close

दक्षिण एसियामा आईटी इकोसिस्टम विकास गर्ने ह्वावेको घोषणा, ५ वर्षमा ५० हजारलाई रोजगारी दिने

टेकपाना टेकपाना

चैत २०, २०७९ १७:४४

दक्षिण एसियामा आईटी इकोसिस्टम विकास गर्ने ह्वावेको घोषणा, ५ वर्षमा ५० हजारलाई रोजगारी दिने

काठमाडौं । ह्वावेले दक्षिण एसियामा अबको पाँच वर्षमा ५० हजार आईटी इकोसिस्टम विकास गर्ने योजना बनाएको छ । कम्पनीले बंगलादेशमा एक कार्यक्रम आयोजना गर्दै यो योजना घोषणा गरेको हो ।

यसअन्तर्गत कम्पनीले आईटी एकेडेमी, स्टार्टअप प्रतियोगिता, अनलाइन कोर्ष, रोजगारी लगायत विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

योजनालाई कार्यान्वयन गर्न कम्पनीले बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र भुटानका प्रतिनिधिलाई समेटेर बंगलादेशको ढाकामा दक्षिण एसिया प्रतिनिधि कार्यालय स्थापना गरेको छ ।

यो कार्यालयले सम्बन्धित देशहरूमा आईटी क्षेत्रमा इकोसिस्टम बनाउन काम गर्ने कम्पनीले जनाएको छ । योसँगै आउने पाँच वर्षमा कम्पनीले आईटी क्षेत्रमा ५० हजार जनशक्ति तयार गर्ने लक्ष्य राखेको छ ।

सन् २०२२ को अन्त्यसम्ममा कम्पनीले विश्वका २२ सय विश्वविद्यालयहरूमा आईसीटी एकेडेमी सञ्चालनमा ल्याएको थियो । ​यसअन्तर्गत दुई लाखभन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ । 

कम्पनीले सूचना प्रविधि क्षेत्रमा जनशक्ति उत्पादन तथा उक्त जनशक्तिको क्षमता अभिवृद्धिका लागि 'सिड्स फर द फ्युचर' लगायतका कार्यक्रम पनि आयोजना गर्दै आइरहेको छ । 

यसका साथै दक्षिण एसियाका विभिन्न इन्जिनियरिङ कलेज तथा विश्वविद्यालयसँग सहकार्य गरी आईसीटी एकेडेमी सञ्चालनमा ल्याएको छ । यो अभियानले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने कम्पनीकाे विश्वास छ ।

 

  

 

पछिल्लो अध्यावधिक: चैत २०, २०७९ १९:१