close

पैसा नतिरेपछि एलन मस्कले हटाए न्यू योर्क टाइम्सको ब्लु टिक !

टेकपाना टेकपाना

चैत २०, २०७९ १५:३९

पैसा नतिरेपछि एलन मस्कले हटाए न्यू योर्क टाइम्सको ब्लु टिक !

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द न्यू योर्क टाइम्सको ट्वीटर ह्यान्डलबाट ब्लु टिकमार्क हटेको छ । ट्वीटरको नीति अनुरुप कम्पनीले सब्सक्रिप्सन शुल्क तिर्न अस्वीकार गरेपछि ब्लु टिक खोसिएको हो ।

ट्वीटरले १ अप्रिलबाट ब्लुटिक पाएका प्रयोगकर्ताबाट मासिक आठ अमेरिकी डलर र गोल्डेन टिक पाउने संस्थाबाट मासिक एक हजार डलर उठाउने घोषणा गरेको छ ।

कम्पनीको सोही नीति अनुरुप ब्लुटिकका लागि शुल्क नतिर्ने प्रयोगकर्ताको अकाउन्टबाट ब्लु टिक हटाउन थालेको हो । 'द न्यु योर्क टाइम्स'सँगै अन्य संघ/संस्था तथा सेलिब्रेटीले ब्लु टिकका लागि शुल्क नतिर्ने बताएका थिए ।

मस्कले आफैंले आइतबार एक ट्वीट गर्दै न्यू योर्क टाइम्सको ब्लु टिक हटेको उल्लेख गरेका थिए । न्यू योर्क टाइम्स र ट्वीटरले यस घटनाबारे औपचारिक स्पष्टिकरण दिइसकेका भने छैनन् ।

ट्वीटरको नयाँ नीति अनुसार यसअघि निःशुल्क ब्लु टिक वा गोल्डेन टिक पाउने प्रयोगकर्ताले शुल्क नतिरेको खण्डमा उनीहरूको अकाउन्टबाट उक्त ब्लुटिक हट्नेछ ।

आफ्नो कम्पनीको ट्वीटर ह्यान्डलमा गोल्डेन चेकमार्क राख्न चाहने प्रयोगकर्ताले मासिक एक हजार अमेरिकी डलर (करिब एक लाख ३१ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।

यदि निःशुल्क गोल्डेन टिक पाएका प्रयोगकर्ताले अब मासिक एक हजार डलर नतिरेको अवस्थामा उनीहरूको अकाउन्टमा रहेको गोल्डेन चेकमार्क हट्नेछ ।

साथै व्यक्तिगत अकाउन्टमा ब्लु टिक राख्न चाहने प्रयोगकर्ताले मासिक आठ डलर तिर्नुपर्ने हुन्छ । यदि यसअघि निःशुल्क ब्लु टिक पाउने प्रयोगकर्ताले ट्वीटरलाई मासिक आठ डलर तिरेनन् भने उनीहरूको अकाउन्टबाट ब्लु टिक गायब हुनेछ ।

पाँच करोड ५० लाख भन्दा बढी फलोअर रहेको न्युयोर्क टाइम्सको गोल्डेन टिक हटेको विषयप्रति थुप्रै सञ्चारमाध्यमले चासो देखाएका छन् । अन्य संस्थाले पनि आफ्नो ट्वीटर ह्यान्डलमा भएको गोल्डेन टिकमार्क कायम गर्न सब्सक्रिप्सन लिनुपर्छ वा नलिए पनि हुन्छ भन्ने कुरा स्पष्ट छैन ।

न्यू योर्क टाइम्सले सुरुवातमै शुल्क नतिर्ने घोषणा गरेकाले एलन मस्कले ब्लु टिक खोसेको वा उनीहरूबीचको आन्तरिक असहमतिका कारण ब्लु टिक हटेको हुनसक्ने धेरैको आशंका छ ।

ट्वीटरले भने सबैभन्दा बढी फलोअर हुने १० हजार शीर्ष कम्पनीबाट गोल्डेन टिकका लागि शुल्क नलिने घोषणा गरेको थियो । तर, शीर्ष स्थानमै पर्ने न्युयोर्क टाइम्सको अकाउन्टबाट गोल्डेन टिक किन हटाइयो भन्ने विषयप्रति धेरै चासो देखाएका छन् ।

यसमा एलन मस्क र न्यू योर्क टाइम्सबीचको असहमति हुनु प्रमुख कारण भएको हुनसक्ने विश्लेषकहरूले बताएका छन् । किनभने शुल्क नतिर्ने घोषणा गरेका अन्य मिडिया जस्तै सीएनएन, द लस एन्जलस टाइम्स र वाशिङटन पोस्टको अकाउन्टबाट टिकमार्क हटेको छैन ।

कम्पनीले हजारौं प्रयोगकर्ताबाट ब्लु टिक हटाउन धेरै समय लाग्ने भएकाले विस्तारै अन्य प्रयोगकर्ताको अकाउन्टबाट ब्लु टिक हट्नसक्ने बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०७९ १६:०