close

टेलिकमले ल्यायो 'नमस्ते वाई-फाई', साढे ७ हजारमा अनलिमिटेड इन्टरनेट र भ्वाइस सेवा

टेकपाना टेकपाना

चैत १७, २०७९ १३:३

टेलिकमले ल्यायो 'नमस्ते वाई-फाई', साढे ७ हजारमा अनलिमिटेड इन्टरनेट र भ्वाइस सेवा

काठमाडौं । नेपाल टेलिकमले 'नमस्ते वाई-फाई' सेवा सुरु गरेको छ । फाइबर इन्टरनेट सेवा नपुगेका ठाउँमा गुणस्तरीय वायरलेस इन्टरनेट सेवा दिने उद्देश्यसहित कम्पनीले यस्ताे सेवा ल्याएको हो ।

यो इन्टरनेट जडान गर्न प्रयोगकर्ताको रहेको ठाउँमा फोरजी नेटवर्क चल्ने हुनुपर्छ । त्यसपछि इन्टरनेटको तार नजोडेरै वाई-फाई सेवा लिन सकिन्छ ।
"फाइबर इन्टरनेट नपुगेको वा फाइबर इन्टरनेट लिन सम्भव नहुने ठाउँलाई लक्षित गरी यस्तो सेवा ल्याइएकाे हाे,'' टेलिकमका प्रवक्ता शाेभन अधिकारीले भने ।

उनका अनुसार कम्पनीले उपलब्ध गराउने राउटर खरिद गरी ग्राहकले यो इन्टरनेट प्रयोग गर्न सक्नेछन् । राउटरमा सिम राखेपछि त्यसलाई पावरमा जोड्नुपर्‍यो, जसमा एक घण्टा बढीको ब्याट्री ब्याकअप पनि छ । 

फोरजी इन्टरनेट सपोर्ट गर्ने नेपाल टेलिकमको नमस्ते वाई-फाईमा डुअल ब्यान्ड भएको राउटर पाउन सकिन्छ, जसले गर्दा प्रयोगकर्ताले राम्रै स्पिडको इन्टरनेट कनेक्सन अनुभव गर्न पाउने कम्पनीले बताएको छ ।

यो सेवा औपचारिक रूपमा बुधबारदेखि सुरु गरेको भएपनि देशका सबै भागमा पुगिसकेको भने छैन । ग्राहकले नजिकको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गरेर वाई-फाई भए/नभएको जानकारी लिन सक्नुहुन्छ ।

कम्पनीले 'नमस्ते वाई-फाई'मा अनलिमिटेड डेटा र डेटा विथ भ्वाइस प्याकेजहरू उपलब्ध गराएको छ ।

अनलिमिटेड डेटा वन्ली 

'अनलिमिटेड डेटा वन्ली प्लान' अन्तर्गत अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम प्लान रहेका छन् । अनलिमिटेड बेसिक प्लान प्रयाेग गर्न चाहने ग्राहकका लागि  राउटरसहितक छ महिनाकाे शुल्क पाँच हजार ९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने वार्षिक प्याकेज खरिद गर्न १० हजार ४९९ रुपैयाँ लाग्छ ।

यति रकम खर्च गरिसकेपछि दैनिक ५ एमबीपीएस स्पिडका दरले १० जीबीसम्मकाे इन्टरनेट प्रयोग गर्न सकिन्छ । त्यसपछि भने १.५ एमबीपीएस स्पिडका दरले इन्टरनेट चल्नेछ ।

'अनलिमिटेड बेसिक' प्लान छ महिनाका लागि नवीकरण गर्न चार हजार ९९९ रुपैयाँ र वार्षिक प्याकेजका लागि नौ हजार ४९९ रुपैयाँ तिर्नुपर्छ ।

यसैगरी 'अनलिमिटेड प्रिमियम' प्लान अन्तर्गत आठ हजार ९९९ रुपैयाँ तिरेर छ महिनाको प्याकेज सहितको राउटर खरिद गर्न सकिनेछ ।

त्यस्तै अनलिमिटेड प्रिमियम अन्तर्गत एक वर्षको प्याकेज खरिद गर्न १६ हजार ४९९ रुपैयाँ लाग्ने कम्पनीको भनाइ छ । छ महिनाका लागि यो सेवा नवीकरण गर्न सात हजार ९९९ रुपैयाँ लाग्नेछ भने एक वर्षका लागि नवीकरण गर्न १५ हजार ४९९ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

यति खर्च गरेपछि १० एमबीपीएस गतिमा दैनिक १५ जीबीसम्म इन्टरनेट प्रयोग गर्न सकिन्छ । १५ जीबी सकिएपछि बाँकी इन्टरनेट २ एमबीपीएसकाे स्पिडमा चल्नेछ ।

अनलिमिटेड डेटा विथ भ्वाइस

त्यस्तै 'अनलिमिटेड डेटा विथ भ्वाइस' प्लान अन्तर्गत प्रयोगकर्ताले इन्टरनेटका साथै भ्वाइस प्लान पनि प्रयोग गर्न पाउनेछन् । राउटरमा भएको पोर्टमा टेलिफोनको केबल राखेर भ्वाइस प्लान सदुपयोग गर्न सकिने कम्पनीले जनाएको  छ ।

अनलिमिटेड डेटा विथ भ्वाइस प्लान अन्तर्गत पनि दुई ओटा प्लान रहेका छन् । एउटा 'अनलिमिटेड बेसिक विथ भ्वाइस' र अनलिमिटेड प्रिमियम विथ भ्वाइस रहेका छन् । यी दुवै प्याकेज खरिद गरेपछि अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिने भएपनि भ्वाइसमा भने सीमितता छ ।

'अनलिमिटेड बेसिक विथ भ्वाइस' प्लानका लागि राउटरसहित ग्राहकले सात हजार ४९९ रुपैयाँ तिरेर छ महिनासम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् । त्यस्तै एक वर्षको प्याकेज खरिद गर्न १४ हजार ४९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो सेवा छ महिनाका लागि नवीकरण गर्न छ हजार ४९९ रुपैयाँ लाग्नेछ भने वार्षिक १३ हजार ४९९ रुपैयाँ तिरेर सेवा नवीकरण गर्न सकिन्छ । यो प्याकेजसहितको राउटर खरिद गर्दा प्रयोगकर्ताले दैनिक १० जीबीसम्म ५ एमबीपीएस स्पिडका दरले इन्टरनेट प्रयोग गर्न सकनेछन् । र, त्यसपछि १.५ एमबीपीएसको दरले इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

भ्वाइसमा भने नेपाल टेलिकमभित्र मासिक ४०० मिनेट कल गर्न सकिनेछ भने नमस्ते बाहेकका सिममा १०० मिनेट कुराकानी गर्न सकिनेछ । साथै 'अनलिमिटेड प्रिमियम विथ भ्वाइस' प्लान भएको राउटर खरिद गर्न प्रयोगकर्ताले सात हजार १० हजार ४९९ रुपैयाँ तिरेर छ महिनासम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै एक वर्षको प्याकेजसहित उक्त राउटर खरिद गर्न १९ हजार ४९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो सेवा छ महिनाका लागि नवीकरण गर्न नौ हजार ४९९ रुपैयाँ लाग्नेछ भने वार्षिक १८ हजार ४९९ रुपैयाँ तिरेर सेवा नवीकरण गर्न सकिन्छ ।

यो प्याकेजसहितको राउटर खरिद गर्दा प्रयोगकर्ताले दैनिक १५ जीबीसम्म ५ एमबीपीएसका दरले इन्टरनेट प्रयोग गर्न सक्नेछन् । र, त्यसपछि २ एमबीपीएस स्पिडमा इन्टरनेट प्रयोग गर्न सकिन्छ ।

भ्वाइसमा भने नेपाल टेलिकमभित्र मासिक ४०० मिनेट कल गर्न सकिनेछ । त्यस्तै अफ- नेट १०० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १३:३४