close

एनसेलको नेटवर्कदेखि डेटा सेन्टर बनाएको ह्वावे भन्छः अब फाइभजीमा सहकार्य गर्छौं

टेकपाना टेकपाना

असोज २, २०८० ०:१५

एनसेलको नेटवर्कदेखि डेटा सेन्टर बनाएको ह्वावे भन्छः अब फाइभजीमा सहकार्य गर्छौं

काठमाडौं । एनसेल आजियाटा लिमिटेड स्थापनाको १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा ह्वावे टेक्नोलोजिजले शुभकामना व्यक्त गरेको छ ।

दूरसञ्चार क्षेत्रमा उच्च स्तरको मोबाइल सेवा उपलब्ध गराउन १२ वर्षदेखि सहकार्य गर्दै आएको ह्वावेले अबका दिनमा नेपालको ग्रामीण क्षेत्रमा पनि उच्च स्तरीय मोबाइल ब्रोडब्यान्ड सेवा उपलब्ध गराउन सहकार्य गर्ने लक्ष्य राखेको छ । 

सन् २०१० देखि एनसेलको रणनीतिक साझेदारका रूपमा जोडिएको ह्वावेले एनसेलसँग त्यसबखत पहिलो रेडियो एक्सेस नेटवर्क (र्‍यान) का लागि सम्झौता गरेको थियो । साथै सन् २०१० मा ह्वावेले देशभर एनसेलको थ्रीजी सेवा विस्तारको काम सुरु गर्‍यो । 

त्यसपछि सन् २०१५ मा ह्वावेले काठमाडौंको एनसेल नेटवर्कलाई स्तरोन्नति गर्न सहकार्य गर्‍यो । 

सन् २०१७ मा देशभर एनसेलको फोरजी सेवा विस्तार गरेको ह्वावेले २०१९ मा ललितपुरको नख्खुमा एनसेलका लागि दक्षिण एसियाकै सबैभन्दा ठूलो मध्येको एक डेटा सेन्टर स्थापना गर्‍यो । 

त्यस्तै एनसेलका ग्राहकलाई स्तरीय मोबाइल सेवा उपलब्ध गराउन ह्वावेले सन् २०२२ मा भोल्टे सेवा सञ्चालन गरेको थियो । एनसेलले फाइभजीको अनुमति पाएपछि त्यसका लागि पनि सहकार्य गर्ने ह्वावेको लक्ष्य छ । 

त्यस्तै लुम्बिनी प्रदेशको नेटवर्कलाई थप प्रभावकारी बनाउन ह्वावेले एनसेलसँगको सहकार्यमा ‘प्रोजेक्ट गौतमा’ सुरु गरेको थियो । 

कम्पनीका अनुसार ह्वावेले एनसेलका लागि देशभरका अधिकांश स्थानमा बीटीएस (बेस ट्रान्सिभर स्टेसन) उपकरण तथा टावर राखेको छ । ती बीटीएस मर्मत गर्नका लागि पाँचै प्रदेशमा ह्वावेका फस्ट लाइन मेन्टिनेन्स कार्यालयहरू सञ्चालनमा छन् । 

नेपालमा एउटा केन्द्रीय कार्यालय रहेको ह्वावेको अर्को एउटा नेटवर्क अपरेसन सेन्टर (एनओसी) समेत रहेको छ । यी विभिन्न कामका लागि ह्वावेले नेपालमा दुई सयभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगार दिएको छ । 

जसमा ९० प्रतिशत नेपाली र १० प्रतिशत विदेशी कर्मचारी छन् । विभिन्न प्राकृतिक प्रकोपमा एनसेलका दूरसञ्चार उपकरण लगायत टावर तथा अन्य भौतिक संरचनामा क्षति पुग्दा पनि ह्वावेले चौबीसै घण्टा निरन्तर सेवा दिंदै आएको छ । 

विशेषगरी नेपालका दुर्गम भेग, जहाँ बाटो पुगेको छैन, त्यस्ता ठाउँमा मोबाइल टावर स्थापना गर्न ह्वावेले विभिन्न माध्यमबाट उपकरण ढुवानी गर्दै आएको छ । साथै विषम परिस्थितिमा हेलिकोप्टरबाट पनि सामान ढुवानी गरी मोबाइल सेवा सञ्चालन गरेको छ । 

“हामी घाम, पानी, बाढी, आँधी जस्तोसुकै परिस्थितिमा पनि हाम्रो साझेदार संस्थाका लागि काम गर्न तत्पर छौं,” ह्वावेले भनेको छ, “ह्वावे आरएण्डडी (अनुसन्धान र विकास) क्षेत्रमा बढी सक्रिय भएकाले हामी एनसेलका लागि नेपालमा नयाँ प्रविधि अन्वेषण गर्न सदैव तत्पर छौं ।” 

त्यसबाहेक पनि एनसेलका ग्राहकका लागि आफू समर्पित भएको भन्दै उनीहरूका लागि स्तरीय सेवा दिन सम्भव भएसम्मका प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । “एनसेललाई १८ औं वार्षिक उत्सवको अवसरमा शुभकामना,” ह्वावेले भनेको छ, “हामी सँगसँगै थप सफलता हासिल गर्नेछौं ।”

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यो कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत् जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ । 

१७० बढी देशमा विस्तार भएको ह्वावेले विश्वभर एक लाख ९५ हजार बढीलाई रोजगार दिएको छ । कम्पनीका कूल कर्मचारीमध्ये ५० प्रतिशतभन्दा बढी आरएण्डडीमा सक्रिय छन् । ह्वावेले विश्वभर उपभोक्ता, दूरसञ्चार कम्पनी तथा इन्टरप्राइज कम्पनीलाई विभिन्न सेवा दिंदै आएको छ ।

उपभोक्ताको सन्दर्भमा कम्पनीले इलेक्ट्रोनिक्स डिभाइस जस्तै स्मार्टफोन, दूरसञ्चार कम्पनीलाई विभिन्न इन्टेलिजेन्स अटोमेटिक कनेक्टिभिटी सोलुसन, विभिन्न दूरसञ्चार उपकरण र इन्टरप्राइज कम्पनीलाई डिजिटल पावर, क्लाउड, कम्प्युटिङ सिस्टम र डेटा सेन्टर उपलब्ध गराउँदै आएको छ ।

प्रविधि क्षेत्रमा योगदान पुर्‍याए बापत ह्वावेले नेपालमा थुप्रै पटक आईसीटी अवार्ड प्राप्त गरेको छ । विपद्का समयमा ह्वावेले सामाजिक उत्तरदायित्वका रूपमा नेपाली नागरिक तथा सरकारलाई प्रत्यक्ष सहयोग गर्दै आएको छ । 

साथै उक्त कम्पनीले नेपाली जनशक्तिलाई विश्वका अत्याधुनिक प्रविधिसँग परिचित गराउन विगत तीन वर्षदेखि सिड्स फर दि फ्युचर कार्यक्रम आयोजना गर्दै आएको छ ।

त्यस्तै यो कम्पनीले नेपालमा सरोकारवाला र नीति निर्मातालाई एक आपसमा जोड्न ह्वावे कनेक्ट एन्ड कन्क्लेभ कार्यक्रम गर्दै आएको छ । त्यस बाहेक पनि नेपालमा आफ्ना विभिन्न प्रविधिसँग सर्वसाधारणलाई परिचित गराउन कम्पनीले हरेक वर्ष मिनी मोबाइल वर्ल्ड कङ्ग्रेस आयोजना गर्दै आएको छ ।

तसर्थ ह्वावेले आगामी दिनमा एनसेल आजियाटा लिमिटेडसँग सहकार्य गर्दै नेपालमा दूरसञ्चार सेवाको विकास र नेपालीलाई निरन्तर सञ्चार सेवा दिने अपेक्षा गरेको छ । नेपालमा स्तरीय सेवाका साथ अगाडि बढेको एनसेललाई ह्वावेले १८ औं वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

 

(प्रवर्द्धनात्मक सामग्री)

 

पछिल्लो अध्यावधिक: असोज १०, २०८० ११:३६