close

बढी जान्ने बन्दैछ सामसङको एआई फिचर, ७ महिने बच्चाको फोटोमा दाँत देखिएपछि !

टेकपाना टेकपाना

चैत १३, २०७९ २२:३८

बढी जान्ने बन्दैछ सामसङको एआई फिचर, ७ महिने बच्चाको फोटोमा दाँत देखिएपछि !

काठमाडौं । अघिल्लो साता सामसङले आफ्नो एस२३ अल्ट्राको प्रचारका लागि प्रयोग गरेको चन्द्रमाको फोटो नक्कली भएको खबर बाहिरिएको थियो । फोटो उक्त फोनको क्यामेराले नै खिचेको भएपनि त्यसलाई आकर्षक र प्रस्ट देखिने बनाउन (आर्टिफिसियल इन्टेलिजेन्स) एआईको भूमिका रहेको पुस्टि भएको थियो । अहिले फेरि नयाँ घटना बाहिर आएको छ ।

सामसङले एस२३ अल्ट्राको ग्यालरी एपमा 'रिमास्टर' नामक एआई फिचर समावेश गरेको छ । यो फिचर डिफल्ट रूपमा सोही एपमा उपलब्ध छ । यो फिचर प्रयोग गर्न क्यामेरा एपबाट फोटो खिचेर सोही एपको तलपट्टि रहेको फोटोको अप्सनबाट प्रयोग गर्न सकिन्छ ।

यो फिचरले गुगलले जस्तै फोटोमा फिल्टर राख्न सुझाव दिने, अनावश्यक ब्लर भएका भाग हटाउने र कलर एडजस्ट गर्ने बताइएको छ । फोटो आकर्षक बनाउने नाममा सो फिचरले सात महिनाको बच्चाको फोटोमा अनावश्यक दाँत राखिदिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'द भर्ज' लाई बुधबार एक प्रयोगकर्ताले यस्तो समस्या भएको गुनासो गरे । उनका अनुसार 'रिमास्टर' फिचरले उनको सात महिनाको बच्चाको फोटोमा नभनेकै दाँत राखिदिएको छ ।

ट्वीटरमा एप्रिकट लेनन नाम भएका ती व्यक्तिले आफ्नो सात महिने बच्चाको फोटो खिच्छन् र त्यसमा 'रिमास्टर' फिचर प्रयोग गर्न खोज्छन् । उक्त फिचरले ती बच्चाको फोटोमा भएको अनावश्यक वस्तु हटाए पनि केही जुम गर्दा नभएकै दाँत राखिदिन्छ ।

ती बच्चाको गिजाको भागलाई सो फिचरले दाँतमा परिणत गरिदिन्छ । जो ती प्रयोगकर्तालाई आवश्यकताको विषय नै थिएन । यस्तो समस्या एस२२ मा नदेखिएको भर्जले उल्लेख गरेको छ ।

सामसङका अनुसार 'रिमास्टर' फिचरले फोटोमा भएका श्याडो तथा रिफ्लेक्सन स्वतः हटाएर फोटोलाई थप आकर्षक बनाउँछ । सामसङले चन्द्रमाको प्रस्ट फोटो बनाउन सघाउने सिन अप्टिमाइजर फिचर र 'रिमास्टर' फिचरमा एआई वा डिप लर्निङ प्रयोग नभएको दाबी गरेको छ । फोनमा भएको ब्युटिफिकेसन फिचरबाट पनि यस्तो विशेषता हुन सम्भव छैन ।

एआई प्रयोग भएको छैन भने बच्चाको फोटोमा कसरी दाँत देखियो ?

सामसङले जसरी एआई प्रयोग गरेर चन्द्रमाको प्रस्ट फोटो खिचेको थियो, यो घटनामा पनि एआई प्रयोग भएर यस्तो समस्या देखिएको प्रयोगकर्ताको दाबी छ । चन्द्रमाको प्रस्ट फोटो खिच्दा क्यामेराकै प्रयोग भएको थियो । जसमा भएको एआईले उक्त फोटोलाई प्रस्ट देखिने बनाएको हो ।

तर, यता दाँतको सन्दर्भमा भने 'रिमास्टर' फिचर प्रयोग भएको छ । यसरी फोटोलाई वास्तविक देखाउनेभन्दा पनि कलात्मक बनाउने कार्यमा सामसङ अगाडि रहेको भन्दै थुप्रैले आलोचना गरेका छन् । यस सन्दर्भमा सामसङले भने आफ्नो आधिकारिक धारणा दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ २२:४८