close

नेपालको कृषि क्षेत्रमा कसरी हुन सक्छ ड्रोनको प्रयोग ?

टेकपाना टेकपाना

चैत २५, २०७९ २०:१

नेपालको कृषि क्षेत्रमा कसरी हुन सक्छ ड्रोनको प्रयोग ?

काठमाडौं । ड्रोनबाट आजकल धेरै काम गर्न थालिएकाे छ । सुन्दर दृश्य कैद गर्नदेखि मौसम अनुसन्धान, आगलागी नियन्त्रण र सामान डेलिभरीसम्मका काम ड्रोनबाट भइरहेकाे छ । भविष्यमा ड्रोन प्रयोगको दायरा अझ विस्तार हुँदै जाने पक्का छ । त्यसमध्ये कृषिमा ड्रोनको प्रयोग एक हो ।

नेपालमा पनि मधुका ड्रोन सर्भिसले कृषि क्षेत्रमा यसको प्रयोग गरिसकेको छ । विकसित देशमा भने यसको व्यावसायिक प्रयोग भइसकेको छ । ​हाम्रै छिमेकी देश भारतमा समेत कृषि क्षेत्रमा ड्रोनको प्रयोग बढ्दै गइरहेको छ ।

भारत सरकार स्वयं ड्रोनलाई कृषिमा बढीभन्दा बढी प्रयोग गर्न चाहिरहेको छ । यसैले उसले सन् २०३० सम्म भारतलाई ड्रोनको अन्तर्राष्ट्रिय हब बनाउने तयारी गरिरहेको छ । यसैका लागि भारतमा अन्य देशबाट ड्रोन आयातमा आंशिक प्रतिबन्ध लगाइएको छ । 

कृषिमा ड्रोनको प्रयोग

यदि नेपालमा पनि कृषि क्षेत्रमा ड्रोनको प्रयोग गर्ने हो भने सम्भव छ । यसले धेरै किसानलाई फाइदा पुर्‍याउँछ  । कृषिमा ड्रोनको प्रयोग पनि विभिन्न कामका लागि गर्ने गरिएको छ । समग्रमा निम्न कामका लागि ड्रोनको प्रयोग गर्ने गरिएको छ:

-कीटनाशक औषधि र मल छर्न 

-माटो सर्वेक्षण गर्न

-जनावर निगरानी गर्न

-बाली निगरानी गर्न

-बिउ छर्न

ड्रोन प्रयोगका फाइदा

ड्रोन आफैंमा नयाँ प्रविधि हो । यसका अनेकन् फाइदा छन् । खेतीमा ड्रोन प्रयोग गर्दा किसानहरूलाई धेरै कुरामा राहत मिल्छ । हातैले गर्नुपर्ने काम पनि चाँडो सम्पन्न हुन्छ । कृषिमा ड्रोन प्रयोग गर्दाका फाइदा यसप्रकार छन्: 

-समय बचत

हातले घण्टौं लगाएर गरिने कतिपय कामहरू ड्रोनको प्रयोग गर्दा केहीबेरमै सम्पन्न गर्न सकिन्छ । यसले किसानको समय बचत हुने हुन्छ ।

-पैसा बचत

हातैले कीटनाशक विषादीहरू छर्दा बढी पनि प्रयोग हुन सक्छ । तर ड्रोनको प्रयोगले यो समस्या पनि समाधान हुन्छ । यसबाट किसानले थोरै पैसाबाट धेरै ठाउँमा विषादी छर्न सक्छन् ।

-स्वास्थ्य सुरक्षा

लगातार विषादी छर्दा किसानहरूको स्वास्थ्यमा हानी पुग्छ । उनीहरूमा श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने हुन्छ । तर ड्रोन प्रयोग गर्दा यो समस्या पनि कम हुन्छ । 

-पानीको बचत

कृषिका लागि सिचाइँ अत्यन्त जरूरी छ । कतिपय ठाउँमा पानीको अभाव हुने गर्छ । तर ड्रोनमा प्रयोग हुने ‘अल्ट्रा भोल्युम स्प्रेइङ टेक्नोलोजी’ले थोरै पानीबाट सिचाइँ गर्ने गर्छ ।

-सर्पको टोकाइ कम

तराई क्षेत्र तिर गर्मि मौसम हुने भएकाले खेतबारीमा विषालु सर्प पनि पाइन्छन् । सर्पदंशबाट वार्षिक धेरै किसानले ज्यान नै गुमाउने गरेका छन् । ड्रोनको प्रयोगले त्यो कमी गर्छ । 

ड्रोन प्रयोग गर्न चुनौती

धेरै फाइदा भएपनि कृषिमा ड्रोनको प्रयोग गर्नु एक ठूलो चुनौती रहेको छ । नयाँ आधुनिक प्रविधि भएकाले त्यसलाई ग्रहण गर्न सक्नु आफैंमा निकै ठूलो चुनौती बनिदिएको छ । यसबाहेक पनि अनेकन् चुनौती रहेका छन्:

-मूल्य 

यो सबैभन्दा ठूलो चुनौती हो । कृषिमा संलग्न धेरैजसो किसानहरू कम आयका हुन्छन् । यसैले गर्दा धेरैले नयाँ प्रविधिमा लगानी गर्न सक्दैनन् । यसो हुँदा सरकारले ड्रोन किन्न वा भाडा लिन किसानलाई सहुलियत दिन सक्छ ।

-इन्टरनेट

ग्रामीण भेग अथवा दुर्गम ठाउँमा अझै पनि गुणस्तरीय इन्टरनेट छैन । कतिपय ठाउँमा त इन्टरनेट नै पुगेको छैन । यसले गर्दा ड्रोन प्रविधिमा भएको सबै फिचर प्रयोग गर्न सकिँदैन ।

-सूचना अभाव

ड्रोन नयाँ प्रविधि भएकाले यसबारे सबै किसानलाई थाहा नहुन सक्छ । उनीहरू त्यसलाई सञ्चालन गर्न असमर्थ हुन्छन् । यसकारण सुरुमा उनीहरूलाई ड्रोन प्रयोगसम्बन्धी तालिम दिनुपर्ने हुन्छ । यो पनि एक चुनौती रहेको छ ।

कृषिमा ड्रोनको प्रयोग नौलौ होइन । यसको प्रयोगमा थाइल्याण्ड र माल्दिभ्स निकै अगाडि छन् । उनीहरूले यसबाट धेरै फाइदा समेत लिइरहेका छन् ।  एसिया प्यासिफिक क्षेत्रमा कृषि प्रविधि (एग्रिटेक) को प्रयोग बढ्दै गइरहेको छ ।

नेपाल आफैं कृषि प्रधान देश भएकाले त्यस्ता एग्रिटेकको प्रयोगलाई बढाउनुपर्छ । यदि समयमा नै त्यस्ता प्रविधिको प्रयोग गर्ने हो भने धेरै कृषकले फाइदा उठाउन पाउने थिए ।
 

यी पनि पढ्नुहोस्

जसले नेपालमै बनाएको ड्रोनले तान्दैछ हाइटेन्सन लाइन

३ वटा ड्रोन संयोजन गरी बनाइएको नेपालकै पहिलो ‘स्काई वाकर’ को सफल परीक्षण

ड्रोन उडाउनुअघि थाहा पाइराख्नुहोस् सरकारी नियम

पछिल्लो अध्यावधिक: चैत २५, २०७९ २०:११