close

चन्द्रमामा यसै वर्ष फोरजी इन्टरनेट विस्तार गर्दै नोकिया

टेकपाना टेकपाना

चैत १६, २०७९ १३:३०

चन्द्रमामा यसै वर्ष फोरजी इन्टरनेट विस्तार गर्दै नोकिया

काठमाडौं । नोकियाले यसै वर्ष चन्द्रमामा फोरजी मोबाइल नेटवर्क विस्तार गर्ने योजना ल्याएकाे छ । चन्द्रमा अन्वेषण गर्न सघाउ पुर्‍याउने र विभिन्न सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ कम्पनीले फोरजी सेवा विस्तार गर्न लागेको हो ।

नोकियाले स्पेसएक्सको रकेटमार्फत चन्द्रमामा फोरजी नेटवर्क सार्वजनिक गर्ने तयारी गरेको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

गत महिना बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस मा बाेल्ने क्रममा कम्पनीका प्रमुख इन्जिनियर लुइस मेस्ट्रो रुइज डे टेमिनोले नाेकियाकाे नयाँ परियाेजनाबारे जानकारी दिएका थिए ।

तयारी अनुसार परियोजना अघि बढे सन् २०२३ भित्रै चन्द्रमामा फाेरजी नेटवर्क विस्तार गर्ने तयारीमा कम्पनीकाे जुटेकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसी अनुसार चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्न नाेकियाले अमेरिकी अन्तरिक्ष कम्पनी ‘इन्ट्युटिभ मसिन’ ले डिजाइन गरेको नोभा-सी लुनार 'ल्यान्डर'मा भण्डारण गरिएको एन्टेना बेस स्टेसनको सहयोग लिनेछ ।

सोलर-पावरको सुविधा भएको उक्त ल्यान्डर र रोभरबीच फोरजी कनेक्सन स्थापना गरिनेछ । यो सबै पूर्वाधार चन्द्रमाको दक्षिणी भागमा रहेको शेकलटन क्रेटरमा अवतरण हुनेछ । कम्पनीले यी पूर्वाधारलाई चन्द्रमाको वातावरण अनुकूल बनाएको दाबी गरेको छ ।

यो नेटवर्क नासाको ‘आर्टिमिस वन मिसन’ भित्र प्रयोग गरिने छ, जसले सन् १९७२ पछि चन्द्रमाको सतहमा हिँड्न पहिलो मानव अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ ।

नोकियाका अनुसार यो परियोजनाको मुख्य उद्देश्य स्थलीय (टेरिस्टेरियल) नेटवर्कले भविष्यको अन्तरिक्ष अभियानका लागि सञ्चार आवश्यकता पूरा गर्न सक्छ भन्ने देखाउनु हो ।

यो नेटवर्कले मिसन कन्ट्रोल गर्दै अन्तरिक्ष यात्रीलाई एक-अर्कासँग सञ्चार गर्न सघाउने कम्पनीकाे भनाइ छ । साथै रोभरलाई टाढाबाट नियन्त्रण गर्न र लाइभ स्ट्रिम भिडिओ प्रसारण गरेर पृथ्वीमा डेटा पठाउन सघाउने छ ।

नोकियाका प्रमुख इन्जिनियर टेमिनोका अनुसार यो ल्यान्डर स्पेसएक्स रकेटको सहायताले चन्द्रमामा पुग्नेछ । त्यसपछि चन्द्रमाको सतहसम्म पुर्‍याउन उक्त डिभाइसको प्रोपल्सन प्रणालीको प्रयोग हुनेछ । फोरजी नेटवर्क लिएर स्पेसएक्स रकेट कहिले चन्द्रामा प्रस्थान गर्छ भन्ने कुराको ठ्याक्कै मिति बाहिर नआए पनि यसै वर्षभित्र चन्द्रमामा फोरजी नेटवर्क सार्वजनिक भएको खबर सुन्न पाइने अपेक्षा गरिएको छ ।

मुर इनसाइट एन्ड ट्राटेजीका प्रमुख विश्लेषक अन्शेल सेगले नोकियाका उपकरण २०२३ भित्रै प्रक्षेपण हुने अनुमान गरेका छन् । "यदि हार्डवेयर तयार भयो र सबै काम योजना अनुरुपकै भयो भने २०२३ भित्र फोरजी नेटवर्क प्रक्षेपण हुने राम्रो सम्भावना छ," सेगले सीएनबीसीलाई भने ।

नोकियाले लुनार नेटवर्कको सहायताले चन्द्रमामा आइस पत्ता लगाउने आशा गरेको छ । चन्द्रमाको अधिकांश सतह सुक्खा छ । तर, पछिल्ला केही अनुसन्धानबाट चन्द्रमामा आइस हुनसक्ने अनुमान गरिएको छ ।

यसरी पत्ता लागेको आइसलाई पानीमा परिणत गर्ने र त्यही पानीलाई पिउने प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । साथै पानीलाई हाइड्रोजन र अक्सिजनमा टुक्राएर सोही हाइड्रोजनलाई रकेटको इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ ।

साथै उक्त अक्सिजन अन्तरिक्ष यात्रीले प्रयोग गर्न सक्नेछन् । यी सबै योजनाका लागि फोरजी नेटवर्क अति नै आवश्यक पर्ने भएकाले चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्ने याेजना बढाएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ १४:२