close

आईफोनबाट फोन गर्दा ब्याकग्राउन्डमा सुनिने हल्ला ब्लक गर्न सकिने

टेकपाना टेकपाना

चैत १७, २०७९ ९:२४

आईफोनबाट फोन गर्दा ब्याकग्राउन्डमा सुनिने हल्ला ब्लक गर्न सकिने

काठमाडौं । एप्पलले आईओएस १६.४ अपडेट सार्वजनिक गरेको छ । आईफोन ८ भन्दा माथिका आईफोन सिरिजका लागि ल्याइएको नयाँ अपडेटमा २१ ओटा नयाँ ईमाेजीका साथ अन्य फिचर थपिएका छन् । 

ईमोजीमा पनि विशेषगरी पिङ्क हर्ट, छक्क परेको भाव देखाउने ईमोजी, माउस, वाई-फाईको चिन्ह, हाँगा सहितको गाँजर लगायतका ईमोजी छन् ।

यति मात्र नभइ नयाँ अपडेटमा फोनमा कुरा गरिरहँदा आउने ब्याकग्राउन्ड न्वाइज ब्लक फिचर पनि आएको छ । कम्पनीका अनुसार यसअघिका अपडेटमा भएका कमजोरीलाई नयाँ अपडेटमा सुधार गरिएको छ ।

यस्ता छन् नयाँ अपडेटमा उपलब्ध फिचरहरू:

१) नयाँ ईमोजी

एप्पलले आईओएस प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ तथा आकर्षक ईमोजीहरू सार्वजनिक गरेको छ । यस्ता छन् कम्पनीले सार्वजनिक गरेका नयाँ ईमोजी:

- हल्लिरहेको अनुहार

- लाइट ब्लु हर्ट

- ग्रे हर्ट

- पिङ्क हर्ट

- पुशिङ ह्यान्ड ईमोजी (दायाँ र बायाँपट्टिका हात)

- मुज (उत्तर अमेरिकामा पाइने ठूलो हरिण)

- गधा

- पखेटा

- कालो चरा

- हाँस

- जेली फिश

- जलकुण्ड

- अदुवाको जरा

- छोडाएको मटरकोसा 

- फोल्डिङ ह्यान्ड फ्यान (Folding Hand Fan)

-  हेयर पिक (Hair Pick)

-  माराकस (maracas)

-  मुरली

-  खण्ड (सिख धर्मावलम्बीको चिन्ह)

-  वाई-फाई​

२) वेब एपको नोटिफिकेसन

कम्पनीले सार्वजनिक गरेको नयाँ अपडेटका माध्यमबाट होमस्क्रिनमा राखिएको वेबसाइटको नोटिफिकेसन आउनेछ । उक्त वेबसाइटबाट आएका नोटिफिकेसन डिभाइसको लक स्क्रिन वा नोटिफिकेसन सेक्सनमा देखिनेछन् ।

३) भ्वाइस आइसोलेसन

नयाँ अपडेटले आईफोनको माइक्रोफोनलाई थप परिष्कृत बनाएको छ । अपडेटले उपलब्ध गराएको फिचरमार्फत फोन गरिरहँदा तपाईँको ब्याकग्राउन्डमा सुनिएको न्वाइज ब्लक हुनेछ । अर्थात् फोनमा बोल्ने अर्को व्यक्तिलाई तपाईँले बोलेको प्रस्ट आवाज जानेछ । भ्वाइस आइसोलेसन फिचर इनेबल गरेको खण्डमा तपाईँको ब्याकग्राउन्डमा भएको होहल्ला ब्लक हुनेछ । भ्वाइस रेकर्ड गर्दा पनि यो फिचर प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

४) आईक्लाउडमा भएका डुप्लिकेट फोटो स्वतः हटाउने फिचर

आईओएस १६.४ मा त्यस्तो फिचर आएको छ जसले आईक्लाउडमा भएका डुप्लिकेट अर्थात् एकै प्रकारका दुई फोटो स्वतः हटाउन सक्छ । यसअघि उस्तै देखिने फोटोलाई डुप्लिकेट नामक फोल्डरमा देख्न सकिन्थ्यो । त्यसबाट आफूलाई अनुपयुक्त लागेका फोटो हटाउन सकिन्थ्यो । अब भने यस्ता फोटो स्वतः हट्नेछ ।

५) वेदर एपमा म्याप्सका लागि भ्वाइस ओभर

भ्वाइसओभर यस्तो एक्सेसिबिलिटी फिचर हो जसलाई इनेबल गरेको खण्डमा त्यसले स्क्रिनमा देखिएका टेक्स्ट पढ्छ । त्यती मात्र नभइ स्क्रिनमा के देखिएको छ भन्ने कुरालाई पनि व्याख्या गर्नसक्छ । आँखा कम देख्ने प्रयोगकर्ताका लागि यस्तो फिचर निकै उपयोगी मानिन्छ । एप्पलले भने नयाँ अपडेटमार्फत यस फिचरलाई वेदर एपको म्याप्समा समेत प्रयोग गर्न सकिने बनाएको छ ।

६) क्याश डिटेक्सन फिचरमा सुधार

आईफोन १४ को जुनसुकै मोडेल बोक्ने प्रयोगकर्ताले 'क्रयाश डिटेक्सन' फिचर प्रयोग गर्न सक्नेछन् । यसले दुर्घटना भएको अवस्थामा आपतकालीन सहायताका लागि सम्पर्क गर्छ ।

यो फिचरले डिभाइसमा भएको डुअल कोर एक्सेलेरोमिटर प्रयोग गर्छ । जसले २५६ जीएससम्मको जी-फोर्स मापन गर्न सक्छ । यसले गर्दा प्रयोगकर्ता दूर्घटनामा परेको पहिचान हुन्छ ।

एप्पलले आफ्नो एल्गोरिदमलाई लाखौं रियल-वर्ल्ड ड्राइभिङ डेटा र क्रयाश रेकर्ड डेटाबाट तालिम दिएको हुन्छ । त्यही डेटाका आधारमा उक्त फिचरले प्रयोगकर्ता दूर्घटनामा परे नपरेको कुरा पहिचान गर्न सक्छ । यसरी पहिले यो फिचरमा भएका कमजोरीलाई नयाँ अपडेटमा सुधारेको छ । 

७) स्याटलाइट मार्फत इमरजेन्सी एसओएस फिचर 

अस्ट्रिया, बेल्जियम, इटली, लक्जेम्बर्ग, नेदरल्यान्ड र पर्चुगलमा आधारित आईफोन १४ मोडेलका प्रयोगकर्ताले पनि अब इमर्जेन्सी एसओएस भाया स्याटलाइट फिचर प्रयोग गर्न सक्नेछन् ।

यो फिचरका माध्यमबाट नेटवर्क नटिपेको अवस्थामा पनि आपत्कालीन सहयोगका लाग मेसेज पठाउन सकिन्छ । मेसेज पठाएको १५ सेकेन्डमै सेवा केन्द्रमा हुने व्यक्तिहरूलाई मेसेज जान्छ । उनीहरूको लोकेसनका आधारमा ग्राहक सेवा केन्द्रित उद्धारकर्ता पठाएर उद्धार गरिन्छ । 

 

 

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ ९:२४