close

घरमा थाहै नदिई भीएफएक्समा लागेकी नेपाली चेली, यसरी बनिन् हलिउडकी भिजुअल इफेक्ट आर्टिस्ट

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन २५, २०७९ १५:५६

काठमाडौं । धेरैजसो नेपाली युवाहरूका लागि राम्रो जीवनयापन, आकर्षक आम्दानी र सुखी जीवनको आशा विदेश नै हुने गर्छ । कौशल्या दत्तवानीलाई पनि १० कक्षा पास भइसकेपछि विदेश जाने रहर थियो । विदेश जानकै लागि उनले 'ए' लेभल गरिन् ।

उनको कलेज अनुभव त्यति राम्रो भएन । "कलेज पनि सामान्य भएकाले मैले त्यति राम्ररी अध्ययन गर्न सकिनँ," विगतका सम्झिँदै उनी भन्छिन्, "त्यही बेला काम गर्ने सोच बनाइरहेकी थिएँ ।" 

सन् २०११ तिर उनी टेलिमार्केटिङ कम्पनी एरिना मल्टिमिडिया पुगिन् । उनले त्यहाँ अन्तर्वार्ता दिनपर्ने थियो । एरिना मल्टिमिडियाको अफिसभित्र जाँदा उनले भीएफएक्स गरिरहेको देखिन् ।

"मलाई भीएफएक्सको बारेमा केही थाहा थिएन," उनी पुराना दिन सुनाउँदै भन्छिन्, "एक जना दाइले स्क्रिनमा रहरलाग्दा विज्ञापन बनाइरहेको देखेँ । टेलिभिजनमा बज्ने विज्ञापन कसरी तयार हुँदो रहेछ भन्ने कुरा त्यतिखेरै देख्न पाएँ । त्यसपछि मलाई पनि त्यस्तै बनाउने रहर जाग्यो ।"

उनी अन्तर्वार्तामा सफल भएपछि टेलिमार्केटिङको काम गर्न थालिन् । टेलिमार्केटिङमा काम गर्दा त्यतिखेर उनको तलब मासिक तीन हजार रुपैयाँ थियो । त्यो पैसाले उनको आवश्यकता धान्न मुस्किल थियो । 

टेलिमार्केटिङकै क्रममा उनी वेबसाइट डिजाइनिङ पनि सिक्न थालिन् । "ग्राफिक्स डिजाइनिङको आइडिया भएपछि एक वर्षपछि क्यापिटल मार्केट रिसर्च एण्ड डेभलपमेन्ट कम्पनीमा वेबसाइट म्यानेजरको काम गर्न थालेँ," टेलिमार्केटिङको कामबाट असन्तुष्ट भएपछिको अनुभव सुनाउँदै उनी थप्छिन् ।

नयाँ कम्पनीमा पनि दत्तवानीलाई थुप्रै काम गर्नुपर्ने हुन्थ्यो । वेबसाइट डिजाइनिङ प्रमुख काम छँदै थियो । सँगसँगै प्रतिवेदन लेख्ने, मार्केटिङ गर्ने, त्यस्तै परे अफिस सफा गर्नेसम्मका काम पनि आइलाग्थे ।  "त्यहाँ केही समय काम गर्दा मलाई एनिमेसन सिक्ने रहर पलायो," उनी भन्छिन् ।

सन् २०१४ तिरको कुरा हो, उनी नजिकै रहेको इन्सेसेन्ट रेन स्टुडियोमा एनिमेसनबारे बुझ्न पुगिन् । त्यहाँ ब्रोसरमा आफूले सिक्न खोजेको कामको बारेमा लेखेको देखेपछि उनी दङ्ग परिन् ।

"मैले त्यही ग्रिन स्क्रिन हटाएर भिडिओ एनिमेट गर्ने तरिका सिक्न खोजिरहेकी थिएँ," उनी आफ्नो अनुभव सुनाउँदै भन्छिन्, "मैले सबैभन्दा पहिले जुन विज्ञापन देखेकी थिएँ, त्यो त्यहीँ बनाइरहेको देखेँ । कोर्षबारे बुझेपछि एनिमेसन सिक्न थालेँ ।"

एनिमेसन सिक्न झण्डै डेढ लाख रुपैयाँ लाग्ने रहेछ । त्यही कुरा उनले घरमा सुनाइन् ।

"ड्याडी म कार्टुन बनाउन सिक्छु, मुभी बनाउँछु," उनले करिब नौ वर्षअघि यसैगरी आफ्ना बुबालाई भनिन् । बुबाले सुरुमा असहमतिको भाव प्रकट गरे । छोरी मान्छेले त्यस्ता काम सिक्नु हुँदैन भनेपछि दत्तवानीको मन खिन्न भयो ।

तर, उनी आफ्नो सपनाबाट पछि हट्ने पक्षमा भने थिइनन् । बरु आफूले काम गरिरहेकै ठाउँमा अझ मेहेनतका साथ काम गर्न थालिन् । त्यहाँबाट केही रकम बचत गरिन् । अपुग रकम बुबासँग मागेर उनी एनिमेसन सिक्न थालिन् । 

तर, आफूले एनिमेसन सिक्न थालेको कुरा उनले यसपटक भने बुबालाई थाहा दिइनन् । किन भने एनिमेसन सिक्ने कुरामा घरबाट कसैको साथ थिएन । खर्चिलो मात्र नभएर एनिमेसन सिक्दा आफ्नो भविष्य कस्तो हुन्छ, सिक्न सकिन्छ कि सकिँदैन, काम कहाँ पाउन सकिएला कि नसकिएला भन्ने विषयले उनलाई सताइरहेको थियो ।

तर, पनि उनले एनिमेसन सिक्ने अठोट लिइसकेकी थिइन् । "मेरो अधिकांश समय स्टुडियोमा बसेर भिडिओ एडिटिङ, फोटोशप, म्याक्स, माया, मोडलिङ, टेक्स्चरिङ, लाइटिङ सिक्न थालेँ," उनी सिकाइको उत्साह साँट्दै भन्छिन्, "त्यसमाथि मलाई धेरै सहयोग गर्ने ट्रेनरहरू हुनुहुन्थ्यो । उहाँहरूकै प्रेरणाले मलाई एनिमेसन प्रतिको रुचि बढ्दै गयो ।"

त्यहाँ थ्रीडी म्याक्स माया सिकेकाले उनी इन्टेरियर डिजाइनिङको काम गर्नसक्ने भइन् । त्यसपछि घरबाट दुई घन्टा टाढा पर्ने ठाउँमा इन्टेरियर डिजाइनको काम गर्न थालिन् । त्यहाँ काम गर्दा उनी करिब आठ हजार रुपैयाँ तलब पाउँथिन् ।

काम गर्दै जाँदा उनले त्यहाँ थ्रीडी सफ्टवेयर, स्केचअप, अटोक्याड जस्ता सफ्टवेयर प्रयोग गरेर डिजाइनिङ गर्न थालिन् । इन्टेरियर डिजाइन गर्दा उनलाई आर्किटेक्चरल कुरालाई बढी ध्यान दिनुपर्ने हुन्थ्यो । त्यसबाट उनी त्यति सन्तुष्ट भने थिइनन् । 

त्यसैबीच कौशल्याले इन्सेसेन्ट रेन स्टुडियोले एनिमेसनमा ट्रेनीको आवेदन खुलेको थाहा पाइन् । त्यसपछि उनी पुनः इन्सेसेन्ट रेनमा आबद्ध भइन् ।

त्यसअघि उनले बटुलेका विभिन्न सफ्टवेयरको अनुभव इन्सेसेन्ट रेनमा उपयोगी भयो । जसले गर्दा उनले भीएफएक्समा काम गर्ने मौका पाइन् । अर्थात् उनको भीएफएक्सको वास्तविक यात्रा इन्सेसेन्ट रेनबाटै सुरु भयो ।

 

त्यहाँ उनले रोट्टो, कलरका बारेमा, ग्रिन स्क्रिन कसरी चलाउने, ब्लु स्क्रिन कसरी हटाउने भन्ने कुरा सिक्दै गइन् । "त्यसमा सबैभन्दा राम्रो पक्ष भनेको मलाई दाइहरूले थ्रीडी तथा भीएफएक्स प्रयोग गर्नुपर्ने कन्टेन्ट दिनुहुन्थ्यो," उनी सुनाउँछिन् ।

अभ्यास गर्दै जाँदा उनी क्रमशः भीएफएक्समा अब्बल हुँदै गइन् । काम सिक्दै गएपछि उनले मासिक १२ हजार रुपैयाँ तलब पाउने भइन् । राम्रो तलब पाएपछि दत्तवानी दङ्ग थिइन् । उनलाई नयाँनयाँ परियोजनामा काम गर्न पाउने कुराले थप प्रेरणा मिलिरहेको थियो ।

आफ्नो कमाईबाटै रहर पूरा हुन थालेपछि उनलाई कडा परिश्रम गरेर अझ धेरै पैसा कमाउने इच्छा जाग्यो । "यही फिल्डमा केही गर्ने रहर बढ्दै गयो । यसैबाट राम्रो आम्दानी गर्न सक्छु भन्ने आशा पनि जाग्यो," उनी भन्छिन् ।

यसैक्रममा उनले भारतको एमपीसीमा भीएफएक्सबारे थप सिक्न जाने योजना बनाइन् । सोही अनुरूप सन् २०१७ मा इन्सेसेन्ट रेन स्टुडियो छोडेर उनी भारतको एमपीएसी लागिन् र त्यहाँ भीएफएक्स कम्पोजिटर सिक्न थालिन् ।

उनलाई त्यहाँ छ महिना तालिम लिएर भीएफएक्स कम्पोजिटिङ सिक्नुपर्ने भयो । छ महिनाको तालिमपछि उनी प्रति महिना ३५ हजार रुपैयाँ भारु तलब पाउन थालिन् । "तलब राम्रै थियो । तर, सबैभन्दा राम्रो पक्ष चाहिँ मैले उपयुक्त वातावरणमा सिक्न पाएँ," उनी थप्छिन् ।

एमपीसीमा रहँदा उनले अक्वाम्यान, स्काइस्क्यापर, डु लिटल, डार्क फोनिक्स जस्ता हलिउड फिल्ममा भीएफएक्स कम्पोजिटरको काम गरिन् । उनको भीएफएक्स शोरिल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

फिल्मको अन्तिममा आफ्नो नामसँगै क्रेडिट पाएको देख्दा दत्तवानी अत्यन्तै सन्तुष्ट महसुस गर्थिन् । "आफूले काम गरेका फिल्ममा क्रेडिट आउँदा 'वाउ ! मेरो नाम आयो' जस्तो लाग्थ्यो । काम कस्तो गरेछु, कसरी गरेछु भन्ने थाहा नभए पनि फिल्ममा नाम आउँदा छुट्‍टै आनन्द हुन्थ्यो," उनी सुनाउँछिन् ।

आर्टिमिस्ट फल्स फिल्ममा काम गर्दा सबैभन्दा रमाइलो लागेको उनको अनुभव छ ।

भन्छिन्, "मैले एउटा सिन बनाउन १५ दिनभन्दा बढी खर्च गरेकी थिएँ । किनभने त्यसमा पखेटा तयार पार्नु थियो । कसरी लुक देखाउने भन्ने प्रस्ट थिएन । पछि सुपरभाइजरले कस्तो राम्रो आर्टिस्ट रहेछ, उसले कस्तो गज्जब बनाएको रहेछ भनेर प्रशंसा गर्नुभयो । आफूले धेरै मेहेनत गरेर काम गर्दा पाएको तारिफको धेरै नै महत्त्व हुँदो रहेछ ।"

त्यसपछि थप प्रेरित हुँदै उनी विभिन्न परियोजनामा संलग्न हुँदै गइन् । काम गर्दै जाँदा सन् २०१९ मा उनी डिनेग नामक कम्पनीमा भिजुअल इफेक्ट आर्टिस्टका रूपमा आबद्ध भइन् ।

अहिले पनि उनी त्यही कम्पनीमा कार्यरत छिन् । विशेषगरी फ्रिल्यान्सरका रूपमा काम गर्दै आएकी उनी जहाँ बसे पनि यस क्षेत्रमा काम गर्न सकिने भन्दै युवाहरूलाई प्रेरणा दिन्छिन् । उनलाई आउने प्रोजेक्ट अनुसार आम्दानी पनि फरकफरक हुन्छ । 

उनी आफूसँग फुर्सदको समय भए मात्र प्रोजेक्टको जिम्मा लिन्छिन् । यसरी काम गर्दा आम्दानी समान किसिमको नहुने भए पनि अहिले उनी आफ्नो कमाइबाट सन्तुष्ट छिन् । उनी आफ्नो परिवारसँग भारतमै बस्छिन् ।

मौका पर्दा आफ्नो देश नेपाल आइरहन्छिन् । उनलाई नेपालमा पनि स्टुडियो खोलेर भीएफएक्स सम्बन्धी तालिम दिने रहर छ । त्यसभन्दा पनि उनी नेपालको पर्यटनलाई भीएफएक्सको माध्यमबाट विश्वभर प्रचार गर्न चाहन्छिन् ।

उनलाई नेपालको इतिहासले धेरै लोभ्याउँछ । कुनै दिन भीएफएक्स प्रयोग गरेर नेपालको प्राचीन सभ्यता र इतिहासको कथा देखाउने उनको इच्छा छ ।

 

नेपालमा कस्तो छ भीएफएक्सको सम्भावना ?

पछिल्लो समय मनोरञ्जनको क्षेत्रमा भीएफएक्स निकै लोकप्रिय बन्दै गएको छ । विश्वमा जति पनि राम्रो आम्दानी गर्ने फिल्म छन्, प्रायः ती सबैमा भीएफएक्स प्रयोग भएको छ ।

कौशल्या दत्तवानी नेपालले पनि देशको संस्कृति, धार्मिक स्थिति, प्राकृतिक स्रोत आदि प्रवर्द्धन गर्न भीएफएक्स प्रयोग गर्नुपर्नेमा जोड दिन्छिन् ।

"हाम्रो देश आफैमा एउटा उदाहरणीय इतिहास हो," उनी भन्छिन्, "नयाँ पुस्तालाई देशको इतिहाससँग परिचित गराउन भीएफक्सले ठूलो भूमिका खेल्छ । साथै पर्यटन प्रवर्द्धनमा पनि भीएफएक्सले राम्रै प्रभाव पार्ने हुँदा नेपालमा यसको राम्रो सम्भावना छ ।"

त्यसबाहेक पनि नेपाली फिल्म तथा टिभी प्रोडक्सनमा, विज्ञापन उद्योगमा भीएफएक्स प्रयोग गर्दा फिल्म निर्माता तथा विज्ञापनदातालाई फाइदा हुने उनको बुझाई छ । जसका लागि सुलभ दरमा शिक्षा तथा तालिम दिनुपर्ने उनको सुझाव छ । 

"रोजगारी सिर्जना गर्न फिल्म उद्योग, विज्ञापन उद्योग तथा साना स्टुडियो र प्रोडक्सन हाउसलाई विस्तार गर्नुपर्छ," उनी थप्छिन् ।

 

भीएफएक्स भनेको के हो र कत्तिको गाह्रो छ सिक्न ?

त्यसो त कौशल्या स्वयम्‌ले पनि सुरुवातमा भीएफएक्स भन्ने बित्तिकै गाह्रो हुन्छ भन्ने महसुस गरेकी थिइन् । तर रुचि र लगनशीलताका साथ काम गर्दै जाँदा सजिलो हुँदै गयो ।

"तपाईँले वास्तविक संसारमा जे देख्नुभएको छ, त्यसैलाई सफ्टवेयरका माध्यमबाट ब्लेन्ड (गाँस्नु) गर्नु नै भीएफएक्स हो," उनी भन्छिन्, "यसमा ग्रिन स्क्रिनमा शुट गरिएका भिडिओमा कम्प्युटरबाट तयार पारिएका तस्विर (सीजी इमेज) लाई वास्तविक जस्तो देखिने गरी मिलाउने काम गरिन्छ ।"

विशेषगरी शुट गर्दा कमी भएका विषयलाई वास्तविक जस्तो देखिने गरी जोडेर राख्नु नै भीएफएक्स हो । दत्तवानी भन्छिन्, "सिनको आवश्यकता अनुसार कलरिङ तथा लाइटनिङ गर्ने र ब्लेन्ड गरेर त्यसलाई वास्तविक जस्तो बनाउनुपर्ने हुन्छ ।"

न्युक सफ्टवेयर सिकेर पनि भीएफएक्स गर्न सकिन्छ । थ्रीडी म्याक्स र थ्रीडी माया सिकेर इन्टेरियर डिजाइनिङबाट पनि भीएफएक्समा प्रवेश गर्न सकिन्छ ।

सिन अनुसार जे जस्ता कुराहरू आवश्यक पर्छन्, त्यसका लागि छुट्‍टाछुट्‍टै सफ्टवेयर तथा साइटहरू प्रयोग गर्नुपर्ने हुन्छ । भीएफएक्स गर्दा प्रकृतिका रङ्गहरूबारे धेरै ख्याल गर्नुपर्ने दत्तवानीको सुझाव छ ।

स्वभाविक र सुहाउँदा कलरसँगै निर्देशकले कस्तो सिन खोजेको हो, त्यस्तै बनाउन सकियो भने यो क्षेत्रमा राम्रो गर्न सकिने उनको बुझाई छ । यो सीप सिकेपछि घरबाटै काम गर्न सकिनुका साथै विभिन्न कम्पनीमा आबद्ध भएर पनि काम गर्न सकिन्छ ।

कलरमा रमाउने, पोस्चर वा बडी ल्याङ्ग्वेजमा ध्यान दिने, स्केच बनाउन खोज्ने वा फोटो तथा भिडिओमा डिटेल हेर्नेहरूले यो क्षेत्रमा राम्रो प्रभाव पार्ने उनी बताउँछिन् ।

भीएफएक्सका लागि सबैभन्दा पहिला स्केच सिक्नुपर्छ । स्केच त्यस्तो सफ्टवेयर हो, जहाँबाट हामी विभिन्न चित्रहरू बनाउन सिक्छौं ।

स्केचका आधारभूत पक्षहरू सिकेपछि तपाईँले फोटोशप सिक्नुपर्छ । फोटोशपमा लेयर कसरी चलाउने, अन्य टुल कसरी चलाउने भन्ने सिक्नुभयो भने भीएफक्सका लागि राम्रो आधार तयार हुने उनी बताउँछिन् । 

त्यसपछि एडोबी प्रिमियर र आफ्टर इफेक्ट सिक्नुपर्छ । "यी सफ्टवेयरको प्रयोगबाट तस्वीरसँग कसरी खेल्ने, कसरी कुन कुरालाई भित्र ल्याउने भन्ने कुरा सिकिन्छ," उनी भन्छिन् ।

यति सिकेपछि म्याक्स र माया पनि सिक्नुपर्छ । यी सफ्टवेयरमा मोडलिङ, टेक्स्चरिङ जस्ता कुराहरू जान्नुपर्ने हुन्छ । "धेरै सफ्टवेयर सिक्नका लागि ट्युटोरियरल भेटिन्छन् । तर, एउटा शिक्षक भने चाहिन्छ," उनी थप्छिन् ।

अनलाइन ट्युटोरियल हेर्दा विस्तृतमा थाहा नहुने भएकाले कुनै प्रशिक्षकसँगै सिक्नुपर्ने दत्तवानीको सुझाव छ ।

पछिल्लो समय भीएफएक्समा आउनेहरूका लागि न्युक पनि सिकाउन थालिएको छ । आफ्टर इफेक्ट र न्युक उस्तैउस्तै हुन्छन् । तर, अधिकांश हलिउड फिल्ममा काम गर्नेहरूले न्युक नै प्रयोग गरिरहेको दत्तवानीको बुझाई छ ।

यस्ता सफ्टवेयरमा धेरै लगाव र रुचि आवश्यक पर्छ । "म सिक्छु भनेर मात्रै हुँदैन । त्यसका लागि समय पनि धेरै छुट्याउनुपर्छ । पर्याप्त अभ्यास गर्नुपर्छ," उनी अगाडि भन्छिन् ।

सफ्टवेयर सिकेपछि सहजै काम पाउन सकिन्छ । भीएफएक्स, थ्रीडी वा एनिमेसनमै लाग्ने चाहना छ भने नेपालमा भएका विभिन्न स्टुडियोमा जान दत्तवानीको सुझाव छ । उनी भन्छिन्, "सुरुवाती समयमा तलब नलिएरै काम गर्न सक्छु भन्ने हुनुपर्छ । अनि, सिक्दै गएपछि सीप अनुसारको तलब पाइन्छ ।"

भीएफएक्स वा ग्राफिक्स डिजाइनिङमा संलग्न पेशाकर्मीहरूको फराकिलो सञ्जालमा जोडिन लिङ्क्डइनको सहायता लिन सकिन्छ । "म लाइटनिङ पनि गर्छु, मोडलिङ पनि गर्छु, टेक्स्चरिङ पनि गर्छु भन्दा सफलता नमिल्न सक्छ । त्यसैले एउटा निश्चित उद्देश्य बनाउन जरुरी छ," उनी थप्छिन् । 

भीएफएक्सका धेरै पक्ष हुन्छन् । आफूलाई कुन काम गर्दा रमाइलो लाग्छ, त्यसैमा केन्द्रित हुन दत्तवानीको सुझाव छ ।

 

कति हुन्छ आम्दानी ?

भीएफएक्सलाई अहिले पनि धेरै तलब हुने कामका रूपमा हेरिने उनको अनुभव छ । उनका अनुसार नेपालको सन्दर्भमा सीप हेरेर मासिक ३५ हजार रुपैयाँभन्दा बढी कमाउन सकिन्छ ।

त्यस्तै भारतमा नवप्रवेशीले मासिक ५० हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म सजिलै पाउँछन् । सामान्य रूपमा पनि भीएफक्स गर्नेले अन्तर्राष्ट्रिय बजारमा वार्षिक ४० हजार डलर तलब पाउन सक्छन् ।

भारतमा शून्यबाट सुरुवात गर्दा पनि वार्षिक छदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने स्वयम्‌ दत्तवानीको भोगाइ छ । यस्तोमा तलब सीमित हुने भन्दा पनि काम र सीपका आधारमा पैसा पाइन्छ । जति धेरै सीप विकास गर्न सकियो, त्यति नै धेरै आम्दानी गर्न सकिने कुरामा दत्तवानी विश्वस्त छिन् ।

केही कम्पनीले सीप र अनुभव हेरेर मासिक साढे तीन लाख बढी तलब दिने गरेको उनी बताउँछिन् । यस्तो काम घर बसेरै गर्न सकिन्छ ।

तर, सुरुवाती समयमा भने केही सङ्घर्ष गर्नुपर्छ । त्यो समयमा घरपरिवारलाई मनाउन सकियो भने भीएफएक्समा राम्रो भविष्य बनाउन सकिने दत्तवानी बताउँछिन् । 

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ ११:८