाउनेछन् । ​यसबाट विद्यालयले लर्निङ्ग म्यानेजमेन्ट सफ्टवेयर (एलएमएस) तथा एभीआर सिस्टम बनाउनुपर्ने छ । 

पाेखरेलका अनुसार सोही रकमबाट विद्यालयले मल्टिफङ्सन प्रिन्टर, नेटवर्किङ वा अन्य इलेक्ट्रिकल सामग्री खरिद गर्नुपर्ने हुन्छ । साथै आईसीटी ल्याब स्थापना गर्न छनौट भएका विद्यालयहरूले ई-लाइब्रेरीको व्यवस्था पनि गर्नुपर्ने हुन्छ ।

विशेष गरेर विद्यालय बन्द भएको अवस्थामा समेत एभीआर सिस्टम वा एलएमएसबाट शिक्षण कार्य गर्न सकियोस् भनेर ई-लाइब्रेरीसहितकाे आईसीटी ल्याब सञ्चालन ल्याउन लागेको निर्देशक पोखरेलले बताए । 

“ईएमआईएसले विद्यार्थीबारे डेटा देखाउँछ । त्यस्तै ई-लाइब्रेरीबाट शिक्षण सिकाइका कुरा, पाठ्यक्रमका कुरा लगायत अन्य शैक्षिक सामग्रीहरुको पहुँच पाउन सकिन्छ,” उनले अगाडि भने, “सो प्रणालीमा शिक्षक, विद्यार्थी, अभिभावक जो कसैले पनि पहुँच पाउन सक्छन् ।”

यो प्रणालीको प्रयोगले कोभिडजस्ता महामारी आएपनि शिक्षण कार्य नरोकिने उनको भनाइ थियाे ।

हालसम्म राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत देशभरका छ हजार ८६९ विद्यालयहरुले आईसीटी ल्याब सञ्चालनका लागि अनुदान वा सहायता प्राप्त गरेका छन् । आर्थिक वर्ष ७६/७७ बाट यो कार्यक्रमबाट विद्यालयहरुलाई आईसीटी ल्याबका लागि सहायता दिन थालिएको हो ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०७९ १७:३०