close

महावीर पुनसँग प्रधानमन्त्रीले भने- ‘नेपाली उत्पादनलाई उच्च प्राथमिकता दिन्छु’

टेकपाना टेकपाना

बैशाख १२, २०८० १७:२१

महावीर पुनसँग प्रधानमन्त्रीले भने- ‘नेपाली उत्पादनलाई उच्च प्राथमिकता दिन्छु’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

भेटमा अध्यक्ष पुनले ‘यात्री’लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्द्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानून ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानून निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधिको विकासविना देशको विकास सम्भव नहुनेमा आफू स्पष्ट रहेको बताए । साथै नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्ने कानूनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ ।

पुनले उठाएका विषयहरू राष्ट्रिय हित र समृद्धिको पक्षमा रहेको भन्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८० १७:३९