close

पब्जी गेमको दक्षिण एसियाली प्रतिस्पर्धा जारी, यस्तो छ नेपाली टिमको स्थान

टेकपाना टेकपाना

चैत ९, २०७९ १४:३३

पब्जी गेमको दक्षिण एसियाली प्रतिस्पर्धा जारी, यस्तो छ नेपाली टिमको स्थान

काठमाडौं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ को लिग चरण अन्तर्गत पहिलो साताको दोस्रो दिनको खेल सम्पन्न भएको छ । कूल २० टिम सहभागी प्रतियोगितामा नेपालका १०, बङ्गलादेशका दुई  र मङ्गोलियाका आठ टिम भिडिरहेका छन् ।

हरेक टिमको आठ खेल सम्पन्न हुँदा मङ्गोलियाको टिम ‘फोरमेरिकल भाइब्स’ ५५ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनरसहित कूल ९१ पोइन्ट ल्याएर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

त्यस्तै पब्जी मोबाइल नेसनल च्याम्पियनशिप नेपालबाट पीएमपीएलमा स्थान बनाएका दुई नेपाली टिम लियो ई-स्पोर्ट्स र एब्रप्ट स्लेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भएका छन् ।

लियो ई-स्पोर्ट्सले ४२ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनरसहित कुल ७३ पोइन्ट ल्याएको छ । त्यस्तै एब्रप्ट स्लेयरले दुई चिकेन डिनरसहित कुल ६२ पोइन्ट ल्याएको छ ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली डीआरएस गेमिङले पहिलो दिनको भन्दा दोस्रो दिनमा आफ्नो स्थान गुमाएको छ । पहिलो दिन तेस्रो स्थानमा रहेको यो टोली अहिले नवौँ स्थानमा पुगेको छ ।

पीएमजीसी खेलेको अर्को नेपाली टोली स्काइलाइट गेमिङ र ट्रेन टु किल (टीटूके) भने उत्कृष्ट प्रदर्शन गर्न चुकिरहेका छन् । स्काइलाइट गेमिङ र ट्रेन टु किल(टीटूके) क्रमश: अङ्क तालिकाको छैटौँ र १२औँ स्थानमा छन् ।

अन्य नेपाली टिमको कुरा गर्ने हो भने हाई भोल्टेज आठौँ, इलुमिनेट क्रु १५औँ,  इलिमेन्ट्रिक्स १६औँ, रअ ई-स्पोर्ट्स १८औँ र डेडआइज गाइज १९औँ स्थानमा रहेका छन् ।

आज तेस्रो दिनको खेल साँझ ५:४५ देखि सुरु हुँदैछ, जसको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्स फेसबुक पेज तथा पब्जी मोबाइल ई-स्पोर्ट्स युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

यो प्रतियोगिताको कूल पुरस्कार राशि ८० हजार अमेरिकी डलर (करिब एक करोड चार लाख रुपैयाँ) राखिएको छ । यसमध्ये प्रतियोगिताको विजेताले नाै हजार ५०० डलर (करिब १२ लाख ५५ हजार रुपैयाँ), उपविजेताले छ हजार पाँच सय डलर डलर (करिब आठ लाख ६० हजार रुपैयाँ) र तेस्रो स्थानमा रहन सफल टिमले पाँच हजार पाँच सय डलर डलर (करिब सात लाख२६ हजार रुपैयाँ) हात पार्नेछ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ १४:३३