close

आईफोनको जस्तै डाइनामिक आइल्यान्ड फिचर भएको रियलमी स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

फागुन २५, २०७९ १२:२९

आईफोनको जस्तै डाइनामिक आइल्यान्ड फिचर भएको रियलमी स्मार्टफोन सार्वजनिक

काठमाडौं । छ महिना पहिले सार्वजनिक भएको आईफोन १४ प्रोमा समावेश डाइनामिक आइल्यान्ड फिचर अहिले एड्रोइड फोनमा पनि उपलब्ध हुन थालेको छ । रियलमीले हालै इन्डोनेसियामा सार्वजनिक ‘रियलमी सी५५’ मा 'मिनी क्याप्सुल' नामसहित डाइनामिक आइल्यान्ड फिचर दिएकाे छ ।

फोनमा कुनै पनि नोटिफिकेसन आयाे, कल आयो वा म्युजिक चलिरहेको छ भने सेल्फी क्यामेराको भाग बढ्छ । र, त्यही भागमा उक्त नोटिफिकेसन देखिन्छ । कम्पनीले 'मिनी क्याप्सुल' फिचर कस्तो देखिन्छ भन्ने कुराको एनिमेसन आफ्नाे वेबसाइटमा पनि सार्वजनिक गरेको छ ।

उक्त एनिसेसनमा फोन चार्ज भइरहँदा सेल्फी क्यामेराको भाग बढेर त्यहाँ फोन चार्ज भइरहेको नोटिफिकेसन देखिन्छ । उक्त 'मिनी क्याप्सुल'मा स्टेप काउन्ट (पाइलाको सङ्ख्या), डेटा युजेज, फोनको चार्ज स्टाटस र अन्य नोटिफिकेसन देखिने बताइएको छ ।

आईफोनको डाइनामिक आइल्यान्ड फिचर चर्चामा आएसँगै विभिन्न स्मार्टफोन निर्माता कम्पनीले पनि आफ्नो डिभाइस बिल्ट ईन सिस्टममा सो फिचर उपलब्ध गराउन थालेका छन् । मिनी क्याप्सुल फिचर बाहेक रियलमी सी५५ एउटा मिड रेन्ज एन्ड्रोइड फोन हो ।

हेलियो जी८८ प्रोसेसरद्वारा सञ्चालित यो फोन ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । ९० हर्जसम्मकाे रिफ्रेस रेट र ६.७२ इन्च डिस्प्ले भएको यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसलाई चार्ज गर्न ३३ वाटको चार्जर दिइएको छ ।

यस चार्जरले सुपरभोक चार्जिङ मान्यता पाएको कम्पनीले बताएको छ । 'मिनी क्याप्सुल' भएको यो फोन इन्डोनेसियामा २९ लाख ९९ हजार आरपी (करिब २५ हजार रुपैयाँ) खरिद गर्न सकिन्छ । अन्य क्षेत्रमा यो फोन कहिले सार्वजिक हुन्छ भन्नेबारे कम्पनीले केही खुलाएको छैन ।

उता एप्पलले भने आईफोन १४ प्रो र अल्ट्रा मोडेलमा मात्र ल्याएको डाइनामिक आइल्यान्ड फिचर अब आईफोन १५ लाइनअपका सम्पूर्ण फोनमा ल्याउने तयारी गरिरहेको छ । बाहिरिएका विभिन्न जानकारीलाई आधार बनाउने हो भने आईफन १५ सिरिज अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफाेन १५ प्रो र आईफोन १५ प्रो अल्ट्रा मोडेल ल्याउनेछ ।

याे पनि पढ्नुहाेस्: एन्ड्रोइड फोनमा सित्तैमा यसरी प्रयोग गर्नुहोस् आईफोन १४ प्रोको डाइनामिक आइल्यान्ड फिचर

 

पछिल्लो अध्यावधिक: फागुन २५, २०७९ १३:४२