close

भौतिक सिमभन्दा कसरी फरक छ आई-सिम र ई-सिम ?

टेकपाना टेकपाना

बैशाख १२, २०८० १२:४६

भौतिक सिमभन्दा कसरी फरक छ आई-सिम र ई-सिम ?

काठमाडौं । सिम (SIM) अंग्रेजी शब्द सब्सक्राइबर आइडेन्टिटी मोड्युल (Subscriber Identity Module) को छोटो रुप हो । सिम भन्ने बित्तिकै हाम्रो दिमागमा आउने कुरा भनेको एउटा चिप जस्तो कार्ड हो, जसलाई हामी हाम्रो मोबाइलमा राख्छौं र यसले हामीलाई मोबाइल प्रयोग गर्न सहयोग गर्छ भनेर बुझ्छौं ।

पछिल्लो समय बजारमा ई-सिम र आई-सिमको चर्चा बढ्दो छ । नेपालमा पनि नेपाल टेलिकम र एनसेलले ई-सिम वितरण सुरु गरिसकेका छन् । यस्तोमा ई-सिम र भौतिक सिमलाई लिएर धेरै प्रश्न उब्जिएका छन् । यसैबीच आई-सिमको चर्चा सुरु भएको  छ । यो लेखमा भौतिक सिमबाट आई-सिम र ई-सिमबीचको भिन्नता उल्लेख गरिएको छ ।

भौतिक सिमकार्ड 

भौतिक सिम कार्ड हाम्रा लागि नौलो छैनन् । यो हामीले प्रयोग गरिरहकै सिमकार्ड हो । यस्ता सिम प्लास्टिकका हुन्छन्, जुन तपाईँले कुनै दूरसञ्चार सेवाप्रदायकसँग खरिद गर्न सक्नुहुन्छ । कार्डमा छापिएको सानो सुनजस्तै देखिने टल्किने चिपले तपाईँको फोनलाई दूरसञ्चार नेटवर्कमा कनेक्ट गर्न सहयोग गर्छ ।

यी भौतिक कार्डहरूको आफ्नै मापदण्डहरू छन्, जुन समयसँगै संकुचित भएका छन् । पहिलेजस्तो ठूलो सिम राख्नुपर्दैन । अहिले सिमको आकार नानो सिममा सीमित भएको छ । अझ फर्किएर हेर्दा,पहिले एउटा डेबिट कार्ड जत्रै आकारको सिम उपलब्ध हुन्थ्यो । 

सिम कार्डको इतिहास हेर्ने हो भने सन् १९९१ मा पहिलो पटक सिमकार्ड बजारमा आयो । त्यसताका फोनको आकार पनि ठूलै हुनेहुँदा सिमकार्ड पनि एउटा एटीएम कार्ड जत्रै हुने गर्थ्यो ।

समयसँगै फोनको विकासक्रम परिवर्तन हुँदै गयो र फोनको आकार पनि घट्दै गयो । अनि फोनसँगै सिमकार्डको आकार पनि परिवर्तन हुँदै  गयो । सिम कार्डलाई मिनी सिममा पुर्‍याइयो । यसले मोबाइल प्रयोगकर्तालाई धेरै सहज बनायो । 

यो मोबाइलमा राख्न पनि सजिलो र एउटाबाट अर्को मोबाइलमा सार्न पनि सजिलो हुन गयो । आजको दिनमा यो सिम थप सानो हुँदै नानो सिम बन्न पुगेको छ । सिम कार्डहरू कम्प्युटर जस्तै हुन् ।

यसमा सीपीयू, र्‍याम, रोम, फ्ल्यास स्टोरेज सबै हुन्छ जुन त्यो सुन जस्तै आकारको चिपमा लुकेको हुन्छ । सिमकार्डमा सामान्यतया २६५ केबी स्टोरेज हुन्छ जसले तपाईँको सम्पूर्ण सम्पर्क विवरण स्टोर गर्ने क्षमता राख्छ । 

ई-सिम 

प्रविधि विकाससँगै मानिसका आवश्यकताहरू थप हुँदै जादाँ सिमको माग पनि परिवर्तन हुँदै गयो । एउटा क्रेडिट कार्ड जत्रो सिम मानिसको सहजताका लागि नानो सिममा परिणत भयो ।

आजको दिनमा मानिसकै सहजताका लागि भौतिकको सिमको आवश्यकता नै नरहने स्थिति आएको छ । अब भौतिक नभइ भर्चुअल सिमकार्ड मानिसको लागि आवश्यकता बन्न पुगेको छ । 

ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

यसका लागि ई-सिम सपोर्ट गर्ने डिभाइस आवश्यक हुन्छ । ई-सिम मोबाइलको मदरबोर्डमा अट्याच गरिन्छ । यसलाई मोबाइल मात्र नभई ट्याबलेट र स्मार्टवाचमा पनि प्रयोग गर्न सकिन्छ । पहिलोपटक ई-सिम सन् २०१७ मा गुगलको पिक्सेल टु स्मार्टफोनका लागि उपलब्ध गराइएको थियो । 

यसको मापदण्ड  ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स एसोसियसनले विकास गरेको । 

आई-सिम 

आई-सिम इन्ट्रिगेटेड सिमको छोटो रुप हो । सुन्दा आई-सिम र ई-सिम एउटै लागेपनि यी दुईबीच पनि भिन्नता छ । यद्यपि सामान्य भाषामा बुझ्दा आई-सिम ई-सिमकै परिष्कृत रुप हो । ई-सिम फोनको मदरबोर्डमा अट्याच गरिएको हुन्छ भने आई-सिम फोनको प्रोसेसरमा राखिएको हुन्छ । 

आई-सिमलाई क्वालकमले सुरुमा ल्याएको हो । ई-सिमको तुलनामा आई-सिम धेरै सुरक्षित हुने बताइन्छ । आई-सिम सिस्टम-अन-अ-चिपमा आधारित सेवा हो ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८० १२:४६