close

के वेब थ्री र मेटाभर्स एकै हुन् ?

टेकपाना टेकपाना

चैत १६, २०७९ १२:३७

के वेब थ्री र मेटाभर्स एकै हुन् ?

काठमाडौंं । प्रविधिमा चासो राख्नुहुन्छ भने तपाईंले वेबथ्री र मेटाभर्सबारे पक्कै सुन्नुभएको हाेला । पछिल्ला केही वर्ष यी दुई शब्द इन्टरनेटमा चल्तीमा छन् । कतिपयले यी एउटै हुन् भनेर व्याख्या पनि गरिरहेका छन् । हुन त यी दुवैको अहिलेसम्म अन्तिम उत्पादन भएको छैन ।

अहिले सिद्धान्तबाट भर्खर वास्तविकतामा काम हुन थालेको छ । यी दुवै अहिले विकासकै क्रममा छन् । ​यसैले पनि यी प्रविधिबारे विभिन्न आँकलन हुनु, भ्रमित हुनु, गलत बुझ्नु सामान्य हो ।

तर यी प्रविधिको सिद्धान्त/विचार बुझ्न भने आवश्यक छ । तब मात्र हामीले यिनीहरू बीचको समानता र फरक छुट्याउन सक्छौँ ।

वेबथ्री

डब्लूडब्लूडब्लू (वर्ल्ड वाइड वेब) को नयाँ पुस्ता नै वेबथ्री हो । अहिले हामी सबैले प्रयोग गरिरहेको ‘वेब टु’ हो । यसकै अगामी विकसित रूपमा वेबथ्री अस्तित्वमा आउने छ ।

हालसम्म डब्लूडब्लूडब्लूको दुई ओटा पुस्ता भइसकेको छ । 'स्टेटिक' अर्थात् पर्सनल वेब पेजबाट ‘वेब वन’ को सुरुवात भएको थियो । त्यसपछि १९९० दशकबाट ‘वेब टु’ सुरु भयो ।

अहिलेको इन्टरनेटको पुस्तामा हाम्रो डेटा अरु कसैकोमा निर्भर हुने गर्छ । जस्तो; हामी गुगलमा केही सर्च गर्छौँ भने गुगलले डेटा राख्ने गर्छ । अर्थात् ‘वेब टु’मा गुगल, मेटा, अमेजनजस्ता ठूला कम्पनी सेन्ट्रलाइज्ड पावर स्ट्रक्चर (centralized power structures) मा आधारित हुन्छन् ।

यसकारण प्रयोगकर्ताकाे डेटाका लागि यस्ता कम्पनीमा साइबर आक्रमण हुनसक्छ । वा, त्यस्ता कम्पनीका माथिल्लो तहमा बसेकाले प्रयोगकर्ताको डेटामा खेलवाड गर्न सक्छन् । यसबाहेक वेब टुमा प्राविधिक समस्या निकै चुनौतीको विषय रहन्छ ।

सेन्ट्रलाइज्ड पावर स्ट्रक्चरमा कतै केही भयो भने पूरै प्रणालीमा समस्या आउँछ । त्यस्तै वेबटुमा सरकार वा कसैले चाहे हामीले के गरिरहेका छौँ भनेर थाहा पाउन सक्छ ।

सेन्ट्रलाइज्ड पावर स्ट्रक्चरका कारण प्रयोगकर्ता राज्यको निगरानीमा सधैं पर्न सक्छन् । उनीहरूले हेर्ने सामग्री सरकारले निर्धारण गरिदिन्छन् । हुन त नकारात्मक सामग्रीहरु बन्द गर्न सरकारको यो कदम निकै उपयोगी हुने गर्छ ।

तर आफूले हेर्न चाहेको सामग्रीमा पनि बन्देज भएपछि समस्या हुनसक्छ । इन्टनेटमा गरिने कस्ता कदम प्रतिबन्धित हुन्छ भनेर प्रयोगकर्ताहरू सधैं चिन्तामा हुने गर्छन् ।

युट्युबका केही नियमका कारण कन्टेन्ट क्रियटरहरू समस्यामा परेका बताउने  गरेका छन् । के कारण भिडि‌ओमा समस्या आयो भन्ने कुरा उनीहरुले थाहा पाउन नसक्ने अवस्था छ । 

यी सबै कुराको समाधान स्वरुप वेबथ्री आउने बताइएको छ । यस शब्दको सबैभन्दा सुरु​मा 'इथेरियम' (Ethereum) का सह-संस्थापक गेभिन वुडले प्रयोग गरेका थिए ।

अब वेबथ्रीका केह विशेषताका बारे कुरा गरौँ: 

डिसेन्ट्रलाइजेस (decentralization)

यसलाई वेबथ्रीको एक ठूलो विशेषताका रूपमा लिइएको छ । किन कl वेबटूको एक समस्यामध्ये आफ्नो डेटा अरु कसैले नियन्त्रण गर्नु हो । वेबथ्रीमा व्यक्तिको डेटामाथि कुनै कम्पनी वा सरकारको नियन्त्रण नहुने बताइएको छ । यो सम्भव ‍डिसेन्ट्रलाइजेसनले हुने भएको हो । 

डिसेन्ट्रलाइजेसन प्रणाली नियन्त्रण गर्न वेबथ्रीमा ब्लकचेन प्रविधि प्रयोग गरिन्छ । धेरै ठाउँ वा डिभाइसमा वितरण गरिएका सूचना भण्डारण, व्यवस्थापन र रेकर्ड गर्न ब्लकचेनमा डिस्ट्रिब्युटेड लेजर (distributed ledgers technology- DLT) प्रयोग गरिन्छ ।

डीएलटीले प्रयोगकर्ताहरुलाई डेटाको पारदर्शी र अपरिवर्तनीय रेकर्ड (immutable record) उपबल्ध गराउने गर्दछ । बिटक्वाइन, इथेरियम लगायतका अन्य क्रिप्टोकरेन्सीले डीएलटी प्रयोग गर्छन् ।

टोकनाइजेसन

वेबथ्रीमा टोकनको निकै महत्वपूर्ण भूमिका हुन्छ । हामीमध्ये धेरैले अनलाइनबाट सामान खरिद गर्दा पनि परम्परागत मुद्रा प्रयोग गर्ने गर्छौँ । तर वेबथ्रीमा भुक्तानीका लागि क्रिप्टोकरेन्सीहरू प्रयोग हुनेछन् । 

वेबथ्रीमा फोटो, भिडिओ, एप, टिकट लगायत अन्य कुरा टोकनाइज्ड (tokenized) हुन सक्छ । यही कारण वेबथ्रीमा एनएफटी निकै प्रचलित हुनेवाला छ । मानिसले एनएफटी खरिदबिक्री गरेर एनएफटीबाट आयआर्जन गर्न सक्छन् । 

सुरक्षित

वेबथ्रीमा सूचना वा कन्ट्रोल धेरै ओटा कनेक्सन पोइन्ट र डिभाइसमा फैलिएको हुन्छ । यसकारण कुनै प्राविधिक समस्या आएपनि प्रणालीमा समस्या हुँदैन । त्यस्तै ह्याकरले साइबर आक्रमण गरेपनि प्रणालीमा असर पुग्दैन ।

त्यस्तै वेबथ्री ओपनसोर्समा आधारित छ । यसले गर्दा कसैले चाहे भने त्यसमा पहुँच पाउन र सफ्टवेयर कोडमा परिमार्जन गर्न सक्छन् । यो कुराले प्रणालीमा बग र समस्या थाहा पाउन सहयोगी हुने बताइएको छ ।

अनुमतिविहीन (पर्मिसनलेस)

प्रयोगकर्ताले वेबथ्रीमा कुनै पनि अनुमति बिना नै इन्टरनेटमा पहुँच पाउन सक्छन् । कुनै पनि सेवा प्राप्ति गर्न प्रयोगकर्ताले आफ्नो व्यक्तिगत डेटा उपलब्ध गराउनु पर्दैन । वेबथ्रीमा गोपनीयतामाथि कुनै पनि सम्झौता हुँदैन ।

वेबटुमा वेबथ्रीका केही उदाहरण

अहिले वेबथ्री पूर्ण अस्तित्वमा आएको छैन । तर केही प्लेटफर्ममा यसको प्रयोग भने भइरहेको छ । ती सुरुवाती अवस्थामा नै छन् । वेबटुमा वेबथ्रीको केही प्रयोग:

बिटक्वाइन 

विश्वका ठूला क्रिप्टोकरेन्सीले डिसेन्ट्रलाइज्ड लेनदेन गरिरहेका छन् ।

एप्पल सिरी

सिरीको फोर एस मोडल (4s model) वेबथ्रीको एक उदाहरण हो । यो एआई प्रविधिमा आधारित स्पिच रेकग्नाइजेसन (speech recognition) गर्ने पर्सनलाइज्ड एसिसटेन्ट हो । 

ओपन सी

एनएफटी किनबेच गर्न यो प्लेटफर्म प्रयोग गरिन्छ । यो ब्लकचेनमा आधारित डिजिटल बजार हो ।

मेटाभर्स

सन् २०२१ मा फेसबुकले आफ्नो नाम ‘मेटा’ राखेपछि मेटाभर्सले इन्टरनेटमा चर्चा पायो । त्यसपछि मानिसले मेटाभर्सलाई आ-आफ्नो तरिकाले व्याख्या गर्न थालेका थिए । त्यसले गर्दा मेटाभर्सबारे अपव्याख्या पनि फैलिएको थियो ।

मेटाभर्स भनेको एक प्रकारको डिजिटल स्पेस हो, जहाँ भर्चुअल संसार अस्तित्वमा रहन्छ । यसमा ‍हेडसेट प्रयोग गरी मान्छेले एकअर्कासँग कुराकानी गर्न, गेम खेल्न तथा काम गर्न सक्नेछन् । सरल भाषामा बुझ्दा मेटाभर्स भनेको अहिलेको भौतिक समाजको डिजिटल रुपान्तरण हो ।

अहिले गेमिङ र मनोरञ्जनात्मक क्रियाकलापका लागि मात्र भीआर प्रयोग भइरहेको छ । तर मेटाभर्समा भीआर प्रयोग गरेर हामी काम गर्न, खेल्न, कन्सर्ट गर्न, सिनेमा हेर्न लगायतका कामहरू गर्न सक्छौँ । 

यद्यपि आजसम्म यो एउटा अवधारणा वा कल्पनामा मात्र सीमित छ । यसको बारेमा विभिन्न चर्चा परिचर्चा त भइरहेका छन् । तर यो ठ्याक्कै कस्तो हुन्छ भन्ने विषय अन्यौल नै भएकोले यसको परिभाषा पनि विविध छ । कसैले यसलाई भर्चुअल रियालिटी (भीआर) को विस्तारित रुप मात्र भनेका छन् ।

केहीले भने यो नै इन्टरनेटको भविष्य हो भनेर अनुमान गरेका छन् ।  जसरी अहिले ठूला आकारका फोनको साटोमा आधुनिक स्मार्टफोन आएका छन् । त्यसैगरी मेटाभर्स पनि हालको भीआरको भविष्यको स्मार्टफोन जस्तै हुने विश्वास गरिएको छ ।

कस्तो हुन्छ मेटाभर्स?

भर्चुअल रियालिटीमा आधारित प्लेटफर्ममा प्रयोगकर्ताले डिजिटल जमिन खरिदबिक्री गर्न सक्छन् । अहिले हामी इन्टरनेटको प्रयोग गरी टेक्स्ट वा भिडिओ कलबाट कुराकानी गर्छौं, तर मेटाभर्समा हाम्रा अवतारमार्फत वास्तविक रूपमा भेटे जस्तै भेट्न सक्छौँ । 

मेटाभर्सको सिद्धान्तका आधारमा अहिले विभिन्न प्लेटफर्महरु बनिरहेका छन् । जस्तो: डिसेन्ट्रल्याण्ड । यसबाट तपाईंले मेटाभर्सको अनुभव लिन सक्नुहुन्छ । यस प्लेटफर्मले आफ्नो इकोसिस्टममा ब्लकचेन, क्रिप्टोकरेन्सी, एनएफटी, डिसेन्ट्रलाइजेसन सबै प्रयोग गरेको छ ।

वेबथ्री र मेटाभर्समा समानता छ, तर एउटै होइनन् 

वेबथ्री र मेटाभर्समा उस्तै प्रविधि प्रयोग हुन्छन् । यी दुवै टोकनाइजेसन र डिसेन्ट्रलाइजेसनका काम गर्न केन्द्रित छन् । तर वेबथ्री नयाँ भर्सनको इन्टरनेट हो । यसमा थुप्रै नयाँ प्रविधि र अवधारणा संलग्न छन् ।

वेबथ्रीले अहिले प्रयोग गरिरहेको इन्टरनेट अनुभव पूर्ण परिवर्तन गर्न सक्छ । मेटाभर्स पनि इन्टरनेटको नयाँ विचार हो । तर यसमा स्पष्ट के हुन्छ भन्ने अन्यौल नै छ । कतिपयले मेटाभर्सको अवधारणा परिवर्तन हुन्छ भनेर पनि भनिरहेका छन् ।

मेटाभर्सका लागि अत्यावश्यक कुरा भनेको भर्चुअल रियालिटी हो । तर वेबथ्रीका लागि यो प्रविधि आवश्यक पर्दैन । वेबथ्री प्रयोग गर्नका लागि भीआर हेडसेट प्रयोग गर्नु आवश्यक छैन । वेबथ्रीमा अहिले भएको मोबाइल, ल्यापटप अर्थात कुनै पनि डिजिटल डिभाइस प्रयोग गर्न सक्छन् ।

यी पनि पढ्नुहोस्:

मेटाभर्स के अबको भविष्य हो ? यस्ता छन् मेटाभर्ससँग जोडिएका १० ठूला विवाद

कस्तो होला मेटाभर्सको संसार ?

के हो ‘मेटाभर्स’ ?, फेसबुकले किन गर्दैछ अर्बौं लगानी ?

सजिलोसँग यसरी बुझ्नुहोस् ब्लकचेन प्रविधि र यसको काम

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ १२:३७